इे-पेपरतनहुँ जिल्लाको विशेष समाचारदेशप्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसमाचारहेडलाइन

तनहुँमा ट्राफिक सचेतना र ‘सर्च एण्ड स्विप’ अपरेसन तीव्र : १६० सवारी चालकलाई प्रशिक्षण, २९ जना प्रहरी नियन्त्रणमा

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ।

दमौली, २६ कात्तिक ।
जिल्लामा सवारी दुर्घटना न्यूनीकरण तथा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले तनहुँ प्रहरीले ट्राफिक सचेतना कार्यक्रम र विशेष सुरक्षा अपरेसनलाई तीव्रता दिएको छ ।
पोखरा–मुग्लिङ सडक खण्डको स्तरोन्नति कार्य भइरहेको अवस्थालाई मध्यनजर गर्दै आज (कात्तिक २६ गते) बिहान ५:०० बजेबाटै सडक खण्डमा गुड्ने सवारी चालकहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा ३९ वटा दुईपाङ्ग्रे, ६७ वटा साना चारपाङ्ग्रे र ५४ वटा ठूला गरी कुल १६० वटा सवारी साधनका चालकहरूलाई सडकको वर्तमान अवस्था, लेन अनुशासन र ट्राफिक नियमको पूर्ण पालना गर्न सम्झाइबुझाइ गरिएको प्रहरीले जनाएको छ । निर्माणाधीन सडकमा हुनसक्ने सम्भावित जोखिम कम गर्न चालक स्वयं सचेत र जिम्मेवार बन्नुपर्ने सन्देश प्रवाह गरिएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ।
यसैबीच, जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम राख्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइहरूले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप’ अपरेसनमा ठूलो सफलता हात पारेको छ । हिजो (कात्तिक २५ गते) सञ्चालित विशेष कारबाहीका क्रममा लागुऔषध ओसारपसार, जुवातास, अवैध मदिरा उत्पादन तथा बिक्री, चोरी, प्राकृतिक स्रोतसाधनको अनधिकृत दोहनमा संलग्न तथा फरार रहेका गरी कुल ३३ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो ।
पक्राउ परेकामध्ये सामान्य सोधपुछपछि ४ जनालाई आफन्तको जिम्मा लगाई छाडिएको छ भने बाँकी २९ जनामाथि प्रचलित कानुन बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
सभ्य समाज निर्माण र सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना गर्न तथा समाजमा हुने कुनै पनि अवैध गतिविधिको सूचना दिएर प्रहरीलाई सहयोग गर्न जिल्ला प्रहरी कार्यालय तनहुँले सम्पूर्ण जिल्लावासी एवं यात्रुहरूमा अनुरोध गरेको छ ।

Like