देवीघाटमा ६० मिटर लामो एक्रो ब्रिज निर्माण तीव्र, केही दिनमै आवतजावत सञ्चालन हुने
रासंसा/काठमाण्डौ, भाद्र २१,
मुलुकमा भाद्र १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ। बाढीका कारण विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा समेत क्षति पुगेपछि नेपाली सेनाले आवतजावत पुनःस्थापित गर्न एक्रो ब्रिज निर्माणको काम तीव्र बनाएको छ। पुल निर्माण सम्पन्न भएपछि देवीघाट तथा आसपासका बस्तीमा आवतजावत र यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ। नुवाकोटको विदुर नगरपालिका ५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजले एक्रो ब्रिज निर्माणको कामलाई तीव्रता दिएको छ। बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवतजावत सहज बनाउन सेनाले ६० मिटर लामो, ५.५ मिटर चौडा तथा ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको हो।
