उत्कृष्ट ज्योतिषी सम्मानबाट गण्डकी प्रदेश अध्यक्ष डा. हरिचन्द्र भण्डारी सम्मानित

अन्जनराज न्यौपाने
सुचना ब्युरो
चितवन — ज्योतिष परिषद् नेपालको हालै सम्पन्न साधारण सभाले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्नुका साथै सम्मान कार्यक्रमसहित आफ्नो नयाँ सत्रको समीक्षा गरेको छ। नेपालको मध्यभाग चितवनमा केन्द्रीय कार्यालय रहेको परिषद्को बागमती, गण्डकी र लुम्बिनी प्रदेशको गठन तथा वार्षिक साधारण सभा सम्पन्न भइसकेको जानकारी दिइएको छ। हाल परिषदका आजीवन सदस्यहरूको संख्या ३४१ पुगेको छ।
समारोहमा ज्योतिष क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो। यस वर्ष उत्कृष्ट ज्योतिषी सम्मानबाट गण्डकी प्रदेश अध्यक्ष डा. हरिचन्द्र भण्डारी, लुम्बिनी प्रदेश अध्यक्ष विष्णु देवकोटा, र चितवन जिल्ला अध्यक्ष डा. कृष्ण आचार्य सम्मानित हुनुभएको छ। साथै, गण्डकी प्रदेश समितिलाई सामूहिक रूपमा सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गणेश अर्यालले सनातन धर्म, संस्कार र संस्कृतिको जगेर्नामा ज्योतिष परिषद् नेपालले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले ज्योतिष कुनै जातीय आधारको विद्या नभई सर्वजातीय र सर्वकालिक विचार भएको स्पष्ट पार्नुभयो। उहाँले जोड दिँदै भन्नुभयो, “अहिले एआईको युग हो, तर एआईले ज्योतिष शिक्षालाई कहिल्यै ओझेलमा पार्न वा समाप्त पार्न सक्दैन। एआई सहायक हुन सक्छ, तर यसले परम्परागत ज्योतिष शिक्षालाई विस्थापित गर्न सक्दैन।”
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ९ का अध्यक्ष यमलाल कँडेलले ज्योतिष परिषद् नेपालका लागि १५,००० रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको थियो। करिब ४०० जना ज्योतिष, भविष्यवक्ता, पण्डित तथा धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त साधारण सभामा अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

