बाल सुधार गृह वीरगन्जमा रातभर तनावग्रस्त
रासंसा/पर्सा, भाद्र २७,
मुलुकमा वीरगन्जको वीर्तास्थित बाल सुधार गृहमा रहेका बालकबीच झडप हुँदा ११ जना घाइते भएका छन्। उनीहरुले प्रहार गरेको ढुङगाले लागेर तीन जना प्रहरी पनि घाइते भएका छन्। झडपमा भक्तपुरबाट ल्याइएका मध्ये १० समेत गरी ११ जना बालक र तीन जना प्रहरी घाइते भएका पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। घाइते भएका सुधार गृहका ११ जना बालकलाई मंगलबार राति नारायणी अस्पतालमा उपचार गराइ जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको उनले बताए। वीरगन्जको बाल सुधार गृहमा तीन हप्ता पहिले भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र यहाँ पहिलेदेखि बस्दै आएका बालकहरुबीच मंगलबार राति विवाद भइ झडप हुँदा सुधारगृह रातभर तनावग्रस्त रह्यो। प्रहरी उपरीक्षक शाहका अनुसार भक्तपुरको बाल सुधार गृहमा भदौ ४ मा जेल फुटाएर विरोध गर्दै निस्किएकामध्ये १८ जना बालकहरुलाई वीरगन्जको बालसुधार गृहमा ल्याएर राखिएको थियो। यहाँ पहिलेदेखि १३१ जना बालक थिए। सुधार गृहमा अहिले कूल १४९ जना बालकहरु रहेका गृह प्रमुख टिका काफ्लेले जानकारी दिए। भक्तपुरबाट ल्याएर राखिएका बालकहरुले मंगलबार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरेर कुटपिट गरेपछि त्यही विषयमा यहाँ पहिलेदेखि रहेका र भक्तपुरबाट ल्याएर राखिएका बालकबीच विवाद भइ झडप भएको हो। त्यस क्रममा उनीहरुले सुधार गृहभित्र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा सुधार गृहमा पुगेको थियो। तर सुधार गृह भित्रबाट बालकहरुले ढुङ्गामुढा गरेर प्रहरीलाई अबेर रातिसम्म पनि सुधार गृह भित्र छिर्न दिएनन्। त्यसै क्रममा ढुङ्गाले लागेर तीन जना प्रहरी पनि घाइते भएका प्रहरी उपरीक्षक शाहले बताए। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड अश्रु ग्याँस पनि प्रहार गरेका थिए। बाल सुधार गृहका प्रमुख टिका काफ्लेका अनुसार एक महिना पहिले भक्तपुरको बाल सुधार गृहमा उत्पात मच्चाएकामध्ये १८ जना बालकलाई वीरगञ्जको बाल सुधार गृहमा ल्याएर राखिएको थियो। तर उनीहरुले यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए। त्यहीं विषयलाई लिएर उनीहरुले मंगलबार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरी कुटपिट गरेपछि सुधार गृह तनावग्रस्त बनेको प्रहरी उपरीक्षक शाहले बताए। बुधबार बिहानसम्म पनि प्रहरीलाई सुधार गृहभित्र रहेका बालकहरुले प्रवेश गर्न नदिएको त्यहाँ खटिएका पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए। उनले भने, ‘मंगलबार रातिको भन्दा अहिले स्थिति केही सामान्य छ तर भित्र उनीहरुले अहिले पनि होहल्ला गरि नै रहेका छन्।’ प्रहरी उपरीक्षक शाहले सुधार गृहभित्रको स्थिति सामान्य बनाउन प्रयास गरिरहेको र बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारीसहित आफूहरु पुगेर त्यहाँ प्रदर्शनमा रहेका बालकहरुसँग संवाद गरेर समस्या समाधानको पहल गरिने बताए। सुधार गृहमा मंगलबार रातिदेखि प्रदर्शन गरिरहेका बालकहरुले भने सुधारगृहमा आफूहरुलाई खाना राम्रो नदिएको , घरमा फोन गर्दा एक कलको १ सय रुपैयाँ लिने गरिएको , एउटै कोठामा धेरै जनालाई कोचेर राखिएको , शौचालय पनि राम्रो नभएको , सुधार गृह प्रमुखले यातना दिंदै आएको जस्ता आरोप पनि लगाएका छन्।