भारतको तेस्रो देशका पर्यटकलाई सीमामाअवरोध

Share to:

रासंसा/काठमाण्डौ, पौष २२,

मुलुकमा दार्जिलिङ जान पूर्वी नाका काँकडभिट्टा आएका एक अमेरिकी पर्यटक थकथकाउँदै काठमाडौं फर्किए । काठमाडौं हुँदै आएका उनले नजिकको अध्यागमन कार्यालय पुगेपछि मात्रै तेस्रो देशका पर्यटकलाई भारतले ‘इन्ट्री’ दिँदैन भन्ने थाहा पाए । दार्जिलिङ पुग्नैपर्ने कामले गर्दा उनी काठमाडौंबाट कोलकाता हुँदै दार्जिलिङ पुगेर पुनः त्यही रुटबाट फर्किए । नाकामा भारतले गरिरहेको अवरोधबारे थाहा नपाउँदा उनले अनावश्यक सास्ती मात्रै भोग्नुपरेन, आर्थिक क्षति पनि व्यहोर्नुपर्‍यो । ‘भारतीय अवरोधबारे नेपाली अधिकारीले जानकारी दिएको मात्रै भए पनि ती विदेशीले सास्ती व्यहोर्नुपर्दैनथ्यो होला,’ झापा जिल्ला ट्राभल एजेन्ट संघका अध्यक्ष नीरबहादुर कार्की (नेत्र) ले भने, ‘नेपाली अधिकारीले सूचना दिन कन्जुस्याइँ गर्ने परिपाटीले अहिले धेरै विदेशी पूर्वी नाकाबाट सास्ती पाएर फर्किन बाध्य छन् ।’ भारतले इन्ट्री नदिएपछि ७ दिनअघि अवैध बाटोबाट भारत छिर्न लाएका एक रुसी नागरिक भारतको पानीट्यांकी क्षेत्रमा पक्राउ परे । रुसबाट नेपाल हुँदै भारतको सिलिगुडीस्थित इस्कन मन्दिरमा जान लागेका उनलाई भारतले आगमन इजाजत दिएन । तसर्थ मेची खोला तरेर अवैध रूपमा भारत छिर्ने प्रयत्न गर्दागर्दै ३८ वर्षीय पावेल एलेक्जेन्ड्रोभ सीमा सुरक्षा बल (एसएसबी) को फन्दामा परे । उनलाई सिलिगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । ट्राभल व्यवसायी कार्कीका अनुसार सातामा ५/७ जना तेस्रो देशका पर्यटक नाकामा आएर फर्किनुपर्ने बाध्यता छ । केही दिनअघि परिवारसहित घुम्न दार्जिलिङ जान आएका विदेशीको हालत पनि उस्तै भयो । अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले भने भारतमा अवरोध भएको सूचना आफूहरूले दिन नमिल्ने दाबी गरे । ‘हाम्रोमा कुनै अवरोध छैन,’ उनले थपे, ‘अर्काको देशको समस्याबारे आधिकारिक जानकारी दिने काम हाम्रो होइन ।’ ‘कोभिडका कारण बन्द नाका अझैसम्म खुला नगर्नुको कारणबारे सरकारले भारतसँग सोध्नुपर्छ,’ पर्यटन व्यवसायी उदय श्रेष्ठले भने, ‘निर्बाध हिँडडुल गर्न पाउने पर्यटकको अधिकारलाई नै कुण्ठित पार्ने काम भारतले गरिरहेको छ ।’ कांग्रेस महामन्त्री तथा झापा १ का सांसद विश्वप्रकाश शर्माले गत कात्तिक १९ मा प्रतिनिधिसभामा सरकारले भारत सरकारसँग वार्तामार्फत अविलम्ब काँकडभिट्टा नाकालाई सहजीकरण गर्नुपर्ने बताएका थिए । ‘कोभिडका समयमा बन्द भएका वीरगन्ज, नेपालगन्ज, जोगवनीलगायत नाका खुल्दासमेत बंगलादेश, भुटान र बर्मासँग नजिक रहेको पूर्वी नाकाबाट भारतले तेस्रो देशका पर्यटकमाथि अवरोध गर्नु निन्दनीय छ,’ उनले भनेका थिए । खासमा नेपाल आउने तेस्रो देशका विदेशी पूर्वी नाका हुँदै दार्जिलिङ र सिक्किमसम्म पुग्न चाहन्छन् । तर कोभिडका कारण भारतले नाकामा गरेको अवरोध अझै जारी राख्दा ती पर्यटकले अनावश्यक पीडा भोग्नुपरिरहेको छ । भारतसँग सीमा जोडिएका सबै नाका कोभिडपछि पुरानै लयमा फर्किएपछि देशको पूर्वी नाकामा भने भारतले एकतर्फी कडाइ गरिरहेको भन्दै पर्यटन व्यवसायी आक्रोशित बन्दै आएका छन् । भारतको केन्द्र सरकारले अन्य नाका खुला गरिरहँदा पूर्वी नाकाप्रति किन कडा निगरानी गरेको होला भन्नेबारे नेपाली अधिकारी नै अनभिज्ञ देखिएका छन् । केही महिनाअघि धुलाबारीमा आयोजित सीमा व्यापारसम्बन्धी चारदेशीय गोष्ठीमा सहभागी बन्न आउन लागेका एक बंगलादेशीलाई भारतले प्रवेशमै अवरोध पुर्‍यायो । एसियाली विकास बैंकका बंगलादेशी परामर्शदाता उनी ढाकाबाट काठमाडौं हुँदै धुलाबारीको बैठकमा सहभागी हुन बाध्य भए । नाका अवरोधबारे भारतको केन्द्र सरकार र पश्चिम बंगाल सरकारले एकअर्काबीच दोषारोपण गर्दै आएका छन् । नाका सुरु नहुनुपछाडिको कारण केन्द्रले बंगाललाई देखाउँदै आएको छ । बंगालले भने केन्द्र सरकारकै नीतिअनुसार नाकामा कडाइ भइरहेको दाबी गर्दै आएको छ । एक स्रोतका अनुसार रोहिंग्या शरणार्थीको घूसपैठ हुन सक्ने बहानामा केन्द्र सरकारले नै अवरोध खडा गरेको हो । केही समयअघि यही नाका प्रयोग गरेर रोहिंग्या काठमाडौं पुगेपछि भारतले थप आतंकवादी गतिविधि बढ्न सक्ने भन्दै कडाइ गरेको जनाइएको छ । ‘भारतको केन्द्र सरकारले नियतै राखेर यो नाकालाई कडा गरेको देखिन्छ,’ मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भने, ‘भारतीय अवरोधका कारण यो नाका ठप्प नै हुने स्थितिमा पुगेको गुनासो पर्यटन व्यवसायीले गर्दै आएका छन् ।’ भारत सरकारले कोरोना संक्रमणका बेला विदेशी नागरिकलाई प्रवेश गर्न लगाएको रोक अझै फुकुवा नगरेका कारण भारत हुँदै कञ्चनपुर घुम्न आउने विदेशी पर्यटकले उतै फर्कन पाउँदैनन् । केही दिनअघि पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिएका बेल्जियम र नेदरल्यान्ड्सका नागरिक यसै बाटो भारत फर्कन नपाउँदा निर्धारितभन्दा बढी समय र खर्च गरेर भैरहवाको बाटो गए । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार सन् २०२३ मा यो नाकाबाट ९ सय ८३ जना विदेशी भित्रिएका छन् । उनीहरू यही नाकाबाट फर्किने योजनासहित भित्रिने गरे पनि अवरोधका कारण भैरहवा वा काठमाडौंबाट फर्किरहेका छन् । कोरोना संक्रमणपछि भारतबाट नेपाल भित्रिने विदेश पर्यटकले व्यहोर्नुपर्ने सबैभन्दा ठूलो समस्या यही हो । यसबाहेक नाकामा सवारीसाधनको समस्यादेखि अध्यागमन विभागमा बैंकिङको समस्या आदि विषयमा पर्यटकहरूले समस्या बेहोरिरहेका हुन्छन् । भारत उत्तराखण्डका हरिद्वार, रुद्रप्रयाग, केदारनाथ, बद्रीनाथलगायत विभिन्न पर्यटकीय क्षेत्रमा घुमेर केही समय नेपालमा घुम्न आउने पर्यटक नेपाल भित्रिन यही समस्या झेलिरहेका छन् । दुई/चार दिन घुमेर फेरि यही नाकाबाट फर्किन खोज्नेहरू समस्यामा परेका छन् । जसका कारण यो नाकाबाट भित्रिने पर्यटकको संख्यामा पनि कमी आएको छ ।

Like