‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भन्ने हाम्रो नारामात्रै होइन : उपप्रधानमन्त्री लिङ्देन
रासंसा/काठमाण्डौ, माघ ५,
मुलुकमा ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह हो’ भन्ने विषय राप्रपाको नारामात्रै नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं ऊर्जा तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले बताएका छन् । पार्टीले आयोजना गरेको एक कार्यक्रममा लिङ्देनले भ्रष्टाचार नियन्त्रणको विषयलाई व्यवहारमै कार्यान्वयन गर्नका लागि राप्रपा सरकारमा गएको दाबीसमेत गरेका छन् । अर्बौंका सरकारी विकास योजना आफ्नो कालिका कन्स्ट्रक्सनमा पारेर ती योजनाका काम अलपत्र पारेको सरकारी अधिकारीले नै बताउँदै आएका छन् । उनै पाण्डेलाई राप्रपाले स्वार्थ बाझिने मन्त्रालय दिएपछि ऐन/कानुन निर्माणमा समेत प्रभाव पार्न सक्ने भन्दै आलोचना भइरहेको छ । स्वार्थ बाझिने मन्त्रालयमै पाण्डेलाई मन्त्री बनाएका लिङ्देनले सरुवा, बढुवा र नियुक्तिको विषयमा प्रत्यक्ष, अप्रत्यक्ष आर्थिक स्वार्थ जोडिएको हुने भन्दै आफू त्यस्तो स्वार्थमा जोडिन हुँदैन भन्नेमा आफू प्रस्ट रहेको अभिव्यक्ति दिएका छन् । राप्रपा केन्द्रीय सचिवालयद्वारा आयोजित पार्टीको तर्फबाट नवनियुक्त उपप्रधानमन्त्री, मन्त्रीहरू, राज्यमन्त्री, प्रदेश सभामुख, प्रदेशमन्त्रीको स्वागत र सम्मान कार्यक्रममा बिहीबार लिङ्देनले पार्टी सरकारमा सहभागी भएपछि शुभचिन्तकहरूले आलोचना गरेको विषयलाई आफूले सकारात्मक रुपमा लिएको पनि बताएका छन् । राप्रपाका नेता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले लिङ्देनको भनाइ उद्धृत गर्दै फेसबुकमा लेखेका छन्‚ “भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भन्ने हाम्रो नारा होइन, आलोचकले यसलाई नाराको रुपमा बुझेका छन् । राप्रपाले यो विषय व्यावहारिक रुपमै कार्यान्वयन गर्न र आफूलाई प्रमाणित गर्न हामी सरकारमा सहभागी भएका हौं।’ राप्रपाले ठेकेदार विक्रम पाण्डेलाई स्वार्थ बाझिने गरी सहरी विकासमन्त्री बनाएकोमा सार्वजनिक आलोचना भइरहेको बेला लिङ्देनको यस्तो प्रतिक्रिया आएको हो । उनले सरकारबाट निस्किँदा फूलमाला लगाउने गरी परिणाममूखी काम गर्ने र आफ्नो जिम्मेवारीमा खरो उत्रिने बताएको श्रेष्ठले लेखेका छन् । राप्रपालाई आशाको नजरले पार्टीले निराश नबनाउने भन्दै उनले भने‚ ‘हाम्रा प्रतिबद्धता पूरा गर्न यो कठोर अग्निपरीक्षामा होमिएका हौं । तपाईंहरूको सदा झैं साथ, सहयोग, समर्थन र हौसलाको अपेक्षा राखेका छौं ।’ कार्यक्रममा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै लिङ्देनले भने‚ ‘सरुवा, बढुवा र नियुक्तिको विषय लिएर नआउन अनुरोध गर्छु । विकास र योजनाका विषय ल्याउनुस्, स्थानीय ठाउँमा तपाईंको शिर ठाडो पार्ने जिम्मेवारी हामी लिन्छौं तर सरुवा, बढुवा र नियुक्तिको विषय सम्भव हुने छैन; यसले तपाईंलाई सम्बन्धित व्यक्तिका अगाडि लज्जित तुल्याउनेछ किनभने त्यस्तो काम गर्न सकिँदैन ।’