रसुवाका बाढीपीडितलाई म्याग्दे कांग्रेसद्वारा ५१ हजारभन्दा बढी आर्थिक सहयोग, थप राहतको प्रतिबद्धता

अन्जुन राज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ, भदौ २३ —
रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेस म्याग्दे गाउँपालिका समिति (तनहुँ) ले आर्थिक सहयोग हस्तान्तरण गरेको छ। विपद्को यस कठिन घडीमा मानवीय संवेदना प्रकट गर्दै म्याग्दे कांग्रेसले रु. ५१,१११५ (एकाउन्न हजार एक सय एघार रुपैयाँ) सहयोग प्रदान गरेको हो।
बाढीमा परी ज्यान गुमाएका मृतकहरूको १३औँ पुण्यतिथिको अवसर पारेर सो रकम सहयोगस्वरूप उपलब्ध गराइएको हो। दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै म्याग्दे कांग्रेसले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
सहयोग हस्तान्तरणबारे जानकारी गराउँदै संगठनले यो रकम प्राथमिक सहयोग मात्र भएको र आगामी दिनमा पीडित परिवारको आवश्यकता र परिस्थितिलाई हेरी सहयोग रकम थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
”प्राकृतिक प्रकोपले निम्त्याएको पीडा र स्वजन गुमाउनु पर्दाको चोट शब्दमा व्यक्त गर्न सकिँदैन। विपद्मा एकअर्कालाई काँध थाप्नु नै हाम्रो संस्कार हो,” म्याग्दे कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नागरिकका हरेक सुख-दुःख र अप्ठ्यारो परिस्थितिमा म्याग्दे कांग्रेस सदैव सँगै उभिन प्रतिबद्ध छ।”
संगठनले बाढी तथा पहिरोबाट प्रभावित समस्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै एकीकृत राहत र पुनर्स्थापनाका लागि सबै पक्षसँग आग्रहसहित ऐक्यबद्धता जाहेर गरेको छ।
