भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान फितलो भएको भन्दै खबरदारी
रासंसा/काठमाण्डौ, भाद्र ९,
मुलुकमा भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान प्रभावकारी नभएको भन्दै काठमाडौँकाे भद्रकालीमा विरोध प्रदर्शन भएको छ । शनिवार बृहत् नागरिक आन्दोलनले भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान फितलो भएको भन्दै खबरदारी गरेको हो । ललिता निवास प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिनको दायरामा ल्याउन, सर्वोच्च अदालतले दिएको आदेशको यान्त्रिक पालना गरेको देखाउन बयान लिने औपचारिकता पूरा गरेर उनीहरूलाई अभियोजन नगरी साक्षीका रूपमा उन्मुक्ति दिएको विज्ञप्तिमा दाबी गरिएको छ। ललिता निवास, नक्कली शरणार्थी र सुन तस्करी प्रकरणमा अनुसन्धान प्रक्रिया फितलो भएको भन्दै नागरिक अगुवाहरूले खबरदारी गरे । यी प्रकरणमा गरिएको चयनात्मक अनुसन्धान र अभियोजनले सरकार नै भ्रष्टाचार र संगठित अपराधलाई प्रश्रय दिन उद्यत रहेको पुष्टि हुने आन्दोलनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यी सबै प्रकरणमा अहिले अनुसन्धान जारी छ ।