ड्रयुक एयर ४२ यात्रु लिएर फर्कियो भुटानको
मिन बहादुर कुँवर/कास्की, भाद्र २४,
मुलुकमा आन्तरिक उडानमै सीमित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पल्ट व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छ । विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले पोखरामा यो पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय भएको बताए । उनका अनुसार पोखरा आएका यात्रुमा नेपाली, अमेरिकी र भियतनामका एक एकजना थिए भने पोखराबाट जहाज चढ्ने ४२ यात्रु अमेरिकी, भारतीय र क्यानेडियन पर्यटक हुन् । सञ्चालनमा आएको ८ महिनापछि शनिबार बिहान भुटानको ड्रुक एयर भुटानको पारोबाट यात्रु लिन पोखरा आएको थियो । बिहान ५ः५५ मा ३ यात्रु लिएर बिहान ६ः४० मा पोखरामा अवतरण भएको जहाज १ घण्टापछि ४२ यात्रु लिएर फर्केको छ । यो जहाज १सय ५० सिट क्षमताको हो । भुटानबाट चार्टर्ड भएर भए पनि यहाँ तिर्नुपर्ने रकमतिरकोले यो पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको कर्णले बताए । जसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमानुसार प्रतियात्रु ३ हजार रुपैयाँ र ग्राउण्डह्याडलिङ शुल्क उक्त एयरले तिरेको हो । यसअघि ६ असारमा चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९अवतरण भएको थियो । चीनको छेङ्दु तियान्फु विमानस्थलबाट नेपालको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित चीनबाट केही नेपाली र ड्रागनबोट रेस फेस्टिभलका खेलाडी बोकेर जहाज आएको थियो । त्यसबेला ८० यात्रु आएका हुन् । यो विमानस्थलमा होल्डिङ गर्नु पनि नपर्ने, यात्रुलाई पनि सुविधा हुने गरेकोले विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूसँग छोटो दुरीका हवाई उडान गर्न आग्रह गरिएको प्रमुख कर्णले बताए । ड्रुय एयर पोखरामा अवतरण हुने भएपछि स्वागतार्थ गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मन्त्रालयका सचिव कुलमान गुरुङ लगायत पर्यटन व्यवसायी बिहानै विमानस्थल पुगेका थिए । पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय उडान हुनुपर्नेमा जोड दिँदै अब नेपाल एयरलाइन्सले उडान भर्नुपर्ने बताए । अंग्रेजी नयाँवर्ष २०२३ को पहिलो दिन (१७ पुस) मा प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच विमानस्थल उद्घाटन गरेका थिए । विमानस्थल करिब २३ अर्ब ऋण लगानीमा बनेको हो ।