गान्धीको सांसद पद खारेज
एजेन्सी,
भारतीय नेसनल कंग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ। गुजरात राज्यको सुरत जिल्लास्थित एक अदालतले चार वर्षअघिको फौजदारी मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय सुनाएको भोलिपल्ट (शुक्रबार) भारतीय संसद्को तल्लो सदनले उनको सांसद पद खारेज गरिदिएको हो। बिबिसी हिन्दी सेवाले जनाएअनुसार बिहीबार सुरत जिल्ला अदालतले गान्धीको संसद् सदस्य रद्द हुने गरी फैसला सुनाएको थियो। अदालतले उनलाई १५ हजार जरिवाना पनि तोकेको थियो। गान्धीको पार्टीले अदालतको आदेश ‘त्रुटिपूर्ण भएको र त्यो कायम नरहने’ बताउँदै शुक्रबार राजधानी नयाँ दिल्लीमा जुलुस निकालेको छ। विपक्षी नेताहरूसमेत ‘लोकतन्त्र खतरामा छ’ भन्ने नारा लेखिएको ब्यानर बोकेर जुलुसमा सहभागी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले गान्धीले शुक्रबार संसद्मा बोल्न अनुमति मागेको तर त्यसलाई अस्वीकार गरिएको बताए। प्रदर्शनकारीले राष्ट्रपति भवनतर्फ र्याली लिएर जाने प्रयास गरेको प्रहरीको भनाइ छ। सन् २०१९ मा चुनावी र्यालीमा प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे दिएको प्रतिक्रियालाई लिएर उनीविरुद्ध मुद्दा दायर भएको थियो। मुद्दाको सुनुवाइ भइरहेका बेला गान्धी स्वयं अदालतमा उपस्थित भएका थिए। उनी दक्षिणी राज्य केरलाको वायानाड राज्यबाट सांसद निर्वाचित भएका थिए। धरौटीमा रिहा भएका उनले अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन्। अदालतले उनलाई धरौटीमा छाड्न आदेश गर्दै फैसलामा चित्त नबुझे माथिल्लो अदालतमा पुनरावेदन गर्न ३० दिनको समय दिएको छ।