कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी मुस्ताङबाट पक्राउ

अन्जनराज न्यौपाने
गण्डकी
प्रदेश कास्की
जबरजस्ती करणी मुद्दामा सजाय भुक्तानका क्रममा कारागारबाट फरार भएका एक प्रतिवादीलाई प्रहरीले मुस्ताङबाट पक्राउ गरेको छ।
जेन–जी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते कारागार कार्यालय कास्कीमा भएको तोडफोड तथा आगजनीको फाइदा उठाउँदै फरार भएका चितवनको रत्ननगर नगरपालिका–१२ स्थायी ठेगाना भएका ४७ वर्षीय नारायण घिमिरेलाई नेपाल प्रहरीले पक्राउ गरेको हो।
घिमिरेलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले २०८३ कात्तिक १२ गते बिहान १० बजे पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, चैलेस्थित ‘लिवन होटल एण्ड रेष्टुरेन्ट’मा लुकीछिपी बस्दै आएका थिए।
जबरजस्ती करणी मुद्दामा १५ वर्ष ८ महिना १ दिन कैद सजाय तोकिएका घिमिरेलाई बाँकी १२ वर्ष कैद सजाय भुक्तानका लागि पुनः कारागार कार्यालय कास्कीमा बुझाइएको छ।
