अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

सामुदायिक विद्यालय अभिभावक संघद्वारा भोटेकोसी बाढीपीडित सहयोगार्थ ५० हजार प्रधानमन्त्री राहत कोषमा सहयोग

Share to:

रासंसा/भक्तपुर, भाद्र २१,

मुलुकमा भोटेकोशी नदीमा आएको विनाशकारी महाबाढीबाट प्रभावित बाढीपीडितका लागि सामुदायिक विद्यालय अभिभावक संघ, केन्द्रीय समिति भक्तपुरले सहयोग गर्ने भएको छ । संघले बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । भोटेकोशीको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै संघले दुःख व्यक्त गरेको छ। संघका अनुसार प्राप्त पछिल्लो विवरणमा १ हजार ३५१ जनाको शव भेटिएको तथा करिब ४ हजार ५०० जना सम्पर्कविहीन रहेको उल्लेख गरिएको छ । बाढीका कारण करोडौँ रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको तथा उद्धार कार्यसमेत चुनौतीपूर्ण बनेको भन्दै संघको केन्द्रीय कार्य समितिबाट सहयोग उपलब्ध गराउने जनाएको छ । बाढीका कारण धेरै विद्यार्थीले अभिभावक गुमाएको र कतिपय बालबालिकाका बाबुआमाको काख रित्तिएको अवस्थाप्रति संघले गहिरो दुःख व्यक्त गरेको छ । यस्तो अकल्पनीय विपद्का बेला सामुदायिक विद्यालय अभिभावक संघले मानवीय कर्तव्य निर्वाह गर्दै पीडितको सहयोगमा हातेमालो गर्ने निर्णय गरेको हो । संघका केन्द्रीय अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले संघका पदाधिकारी तथा सदस्यहरूबाट रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी, बाढीका कारण विस्थापित भएका विद्यार्थीहरूको पठनपाठनमा निरन्तरता दिन आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गर्ने निर्णयसमेत संघले गरेको छ । विपद्का कारण विद्यार्थीको शिक्षामा असर पर्न नदिन सम्बन्धित निकायले विशेष पहल गर्नुपर्ने संघको भनाइ छ । संघले विपद्को यस कठिन घडीमा सबै वर्ग, समुदाय तथा व्यक्तिलाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नसमेत आह्वान गरेको छ । बैठकमा उपस्थित सबैले बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए । संघले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै विपद्पीडितलाई सहयोग गर्न सबैमा आह्वान गर्दै पीडितको उद्धार, राहत र पुनःस्थापनामा एकजुट हुन आग्रह गरेको छ।

Like