भुटानी शरणार्थी प्रकरण, ‘हाई प्रोफाइल’तर्फ सोझिँदै प्रहरी अनुसन्धान

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २१,

मुलुकमा अमेरिका पठाउने भन्दै नक्कली भुटानी शरणार्थी खडा गरेर ठगी गरिरहेको गिरोहमाथिको प्रहरी अनुसन्धान राजनीतिक दलका नेता र विशिष्ट श्रेणीका कर्मचारीतर्फ पनि सोझिएको छ। यस प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा बहालवाला र पूर्व उच्चपदस्थ अधिकारी पक्राउ पर्न थालेका छन्। ठगी गर्ने गिरोहलाई सघाएको आरोपमा मंगलबार गृह मन्त्रालयका पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए। एमाले उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री हुँदा राई सुरक्षा सल्लाहकार थिए। उनलाई ललितपुरको सुनकोठीबाट प्रहरीले पक्राउ गरेको थियो। इन्द्रजितका छोरा निरज पनि प्रहरी अनुसन्धानमा तानिएका छन्। निरजविरुद्ध पनि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छ। यसै प्रकरणमा गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाई पेप्सीकोलाबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई स्वीकृति प्रदान गरिसकेको छ। पाण्डे अहिले उपराष्ट्रपति कार्यालयमा सचिव छन्। पक्राउ परेसँगै उनी निलम्बनमा परेका छन्। उच्च पदस्थ कर्मचारीसँगै प्रहरी अनुसन्धान राजनीतिक नेतृत्वतर्फ पनि केन्द्रित भइसकेको छ। प्रहरीले बुधबार एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि काठमाडौं अदालतबाट पक्राउ पुर्जी लिएको छ। ‘उहाँमाथि पनि ठगी गिरोहलाई सघाएको प्रमाण फेला परेको छ। पक्राउ परेकाहरूको बयानमा पनि उहाँको कुरा आएको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘त्यसैले उहाँ पनि अनुसन्धानको दायरामा तानिनुभएको छ।’ पूर्वमन्त्री रायमाझीविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी हुँदै गर्दा उनी स्वयं प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीमा एउटा सार्वजनिक कार्यक्रममा सहभागी थिए। रायमाझी अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन्। प्रहरीले रायमाझीसँगै उनका छोरा सन्दीप र पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकविरुद्ध पनि काठमाडौं अदालतबाट पक्राउ पुर्जी लिएको छ। बुधबार साँझ रायमाझीका छोरा सन्दीप बुटवलमा पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका सबैलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउने जनाएको छ। प्रहरी स्रोत भन्छ, ‘शंकास्पद सबैलाई पक्राउ गर्न पुर्जी लिइएको हो। पक्राउ गर्न प्रहरी अलर्ट छ। अनुसन्धानको दायरामा पर्ने हरकोहीलाई पक्राउ गरी सोधपुछ गरिन्छ।’ नेपालमा लामो समयदेखि आश्रय लिएर बसिरहेका धेरैजसो भुटानी शरणार्थीलाई तेस्रो देश पुनर्बास गरेर पठाइएको छ। छुटपुट शरणार्थी नेपालमै अलपत्र छन्। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गिरोहले प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रूपैयाँसम्म असुलेको प्रहरी अनुसन्धानले देखाएको छ। ठगिएकामध्ये ८१ जनाले प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका छन्। उनीहरूको समस्या समाधानका लागि २०७६ साल असार २९ गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन। तर ठगीमा संलग्न गिरोहले त्यो प्रतिवेदन हात पार्दै त्यसमा उपसूची थपेर छुटेका र तेस्रो मुलुकमा जान चाहने शरणार्थी भन्दै नक्कली सूची तयार पारेको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। उक्त सूचीमा झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाका ८ सय ७५ जना नेपाली रहेको प्रहरीस्रोत बताउँछ। सोही जाहेरीकै आधारमा अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको हो। अनुसन्धानका क्रममा चैत दोस्रो साता तीनजना पक्राउ परेका थिए। पक्राउ पर्ने तीनजनमा नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला उपप्रधानमन्त्री हुँदा उनको सचिवालयमा रहेका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङ थिए। त्यसपछि अनुसन्धान अगाडि बढाउन र दोषीलाई कानुनी दायरामा ल्याउने जिम्मा जिल्ला प्रहरी परिसर काठमाडौंलाई दिइएको थियो। अनुसन्धानका क्रममा ठगी गिरोहमा संलग्न भएको प्रमाण फेला परेपछि चैत अन्तिम साता सन्देश शर्मा र सागर राईलाई प्रहरीले पक्राउ गरेको थियो। राजनीतिक रूपमा सेटिङ मिलाउने काममा पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजितले पूर्वमन्त्री रायमाझी, उनका छोरा सन्दीप र थापाका छोरा प्रतीकको सहयोग लिएको अनुसन्धानमा पाइएको प्रहरी स्रोत बताउँछ। थापा गृहमन्त्रीबाट बाहिरिएपछि मन्त्रालयभित्रबाट आवश्यक कुरा मिलाउने काम सचिव पाण्डेले गरेको अनुसन्धानले देखाएको छ। उनले गिरोहसँग रकमसम्म लिएको देखिएको स्रोत बताउँछ। पाण्डे २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृह मन्त्रालयका सचिव थिए। त्यसबेला गृहमन्त्री कांग्रेस नेता बालकृष्ण खाँण थिए। प्रहरी अनुसन्धानमा दुलालले गृह मन्त्रालयको कर्मचारी र राजनीतिक नेतृत्वसँग सेटिङ मिलाएर नक्कली शरणार्थी बनाउन अन्यलाई परिचालन गरेको पाइएको छ। पूर्वमन्त्री रायमाझीसँग पनि दुलालको विशेष सम्बन्ध रहेको पाइएको प्रहरीस्रोत बताउँछ। जसमा लेनदेनसम्मको आशंका गरिएको छ। गिरोहका सदस्यले रायमाझीका छोरा सन्दीपका नाममा काटेको चेकको प्रतिलिपि पनि प्रहरीले फेला पारेको छ।

Like