जनयुद्ध दिवस सार्वजानिक बिदाको चौतर्फी विरोध
रासंसा/काठमाण्डौ, फाल्गुण १,
मुलुकमा आज फागुन १ गते सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले बिदा दिएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजानिक बिदा दिएपनि त्यसको सर्वत्र विरोध भइरहेको छ। नागरिकस्तर र राज्यपक्षबाटै यस दिन बिदा दिइँदा चौतर्फी विरोध भएकाे छ। गठबन्धन सरकारमा एमालेबाट मन्त्री बनेका मन्त्रीपरिषद्का सदस्यद्धय परराष्ट्रमन्त्री विमला पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले यो निर्णय प्रति असन्तुष्टि जनाएका छन्। माओवादीले ०५२ सालमा आजकै दिन (फागुन १ गते) सरकारविरुद्ध सशस्त्र द्वन्द्व सुरु गरेको थियो । करिब १० वर्षसम्म चलेको द्वन्द्वमा परी सरकार पक्ष, माओवादी पक्ष र सार्वसाधारण गरी १७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए । सत्तासाझेदार दलका नेता–कार्यकर्ताले नै उक्त निर्णयको विरोध गरेका छन्। नेपाली काग्रेसका सांसद रामहरि खतिवडाले ट्विटर मार्फत भनेका छन् ‘अति भो बिदा, अति। अब विवाह, व्रतबन्ध र सत्य नारायणको पूजा लगाउन अनि श्रीमती माइत जाँदा पनि बिदा देऊ।’ त्यस्तै एमालेका नेता योगेश भट्टराईले पनि सरकारको यो निर्णय विरुद्ध आपत्ति जनाएका छन्। उनले लेखेका छन्,’२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा विद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरव स्वरूप गणतन्त्र र संविधान दिवस मानिँदै आएको छ। अरू सबै यसकै अधिनस्थ हुन्। फेरि अलगअलग बिदा किन? मुलुकलाई अनावश्यक वैचारिक ध्रुवीकरणमा नफसाऔँ।’