राष्ट्रिय सभा निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी
रासंसा/काठमाण्डौ, पौष २४,
मुलुकमा निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सक्ने बताएको छ। राष्ट्रिय सभाका १९ सिटका लागि सोमवार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ। उनीहरूविरुद्ध परेको उजुरीको भोलि र पर्सि जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। आयोगका अनुसार सोमवार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सक्ने कार्यतालिका रहेको छ। पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। उम्मेदवारलाई पुस २८ मा निर्वाचन चिह्न प्रदान गरिने छ। माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको पनि आयोगले जनाएको छ।