कालोपत्रे हुँदै मध्यपहाडी सडक
रासंसा/सुर्खेत, मार्ग २५,
मुलुकमा राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत मध्यपहाड हुँदै खोलिएका सडकमा कालोपत्रे भइरहेको छ। पहाड छिचोलेर बनाइएको सडक कालोपत्रे हुँदा सुन्दर देखिएको हो। अहिले दैलेख, जाजरकोट र रुकुम पूर्वमा कालोपत्रे लगायतका काम धमाधम भइरहेका छन्। यो आर्थिक वर्षभित्र कालोपत्रे सक्ने लक्ष्यका साथ राजमार्ग योजना कार्यालयले द्रुत गतिमा काम अघि बढाइरहेको जनाएको छ। कालोपत्रेसँगै लामो समयदेखि कच्ची सडकमा यात्रा गर्दा झेल्नु परेको असहजता स्थानीयहरूमा हटेको छ। राजमार्ग योजना कार्यालय दैलेखअन्तर्गत अछाम, दैलेख, रुकुम (पश्चिम), रुकुम (पूर्व) जिल्लाका पहाडी सडकमा सडक चौडा पार्नेदेखि कालोपत्रे गर्नेसम्मका काम भइरहेका छन्। पहाडी जिल्लाहरूलाई जोड्ने बहुमहत्वाकांक्षी योजना पुष्पलाल (मध्यपहाडी) राजमार्गको काम अन्तिम चरणमा पुग्न थाल्दा पहाडको बीचमा कोरिएका सडक कालोपत्रे हुँदा चिटिक्क देखिन थालेका हुन्। केही खण्डबाहेक प्रायः सडक कालोपत्रे भइसकेका छन्। राजमार्ग अन्तर्गत सबैभन्दा लामो दैलेख खण्ड रहेको छ। १ सय २४ किलोमिटरमा करिब ८० किलोमिटर कालोपत्रेको काम सकिएको छ। यो आर्थिक वर्षभित्र बाँकी सडक कालोपत्रे गरिसक्ने लक्ष्य योजना कार्यालयले राखेको जनाइएको छ। दैलेख खण्डमा ११ ठेक्कामध्ये ३ वटा काम सम्पन्न हुन लागेका छन्। ८ वटा ठेक्काको काम अन्तिम चरणमा पुगेको जानकारी पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालयका ईन्जिनियर देवेन्द्र भटराईले दिए। राजमार्ग अन्तर्गत जाजरकोट खण्डमा ८३ किलोमिटरमध्ये करिब ५० किलोमिटर कालोपत्रेको काम सकिएको छ। बाँकी कालोपत्रे र अन्य काम यो आर्थिक वर्षभित्र सक्ने लक्ष्यका साथ भइरहेको जनाइएको छ। त्यस्तै रुकुम (पश्चिम) मा ७० किलोमिटरसडक पूरै कालोपत्रे गरिसकिएको छ। भैरवी गाउँपालिका-३ चक्रत्राबजारदेखि भैरवी गाउँपालिका -१ स्थित भिरखेतसम्मको ९.५ किलोमिटर खण्ड कालोपत्रे गर्ने काम योजना कार्यालयको डिजाइन एस्टिमेट अनुसार यो वर्षभित्रै सक्ने गरी भइरहेको कनकाई मोतीदान जेभीका ईन्जिनियर सुदर्शन थापाले बताए। अहिले अन्तिम चरणमा काम भइरहेका ५ वटा पुलमध्ये ३ वटा दैलेखमै रहेका छन्। ४५ किलोमिटर अछाम खण्डको सबै कालोपत्रे सकिएको छ। कर्णाली नदी किनार बेलखेतदेखि चौखुट्टेसम्मको ४५ किलोमिटरको काम सम्पन्न भइसकेको छ। अछाममा कचरौटे खोलामा पुलको काम शुरु भएको कार्यालयले जनाएको छ। योजना प्रमुख पोखरेलले भने, यो आर्थिक वर्षभित्र योजनाको ठूलो उपलब्धि (प्रगति) देखिने छ ।’ पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत केही जिल्लामा विगतमा स्थानीयको विवादका कारण काम ढिलो हुँदा प्रगति देखिएको थिएन्। पछिल्लो वर्षमा विवाद समाधान भएसँगै ठेक्का प्रक्रियाका काम अघि बढ्दै गएका थिए। जसले गर्दा अधिकांश ठाउँको काम अघि बढेको हुँदा योजनाको प्रगति देखिन थालेको छ। रुकुम पूर्वमा ५५ किलोमिटरमध्ये करिब १८ किलोमिटर कालोपत्रे यो आर्थिक वर्षभित्र सक्ने लक्ष्य योजना कार्यालयले राखेको छ। कालोपत्रे र अन्य काम यो आर्थिक वर्षभित्र सक्ने गरी सबै जिल्लामा द्रुत गतिमा भइरहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताए। ‘सबै योजनाको काम द्रुत गतिमा भइरहेको छ।’