प्रधानमन्त्रीले मागे लिखित सुझाव, नीति तथा कार्यक्रम
रासंसा/काठमाण्डौ, ज्येष्ठ ३,
मुलुकमा सरकारले ५ जेठमा नीति तथा कार्यक्रम संसदमा पेस गर्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसका लागि सभामुख देवराज घिमिरे र सत्तारूढ दलका शीर्ष नेतासँग मंगलबार छुट्टाछुट्टै छलफल गरेका छन् । सरकारले १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम पेस गर्नुपर्नेहुन्छ । सरकारले आगामी आर्थिक वर्षमा गर्ने काम सो कार्यक्रममा समावेश हुन्छन् । सत्तारूढ दलहरूको साझा दस्ताबेजका रूपमा संघीय संसद्मा नीति तथा कार्यक्रम पेस हुनेछ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्नेछन् । सरकारले नीति तथा कार्यक्रम पेस गर्ने मितिको जानकारी संसद् सचिवालय र राष्ट्रपति कार्यालयलाई गराइसकेको छ । प्रधानमन्त्री प्रचण्डले ४ मंसिरमा भएको निर्वाचनपछि बनेको सरकारका रूपमा पहिलो नीति तथा कार्यक्रम पेस गर्दै छन् । सुरुमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहितका दलको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डपछि नेपाली कांग्रेससहितको समर्थनमा विश्वासको मत पाएका थिए । एमाले सुरुमा सरकारमा भए पनि अहिले छैन । यसैबीच, प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेसँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन् । छलफलमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेट’bout छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, आमजनता पार्टीसहितका १० दलको समर्थन प्रचण्ड नेतृत्वको सरकारलाई छ । प्रधानमन्त्री प्रचण्डले संसदीय समितिहरूको बैठक सुरु भएकाले संसद्ले लय समातेको बताएको सभामुखको सचिवालयले जनाएको छ । यसले संसद्मा विचाराधीन विधेयक टुंगो लगाउन सजिलो हुने पनि प्रधानमन्त्री प्रचण्डले बताएका थिए । सोही छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले सभामुखलाई सरकारले ५ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने पनि जानकारी गराएका थिए । सभामुख घिमिरेले भने सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका थिए । ‘संसदीय समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको छ । संसद्मा विचाराधीन विधेयक टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको छु । सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै आचार्यले भने । ‘समितिको बैठक उत्साहपूर्ण रूपमा सुरु भएका छन् । संसद् सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको छ । सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरूको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु,’ सभामुख घिमिरेको सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रम, बजेटलगायतका विषयमा सुझावका लागि बैठक बोलाउनुभएको हो । सत्तारूढ दलका नेतासँग प्रधानमन्त्रीले आफ्ना महत्वपूर्ण सुझाव लिखित रूपमै दिन आग्रह गर्नुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने । यसैबीच, प्रधानमन्त्री प्रचण्डले ५ जेठमा संसद्मा पेस हुने सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा सुझाव दिन सत्तारूढ दलका नेतासँग आग्रह गरेका छन् । प्रधानमन्त्री बालुवाटारमा सत्तारूढ दलका नेतासँग छलफल गर्दै उनले ती सुझाव लिखित रूपमै दिन आग्रह गरे ।