तरकारी विषादी परीक्षणबिना नै भित्रिँदै

Share to:

रासंसा/नवलपरासी, भाद्र २३,

मुलुकमा भारतसँग सिमाना जोडिएका नवलपरासीका सीमा नाकाहरूबाट दिनहुँजसो ठूलो मात्रामा तरकारी भित्रिने गरेको छ। त्यसरी भित्रिने आलु, प्याजलगायतका हरियो तरकारी जिल्लामा लाग्ने हाटबजारमा पुर्‍याइन्छन्। व्यावहारिक रूपमै छाड्ने गरिएको एक भन्सार कर्मचारी बताउँछन्। भारतबाट तरकारी भित्रिने गरेको महेशपुर भन्सार कार्यालयका प्रमुख बुद्धिकुमार चुँडाल स्वीकार गर्छन्। ‘मूल नाकाबाट भित्रिँदैनन्। भित्री बाटो हुँदै जाने गरेको सुनेका छौं। ठूलो मात्रामा आएको जानकारी पाउँदा गएर बरामद गर्ने गरेका छौं,’ चुँडालले भने। तरकारी बरामद गर्दा कारबाही गर्न समस्या भएको उनको भनाइ छ। महेशपुर भन्सार मूल भन्सार हो। विषादी परीक्षणबिना भित्र्याइएका तरकारी उपभोक्ताले खान बाध्य छन्। मोटरसाइकल र साइकलमा लोड गरेर भित्र्याइने भएकाले सीमा नाकामा रहेका प्रहरी र सशस्त्र प्रहरीले तरकारीलाई खासै चासो दिने गरेका छैनन्। खुलेआम रूपमा भित्रिने तरकारी नियन्त्रणका लागि भन्सार कार्यालयले पनि वास्ता गरेको पाइन्न। त्यसरी भित्र्याइएका तरकारी बरामद गरेपछि परीक्षण गर्नुपर्ने र परीक्षण प्लान्ट नभएका कारण भन्सारले वास्ता नगरेको बताइएको छ। ‘मूल भन्सार भए पनि तरकारी परीक्षण गर्ने प्लान्ट छैन। प्लान्ट भए परीक्षण गरेर विषादी भए, नभएको प्रस्ट भएपछि सोही अनुरूप प्रक्रिया चाल्ने हो। नभएकाले समस्या छ,’ कार्यालय प्रमुख चुँडालले भने। ठूलो मात्रामा तरकारी बरामद हुँदा परीक्षणका लागि भैरहवा भन्सार कार्यालय पठाउने गरिएको चुँडालले बताए। कहिलेकाहीँ बरामद भएका तरकारीलाई व्यावहारिक रूपमा जरिबाना लिएर छाड्ने गरिएको उनको भनाइ छ। ‘परीक्षणबिना तरकारी नष्ट गर्ने कुरा भएन, तरकारी बोकेका मोटरसाइकललाई सवारीसाधनमा लाग्ने शुल्क र तरकारीलाई यात्रुले ल्याएको भन्दै व्यावहारिक रूपमा भन्सार लिएर छाडियो,’ कार्यालय प्रमुख चुँडालले भने। तरकारी परीक्षण प्लान्टको माग गरे पनि अहिलेसम्म व्यवस्था हुन नसकेको भन्सार कार्यालयले जनाएको छ। यसैबीच बर्दघाट नगरपालिकाले बरामद गरेको पाँच सय केजी बढी तरकारी आवश्यक कारबाहीका लागि महेशपुर भन्सारमा पठाएको थियो। परीक्षण गर्ने प्रविधि नहुँदा समस्या भएको कार्यालय प्रमुख चुँडालले बताए।

Like