बिदा अस्वीकृतपछि एआईजी पोखरेलले ‘कानुनी लडाईं नसकिएसम्म हाजिर नहुने अडान
रासंसा/काठमाण्डौ, ज्येष्ठ २५,
मुलुकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले बिदा अस्वीकृत भएपनि खटाइएको स्थानमा हाजिर नहुने अडान लिएका छन् । पोखरेलले कानुनी लडाईंका लागि माग गरेको थप १० दिनको बिदा अस्वीकृत भएसँगै उनले हाजिर नहुने बताएका हुन् । पोखरेलले मंगलबारमात्रै प्रहरी मुख्यालयमा पत्र पठाएर थप १० दिन बिदा माग गरेका थिए । यसअघि एक महिने बिदामा बसेका पोखरेलले थप १० दिन बिदा माग गरेपछि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पोखरेलको बिदा अस्वीकृत गर्दै तत्काल हाजिर हुन निर्देशन दिएका थिए । त्यसपछि पोखरेलले कानुनी सल्लाहकारमार्फत आफू हाजिर नहुने बताएका हुन् । एआईजी पोखरेलका एक कानुनी सल्लाहकारले आईजीपीले बिदा अस्वीकृत गरेपनि प्रहरी मुख्यालय वा खटाइएको स्थानमा हाजिर नहुने बताए। पोखरेलको भनाई उदृद गर्दै ती सल्लाहकारले भने, ‘जसकाविरुद्ध मुद्दा हालिएको हो र जेका लागि मुद्दा हालिएको हो, त्यसको निरुपण नै भएको छैन । जबसम्म अदालतबाट त्यसको निरुपण हुँदैन, हाजिर हुने कुरा न आउँदैन ।’ प्रहरी महानिरीक्षक सिंहले तत्काल हाजिर हुन निर्देशन दिएपछि हाजिर नभएमा उनीमाथि स्पष्टीकरण सोधी विभागीय कारबाहीसम्म गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई रहन्छ । यस विषयमा समेत पोखरेलले परामर्श लिइसकेको बताइएको छ । पोखरेलका कानुनी सल्लाहकारले भने, ‘मुद्दाको पेसी आगामी जेठ ३० गतेका लागि तोकिएको छ । उक्त दिन अदालतले फैसला गर्ने अपेक्षा गरेका छौँ, त्यसपछि के गर्ने भन्ने सम्बन्धमा कुरा गरौंला । तर अहिलेको कुरा क हो भने प्रहरी महानिरीक्षक नियुक्तिकै विरुद्ध मुद्दा हालिएको र जुनियर एआईजीलाई आइजीपी बनाएको भनेर मुद्दा हालेपछि फेरि उहाँले निर्देशन दिँदैमा हाजिर भइहाल्ने भन्ने हुँदैन । उहाँ हाजिर हुन जानुहुन्न, अदालतबाट अन्तिम किनारा लागेपछि के गर्ने भन्ने हो ।’ पोखरेलको मुद्दा अबको ५ दिनमा नै पेसीमा चढी फैसला आउने अपेक्षा गरिएको कारण त्यस अगावै स्पष्टीकरण सोधी कारवाही गर्नसक्ने सम्भावना भने निकै कम छ ।
