उत्तर कोरियाको नेपालस्थित दूतावास बन्द गर्ने निर्णय

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २२,

मूक्मा उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेन (Jo Yong man) ले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटी प्योङयाङले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको सुनाएका थिए। प्रधानमन्त्रीलाई जानकारी गराएसँगै नेपालस्थित उत्तर कोरियाली दूतावासले नेपाल छाड्ने तयारी सुरु गरेको छ। ललितपुरको झम्सिखेलमा दूतावासको कार्यालय रहेको छ। परराष्ट्र मन्त्रालयलाई समेत उत्तर कोरियाली दूतावासले आफ्नो निर्णयबारे जानकारी गराइसकेको छ। अहिले सीमित कर्मचारी राखेर उत्तर कोरियाले आफ्नो दूतावास सञ्चालन गर्दै आएको थियो। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले उत्तर कोरियाली राजदूतले नेपालको आफ्नो दूतावास बन्द गर्न लागेको प्रधानमन्त्री दाहाललाई जानकारी गराएको बताए। उत्तर कोरियाली राजदूत मेनले सोमबार प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबार पुगेका थिए। उत्तर कोरियाली दूतावास बन्द गर्ने निर्णयप्रति प्रधानमन्त्री दाहालले राजदूतसँग दुःख व्यक्त गरेका थिए। प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै परराष्ट्र सल्लाहकार सापकोटाले अन्नपूर्णसँग भने, ‘दूतावास बन्द गर्ने निर्णयबाट म दुःखि छु। म आशा गर्छु उत्तर कोरियाले छिट्टै आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याउने छ।’ परराष्ट्र सल्लाहकार सापकोटा, प्रधानमन्त्री दाहाल र राजदूत जो योङ मेन (Jo Yong man) बीच भएको छलफलमा सहभागी थिए। नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा औपचारिकरूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यही वर्ष उत्तर कोरियाले नेपालमा आफ्नो दूतावास खोलेको थियो। दूतावास स्थापना हुनुअघि नै नेपाल र उत्तर कोरियाबीच सन् १९७० डिसेम्बर ११ मा Bilateral Trade agreement मा हस्ताक्षर भएको थियो। नेपालमा उत्तर कोरियाले आफ्नो दूतावास स्थापना गरेपनि नेपालले भने उत्तर कोरियामा आफ्नो दूतावास स्थापना गरेको छैन। चीनको बेइजिङमा रहेको नेपाली दूतावासले उत्तर कोरिया मामिलासमेत हेर्दै आएको छ। नेपालमा उत्तर कोरियाले आफ्नो दूतावास स्थापना गरेपनि नेपालले भने उत्तर कोरियामा आफ्नो दूतावास स्थापना गरेको छैन। चीनको बेइजिङमा रहेको नेपाली दूतावासले उत्तर कोरिया मामिलासमेत हेर्दै आएको छ। विश्व राजनीति परिवेश, भूराजनीतिक प्रभाव र विश्वव्यापीरूपमा बढदै गएको आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालको दूतावास बन्द गर्ने निर्णय गरेको स्रोतले बताएको छ। नेपालमा उत्तर कोरियाली दूतावास बन्द भएपछि भारतको नयाँ दिल्लीमा रहेको उत्तर कोरियाली दूतावासले नेपाल मामिला हेर्ने भएको छ। संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण सन् २०१९ को डिसेम्बरमा नेपालमा उत्तर कोरियाले गर्दै आएको व्यवसायहरू बन्द भएका थिए। उत्तर कोरियाले काठमाडौं र लतिलपुरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको थियो। त्यस्तै तनहुँमा अस्पताल सञ्चालन गरेको थियो भने कञ्चनपुरको एक अस्पतालमा उत्तर कोरियाली चिकित्सकहरूले काम गर्दै आएका थिए। उत्तर कोरियाली दूतावासको संरक्षणमा सञ्चालन हुँदै आएका ती व्यवसायहरू राष्ट्रसंघको नाकाबन्दीका कारण बन्द भएपछि उसले आर्थिक संकट झेल्दै आएको उनीहरूका एक नेपाली व्यापारिक साझेदारले अन्नपूर्णलाई बताए। आर्थिक संकट, भूराजनीतिक असर र सैन्य रणनीतिमा लगानी बढाउनुपर्ने भएकाले उत्तर कोरियाले नेपालको दूतावास बन्द गर्ने निर्णय लिएको हुनसक्ने ती व्यापारिक साझेदारको भनाइ छ।

Like