गृहमन्त्री श्रेष्ठलाई चीन भ्रमणमा रहेकै बेला हृदयघात, २४ घन्टा डाक्टरको निगरानीमा

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २,

मुलुकका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ। उपचारका लागि अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठलाई हृदयघात भएको स्वकीय सचिव सुसन कर्माचार्याले बताइन्। चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि बुधवार पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको हो। ‘माइल्ड हर्टअट्याक भनिएको छ।समयमै अस्पताल पुर्याइएकाले अहिले खतरामुक्त हुनुहुन्छ,’ उनले भनिन्, ‘अहिले उहाँ अस्पतालमै हुनुहुन्छ, डिटेल आइसकेको छैन।’ बिहान करिब १ बजे गृहमन्त्री श्रेष्ठलाई हृदयघात भएको र तत्कालै स्थानीय अस्पताल लगिएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ। ‘आवश्यक चिकित्सा प्रक्रियापछि उनको मुटुमा स्टेन्ट राखिएको छ, चिकित्सकले निगरानीमा राखे पनि अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ,’ कर्माचार्यले बताइन्। अस्पतालले २४ घन्टा अब्जरभेसमनमा राख्नुपर्ने बताएको छ। उपप्रधानमन्त्री श्रेष्ठको बुधबारदेखि छाती दुखेको थियो । कोरोनरी एन्जियोग्रामले उनको मुटुको एउटा धमनीमा रक्तसञ्चार अवरुद्ध भएको खुलासा गरेको थियो । उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते चीन गएका थिए।

Like