बालबालिकालाई कसरी जोगाउने होला ? के हो त एडिनो भाइरस ?
रासंसा/काठमाण्डौ, भाद्र ११,
मुलुकमा काठमाडौं उपत्यकाका अस्पतालहरुमा एडिनो भाइरस संक्रमित बालबालिकाको संख्या बढ्दै गएको छ । बालरोग विशेषज्ञहरु भने यस्तो भाइरसको संक्रमण बर्सेनि हुने गरेको भन्दै नआत्तिन सर्वसाधारणलाई सुझाव दिन्छन् । यो भाइरसबाट सबै उमेर समूह संक्रमित हुन सक्ने उनले बताए । ‘यो भाइरस हरेक वर्ष देखिने गर्छ,’ उनी भन्छन्, ‘जुनसुकै भाइरल इन्फेक्सनले रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा बढी संक्रमण हुन्छ ।’ कान्ति बाल अस्पतालमा ज्वरो, रुघाखोकी, पातलो दिसा आउने र आँखा रातो भएर उपचार गर्न आउने बालबालिकाको संख्या बढेको बालरोग विषेशज्ञ डा.रामहरि चापागाई बताउँछन् । उनका अनुसार बच्चाहरुमा एडिनो भाइरस संक्रमण पाइए पनि यसले स्वास्थ्यमा गम्भीर जटिला ल्याउँदैन । दुई वर्ष यता कोरोनाभाइरस र हाल विश्वमा मङ्कीपक्सको चर्चा भइरहँदा एडिनो भाइरस संक्रमित पनि बढ्न थालेकाले जनमानसमा यसका बारेमा चिन्ता र चासो बढ्नु स्वाभाविक भएको उनले बताए । कन्ति बाल अस्पतालमा दुई साता यता ज्वरो, रुघाखोकी, आँखा रातो हुने, पातलो दिसा आउने बालबालिकाको संख्या बढेको जानकारी दिँदै परीक्षणबाट एडिनो भाइरस पुष्टि भएको उनले बताए । यो भाइरस पनि अन्य भाइरसजस्तै संक्रमण भइसकेपछि ज्वरो, रुघाखोकी ल्याउने गर्छ । ‘व्याक्टेरियल ज्वरो हो भने एन्टिवायोटिक औषधि दिनुपर्ने हुन्छ । भाइरल ज्वरो हो भने ज्वरो कम गर्न सहयोगमात्रै गर्ने हो । अभिभावकहरुले बच्चाको खानपानमा जोड दिनुपर्छ,’ उनले भने । एडिनो भाइरस संक्रमण भएपछि भाइरल ज्वरो आउने उनको भनाइ छ । ‘हामी सबैजनाले बुझ्ने कुरा, रुघाखोकी भनेको इन्फ्लुएन्जा भाइरस, राइनो, एडिनो लगायतका भाइरसको संक्रमणबाट लाग्छ,’ उनले भने, ‘भाइरल ज्वरो आउँदा सामान्यतया १०० देखि १०३ डिग्रीसम्म ज्वरो आउँछ । अलिअलि नाकबाट पानी आउने, रुघा लाग्ने खालका समस्या हुन्छ ।’ एडिनो भाइरसका लक्षण
–ज्वरो आउने, –नाकबाट अलिअलि पानी बग्ने, –खोकी लाग्ने, –बच्चालाई खाना खान मन नलाग्ने, –ज्यान दुख्ने, –कसैको आँखा रातो हुने, –कसैकसैलाई झाडापखाला पनि लाग्ने, –पेट दुख्ने
डा. चापागाईका अनुसार एडिनो भाइरसका विभिन्न उपसमूह हुन्छन् । कुनै उपसमूहले आँखा पाक्ने, कुनैले झाडापखाला लाग्ने, कुनैले खाना खान मन नलाग्ने लगायतका समस्या देखाउन सक्ने उनको भनाइ छ । ज्वरो बढी र लामो समयसम्म लाग्ने भएकाले अभिभावक आत्तिनु स्वाभाविक भएको उनले बताए । उनी भन्छन्, ‘एकदुई दिनमात्रै नभएर साता दिनसम्म ज्वरो आएपछि चिन्ता बढी भएर अभिभावकले अस्पतालमा ल्याउँदा अहिले संक्रमण दर बढेजस्तो देखिएको हो ।’ बालबालिकामा अन्य इन्फ्लुएन्जा भाइरस संक्रमण हुँदा ९९/१०० डिग्री ज्वरो आउँछ भने एडिनो भाइरस संक्रमण हुँदा १०२/१०३ डिग्रीसम्म ज्वरो आउने उनले बताए । उनी भन्छन्, ‘धेरैजसो भाइरल ज्वरो तीनदेखि पाँच दिनमा कम भएर जान्छ भने एडिनो भाइरस पाँचदेखि सात दिनमा कम भएर जान्छ । कुनैचाहिँ दुई हप्तासम्म रहन सक्ने भनिएको छ ।’
एडिनो भाइरसले कुनैकुनै बच्चाको स्वास्थ्यमा जटिलता ल्याउन सक्ने उनले बताए । अभिभावकले कस्तो अवस्थालाई जटिलता भन्ने भनेर बुझ्नु पर्ने उनको भनाइ छ । ज्वरो, रुघाखोकी, आँखा रातो हुने, पेट दुख्ने, खाना खान मन नलाग्ने, दिसा पातलो हुनेबाहेक बान्ता भइरहेर रोक्दै रोकिएन, सास फेर्ने दर बढ्यो, बच्चा आलस्य भयो, कोखा हान्न थाल्यो भने जटिलताको लक्षण भनेर बुझ्नुपर्ने उनले प्रस्ट पारे । कोरोना भाइरस संक्रमण हुँदा निमोनिया हुने, शरीरमा अक्सिजन अभाव भएर अस्पताल भर्ना गर्नुपर्ने जस्ता समस्या देखिए पनि एडिनो भाइरसले त्यस्तो समस्या ननिम्त्याउने उनको भनाइ छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकालाई यो भाइरसले स्वास्थ्यमा केही जटिलता ल्याउन सक्ने उनी बताउँछन् । उनका अनुसार अन्य भाइरसको संक्रमण हुँदा स्वास्थ्यमा ल्याउने जटिलता र एडिनो भाइरस संक्रमण हुँदा हुने जटिलामा खासै फरक छैन । एडिनो भाइरस संक्रमण हुँदा धेरै जटिलता नल्याउने उनले बताए । यो भाइरस खकार, थुकको माध्यमबाट सर्छ । यसको संक्रमणबाट जोगिनका हात धुने, नियमित सरसफाइमा ध्यान दिनुपर्ने डा. चापागाई बताउँछन् । एडिनो भाइरस संक्रमण भएको व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा पनि भाइरस सर्न सक्ने उनी बताउँछन् । त्यसैले विद्यालयमा जाँदा संक्रमित बच्चाबाट अन्य बालबालिकालाई यो संक्रमण सर्ने सम्भावना रहने उनले बताए । त्यसैले सकेसम्म बालबालिकालाई एकै ठाउँमा झुम्मिन नदिन उनको सुझाव छ । प्रोटिन, पोषिलो तथा झोलिलो पदार्थ खुवाएर एडिनो भाइरसलाई परास्त गर्न सकिने उनले बताए । यो भाइरस लागेपछि स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने वा धेरै औषधि सेवन गर्नुपर्ने, ज्यान नै खतरामा पुग्ने हो कि भन्ने चिन्ता नलिन पनि उनको आग्रह छ । बालबालिका कमजोर छन्, धेरै कुपोषित छन् भने स्वास्थ्यमा जटिलता ल्याउन पनि सक्ने उनले बताए ।
