अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ १८,

मुलुकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिनेगरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । बुधबारदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले नेताकार्यकर्ताले पहिचान बिर्संदै जाँदा माओवादी कमजोर भएको बताए । माओवादी र संसद्वादी दलहरूबीचको भिन्नता मेटिँदै गएको भन्दै उनले माओवादी हिजोका जति क्रान्तिकारी नभएको भन्ने भान जनतामा परेको बताए । माओवादीले अहिले जितेका १ सय २२ पालिका देशभरको नमुना हुन सक्नुपर्नेमा जोड दिँदै उनले अर्को चुनाव आइपुग्दासम्म देशको विकास गर्ने, जनताको सेवा गर्ने, समाजवाद स्थापना गर्ने माओवादी नै हो भनेर जनतालाई विश्वासमा लिन सक्नुपर्ने बताए । ‘हिजो माओवादी नेता कार्यकर्ता जनताको बीचमा हुन्थे, जनताको सुखदुःखमा सँगै हुन्थे, खेतबारीमा सँगै काम गर्ने हुन्थ्यो, नेता कार्यकर्ता जनताको बीचमा नगएको जस्तो देखिएको छ,’ उनले भने, ‘अब विगतजस्तै जनप्रतिनिधि जनताको सुखदुःखमा सँगसँगै हुनुपर्छ, कम्युनिस्ट क्रान्तिकारी पहिचान कायम होस्, माओवादी सच्चियो, जनताको पार्टी भयो भन्ने हुनुपर्छ ।’ नेता नारायणकाजी श्रेष्ठले उत्पादन वृद्धि, सामाजिक आर्थिक समृद्धि हासिल गर्दै समाजवादको यात्रामा स्थानीय सरकार अगाडि बढ्नुपर्ने बताए । शिक्षा विकासको पहिला सर्त भएको उल्लेख गर्दै उनले शिक्षाका आमूल सुधार गर्ने नीति लागू गर्न आग्रह गरे । ‘शिक्षा, स्वास्थ्यलगायत विषयमा आधारभूत अवधारणा नै परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘पर्यावरणको रक्षा गर्दै हरित विकासमा जनप्रतिनिधिको ध्यान जानुपर्छ ।’ फेरि एकपटक माओवादीलाई चुनौतीसहित अवसर प्राप्त भएको भन्दै अध्यक्ष दाहालले श्रमलाई उत्पादनसँगै जोड्दै सामाजिक आर्थिक रूपान्तरणमा लाग्न जनप्रतिनिधिलाई निर्देशन दिए । प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २ सय ६० जनप्रतिनिधि र पार्टीका शीर्षनेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी भएका छन् । स्थानीय तहका पदाधिकारी अहिले नीति कार्यक्रम र बजेट निर्माणको तयारीमा छन् । आगामी १० असारभित्र स्थानीय तहले आगामी आवका लागि बजेट प्रस्तुत गर्नुपर्छ । बिहीबारसम्म चल्ने प्रशिक्षणमा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्षनेता, पूर्वमन्त्री, पार्टीका विभिन्न विभागका प्रमुख एवं संघीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ । अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ । दोस्रो दिन अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयाल, पूर्वमन्त्री एवं पार्टीको श्रम, अर्थ तथा योजना विभागका प्रमुख वर्षमान पुन, चार्टर्ड एकाउन्टेट चन्द्रकान्त भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, विज्ञान तथा प्रविधि विभागका प्रमुख एवं पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, प्रविधिविज्ञ सुलभ बुढाथोकी र डा. शैलेन्द्र गिरीले प्रशिक्षण दिनेछन् । ‘स्थानीय सरकारको कानुनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’, ‘स्थानीय तहमा स्वास्थ्य र शिक्षा’, ‘संघीयता र स्थानीय सरकार’, ‘स्थानीय तह र सामाजिक न्याय’, ‘स्थानीय सरकार र सुशासन’, ‘स्थानीय तहको नीति, योजना र कार्यक्रम’, ‘स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद’, ‘स्थानीय तहको लेखा प्रणाली’, ‘स्थानीय तहको बजेट निर्माण’ र ‘स्थानीय तहमा वन, वातावरण र विपद् व्यवस्थापन’लगायत विषयमा प्रशिक्षण दिइने माओवादीले जनाएको छ ।

Like