सुन तस्करी प्रकरणमा राकेश अदुकियाको घरमा र रेडी ट्रेडर्समा छापा
रासंसा/काठमाण्डौ, श्रावण ११,
मुलुकमा एक क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदाममा र व्यापारी राकेश अदुकियाको घरमा राजस्व अनुसन्धान विभागले बुधबार छुट्टाछुट्टै रुपमा छापा मारेको छ । छापा मार्ने क्रममा गोदामबाट ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद गरिएको छ । विभागले एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदाममा र सुन प्रकरणको प्रमुखको रुपमा आशंका गरिएका व्यापारी राकेश अदुकियाका कमलपोखरीस्थित घरमा छापा मारेको हो । विभागले रेडी ट्रेडसको नाममा २ साउन अघिका विभिन्न मितिमा आयात गरेको ठूलो परिमाणको ‘ब्रेक शु’ बरामद गरेको हो । सो क्रममा ‘ब्रेक शु’ लेखिएको ६६ वटा कार्टुन सोह्रखुट्टेको गोदामबाट बरामद गरिएको थियो । छापा मार्दा भेटिएका सवै सामान राजस्व अनुसन्धान विभागले लगेको छ। यसैंगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको क्विन्टल सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अदुकियाको घरमा छापा मारेको छ । अदुकिया र उनका छोराले तस्करीको सुन बरामद भन्दा केहीसमय हङकङ, भारत र दुबईको शंकास्पद भ्रमण गरेका थिए । उसले र उनका छोराले शंकास्पद यात्रा गरेको देखिपछि विभागले अनुसन्धान अघि बढाएको थियो । त्यही क्रममा उनको कमलपोखरीस्थित निवासमा विभागले छापा मारेको हो । प्रहरी र राजस्व अनुसन्धान विभागले कुनै पनि बेला पक्राउ गर्न सक्ने संकेत पाएपछि उनका छोरालाई भने गत शुक्रवार नै भारतको दिल्ली पठाइ सकेको छ । सुन ल्याउने रेडी ट्रेडर्स नामको कम्पनी पनि अडुकियाकै योजनामा खोलिएको आशंका विभागले गरेको छ । प्रहरीको अनुसन्धानले नेपालमा व्यवसाय गर्दै आएका भारतीय व्यवसायी अदुकियालाई शंकाको घेरामा राखेको थियो । हङकङबाट नेपाली भूमि हँुदै भारत पठाउने गिरोहको संगठित समूह नै यसमा संलग्न रहेको देखिएको र लगानीको हिसाबले हेर्ने हो भने समातिएको सुनमा सबैभन्दा ठुलो लगानी भारतीय समूहको रहेको विगतको अनुसन्धानले पनि पुष्टि गरेको र अहिलेको घट्नाले पनि सोही आशंका दोहो¥याएकोले विभागले अकुडियालाई शंकाको घेरामा राखेको थियो । शुरुमा प्रहरीले एक सय केजी सुन तस्करीमा राकेश अदुकिया र उनका छोरा रोहन अदुकियाको गतिविधिलाई अनुसन्धानको घेरामा राखेको थियो । अकुदियाको नाम जोडिएपछि छोरा रोहन अदुकिया शुक्रबार काठमाडौंबाट भारतको राजधानी नयाँदिल्लीतर्फ लागेका थिए । अदुकियाको नाम जोडिएको भने थाहा पाएलगत्तै छोरा रोहन भारततर्फ लाग्नुले थप आशंका गर्न थालिएको थियोे । राकेशका छोरा रोहन अदुकिया शुक्रबार नेपाल वायुसेवा निगमको उडान नम्बर २०५ बाट दिल्ली गएको थिए । बाबुछोराले हङकङबाट चाँदीमा सुन मिसाएर नेपाल ल्याउने र नेपालमा चाँदीको मात्रै भन्सार तिरेर सुनलाई छुट्याएर नेपाली बजारमा लैजाने गरेको आरोप बारम्बार लाग्दै आएको थियो । लामो समयदेखि हङकङकबाट सुन तथा चाँदीको व्यापार गर्दै आएकै आधारमा राकेश अदुकियाको समेत संलग्नता रहेको हुनसक्ने भनेर कमलपोखरीस्थित उनको घरमा छापा मार्दा अदुकिया र उनका छोरा रोहन भने फेला परेका थिएनन् । लामो समयदेखि उक्त व्यापारमा संलग्न रहेका अदुकिया पछिल्लो समय गत असार २० गते हङकङबाट नेपाल आएका थिए । यसअघि नै विभागको निगरानीमा परेका व्यापारी अडुकिया पछिल्लो पटक असार ११ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएका थिए । त्यतैबाट हङकङ पुगेका उनी जुलाई ५ मा दुबई हुँदै नेपाल आएका थिए । उनी नेपाल आएपछि हङकङबाटै नेपालमा सुन भित्रिएको भन्दै छापा मारेको हो । यसपटक समातिएको सुनमा उनको कुनै न कुनै किसिमको संलग्नता रहेको आशंका प्रहरीको उच्च स्रोतको छ । प्रहरी स्रोतका अनुसार उनको विगतको छवि पनि विवादास्पद भएकाले यो सुन काण्डमा उनको संलग्नता रहेको हुनसक्ने ठम्याइ प्रहरीका छ । पूर्व डीआईजी मल्ल स्कुटरमा लाग्ने ब्रेक सु किन हङकङबाट लगातार आएको छ यसको सूक्ष्म विश्लेषण गरियो भने धैरै कुरा बाहिर आउने बताउँछन् । भारतबाटै सस्तोमा आउने ब्रेक सु किन हङकङबाट लगातार ल्याइयो भन्ने तर्फ सामान्य सोच भन्सारले नगर्नुले यसमा शंका उत्पन्न भएको उनको बुझाइ छ । अदुकियाको गतिविधि शंकास्पद रहेको भन्दै अदुकियालाई पनि छानबिनको दायरामा ल्याउने तयारी विभागले गरेपछि अदुकिया पुनः हङकङ जाने तयारीमा रहेको र हाल कहाँ रहेको भने यकिन हुन नसकेको बताइएको छ । कहीँ कतै मिलेमतो नभई त्यत्रो परिमाणको सुन आउन नसक्ने जिकिर पनि उनको रहेको छ । भारतीय बजारमा सुनको माग प्रतिवर्ष १२ सयदेखि १३ सय टन रहेपनि भारत सरकारले भने ८ सयदेखि ९ सय टन मात्रै आयातको अनुमति दिएकाले पनि सुन तस्करहरूले नेपाली भूमि वा अन्य भूमि प्रयोग गरेर अवैध रूपमा सुन भित्र्याउने गरेको पाइएको उनको भनाइ छ । नेपालमा पनि प्रतिदिन ४० केजी सुनको माग भएपनि सरकारले भने प्रतिदिन २० केजी मात्रै आयात गर्ने अनुमति दिएकाले सुन तस्करहरूले खाडी मुलुकमा कामको खोजीमा गएका कामदारहरूलाई प्रयोग गरेर अवैध रूपमा सुन नेपाल ल्याउने र त्यसरी ल्याएको सुन बजारमा पठाउने गरेको पूर्व डीआइजी मल्ल बताउँछन् । नेपालमा हरेक वर्ष ७ हजार ३ सय केजीभन्दा बढी सुन अबैध रूपमा भित्रने गरेको भएपनि सरकारले भने त्यसतर्फ ध्यान दिन नसक्दा राज्यले हरेक वर्ष करोडौं रुपियाँ राजस्व गुमाएको छ भने अवैध रूपमा सुन भित्र्याउने गिरोह मोटाउँदै गएको देखिन्छ । नेपाली सुन तस्करीमा संलग्न रहँदै आएका व्यक्तिको सहयोगमा चिनियाँ र भारतीय सुन तस्करको संगठित गिरोह संलग्न रहेको हुनसक्ने आशंका पूर्व डीआईजी मल्लले गरे ।