अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

‘खोला बौलायो भनेको घरै ढलपल भएर आयो’

Share to:

रासंसा/काठमाण्डौ, भाद्र १७,

मुलुकमा रसुवामा आएको विनाशकारी बाढीले गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेंसी क्षेत्रको बस्ती नै तहसनहस बनायो । आँखैअगाडि घर, होटल, हाइड्रोपावरदेखि आफ्ना आफन्तसम्म बाढीले बगाएपछि स्थानीयको जीवन एकाएक बदलिएको छ । गोसाइँकुण्ड गाउँपालिका–५ का ४९ वर्षीय नरध्वज डोल तामाङ बाढी आउँदा होटलमा थिइन् । उनी भाडामा होटल सञ्चालन गर्दै आएका थिए । खोलाको असामान्य आवाज सुनेपछि झ्यालबाट बाहिर हेर्दा बाढी बस्तीमा पसिसकेको थियो । बाढीबाट जोगिएकाहरू अहिले काठमाडौँको नागार्जुन नगरपालिका–२ मा रहेको घोसक गुम्बा अर्थात् येल्लो गुम्बामा आश्रय लिएर बसेका छन् । शरीर सुरक्षित भए पनि उनीहरूको मन भने आफ्नै गाउँमा छाडिएको घर, जमिन र आफन्तको सम्झनाले भारी बनेको छ । उनीहरूको एउटै भनाइ छ, ‘ज्यान त बच्यो, अब बस्ने छानो के होला ?’ ‘भागाभाग भयो, ज्यान त बचाउनुपर्‍यो’ ‘होटलबाट कराएको जस्तो, खोलाको आवाजजस्तो सुनियो । झ्याल खोलेर हेर्दा त पूरै घुमेको–घुमै गरिरहेको थियो,’ उनले सम्झिन्छिन् । बाढीमा उनका परिवारका दुई जना सदस्यले ज्यान गुमाएका छन् । प्रभु बैंकमा कार्यरत उनका जेठाजुले अरूलाई बचाउने क्रममा ज्यान गुमाए । त्यस्तै, कान नसुन्ने उनका ससुराका भाइ पनि बाढीमा परे । ‘हाम्रो घरमा दुई जना गुमायौँ । अरू सबै जीवितै छन्,’ तामाङले भने । उनको होटल र घर पनि बाढीले क्षति पुर्‍याएको छ । अहिले गाउँ फर्केर बस्ने अवस्था नरहेको उनी बताउँछन् । उद्धारपछि भने आफूहरूले राम्रो खाना र बस्ने व्यवस्था पाइरहेको उनले महसुस गरेका छन् । ‘यहाँ खाना–पिना र सुत्ने व्यवस्था राम्रो छ । पाँचतारे होटलमा पनि नपाइने जस्तो खाना पाइरहेका छौँ,’ उनले भने । उनका अनुसार पारिपट्टिको गाउँ हुँदै आएको बाढी हाइड्रोपावरतर्फ पस्दै चौरमा फैलिएको थियो । त्यसपछि होटलमा रहेका मानिसहरू ज्यान जोगाउन माथिल्लो क्षेत्रमा भागे । ‘हामी कुदेर माथि स्कुलको छेउसम्म पुग्यौँ । सबै भागाभाग भयो । अब ज्यान त बचाउनुपर्‍यो,’ उनले भनिन् । ‘गाउँमा त हामी जाँदैनौँ । मान्छे गुमाएको छु, जग्गा–जमिन नै छैन । सरकारले यतातिर राखिदिनुहुन्छ भने हामी खुसीले बस्छौँ । झुपडीमै भए पनि हुन्छ,’ उनले भने, ‘खाली हामीलाई छाना चाहियो ।’ ‘खोला बौलायो भनेको त घरै ढलपल भएर आयो’ गोसाइँकुण्ड–५ कै फुर्पु याङ्जेन भूकम्पपछि स्याफ्रुमा बस्दै आएकी थिइन् । बाढी आउँदा उनले केही बुझ्न नपाउँदै बस्तीमा विनाश सुरु भएको देखिन् । उनका श्रीमान्ले ‘खोला बौलायो’ भन्दै कराएको सम्झिँदै उनले भनिन्, ‘के बौलायो, त्यो थाहा भएन । यसो हेर्दाखेरि सबै घर ढलपल–ढलपल गर्दै आयो ।’ बजारमै भएको भए आफूहरू बाँच्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । उद्धारपछि उनीहरू बर्खु हुँदै धुन्चे पुगे । हेलिकोप्टरबाट त्रिशूलीसम्म ल्याइएका उनीहरूलाई त्यहाँबाट बसमार्फत काठमाडौँ ल्याइएको हो । त्यसपछि उनले छोराछोरी र बुहारीलाई फोन गरिन् । सुरुमा फोन उठेन । केहीबेरपछि बुहारीले फोन उठाइन् । ‘कहाँ छौ भन्दा आमा भाग्दै छु, भाग्दै छु भनिन् । बाबा र आमा कहाँ हुनुहुन्छ भनेर सोधिन्,’ उनले भनिन् । फुर्पुका तीन छोरा छन् । दुई छोराको विवाह भइसकेको छ । उनका दुई नाति र दुई नातिनी छन् । अब उनको चिन्ता परिवारका बालबालिकाको भविष्यप्रति छ । ‘सरकारले यी साना–साना बच्चाहरूलाई पढाइदिनुपर्यो। हामी बाँचेकाहरूलाई खानेकुरा र रासन चाहियो,’ उनले भनिन् । उनको पुरानो घर बर्खुमा रहेकाले सरकारले सहयोग गरे आफू त्यहीँ फर्केर बस्न सक्ने उनको आशा छ । ‘मकै पनि छोडियो, बस्ने पोको पनि त्यत्तिकै छोडियो’ बजारमै भएको भए आफूहरू बाँच्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । उद्धारपछि उनीहरू बर्खु हुँदै धुन्चे पुगे । हेलिकोप्टरबाट त्रिशूलीसम्म ल्याइएका उनीहरूलाई त्यहाँबाट बसमार्फत काठमाडौँ ल्याइएको हो । ७५ वर्षीय कामी घले पनि बाढी आएको क्षण सम्झँदा अझै झस्किन्छन् । स्याफ्रुबेँसी–५ का घले बाढी आउँदा घरमै थिए । उनकी श्रीमती खाना पकाउँदै थिइन् भने उनी मकै सुकाउँदै थिए । एकाएक बाढी आएको थाहा पाएपछि आफूहरूले केही सामानसमेत उठाउन पाएनन् । ‘मकै पनि छोडियो, बस्ने पोको पनि त्यत्तिकै छोडियो । हामी बूढाबूढी र परिवार सबै भाग्यौँ,’ उनी सुनाउँछन् । १६ वर्षीया कुन्ती तामाङ कक्षा ९ मा पढ्छिन् । बाढी आएको दिन बिहान स्कुल नजाने भन्दै घरमै बसेकी थिइन् । बिहान झन्डै साढे ८ बजे झ्यालबाट बाहिर हेर्दा उनले आफ्नो आँखाअगाडि हाइड्रोपावर बाढीले बगाइरहेको देखिन् । ‘म त त्यो देखेर एकछिन शक्ड भएँ । अब के भयो होला भन्ने भयो । अनि आमा–आमा भाग्नु, भाग्नु भनेर कराएँ,’ उनले भनिन् । त्यसपछि सुरु भयो परिवार जोगाउने संघर्ष । उनको परिवारमा सात जना छन् । सातै जना सकुशल छन् । उनीहरू माथिल्लो लेकतर्फ भागेर ज्यान जोगाउन सफल भए । ‘यहाँसम्म खोला आयो । हामी माथि डाँडातिर भाग्यौँ,’ उनले भने । उद्धारपछि हेलिकोप्टरमार्फत धुन्चे र त्यहाँबाट त्रिशूली हुँदै गाडीमा काठमाडौँ ल्याइएको उनले बताए । खाने–बस्ने व्यवस्था राम्रो भए पनि उनको मन भने घरमै छ । ‘खाने–पिउने त ठीक छ । तर आफ्नो घरको पिर लागिरहेको छ,’ घले भन्छन् । ‘झ्यालबाट हेर्दा हाइड्रोपावर नै बगिसकेको थियो’ उनका भदा तलतिर थिए । सुरुमा बहिनीले बोकेर ल्याइन् । तर उनी दौडिन नसकेपछि आमाले बोकिन् । आमा पनि डरका कारण राम्ररी दौडिन नसकेपछि कुन्तीले भदालाई बोकेर दौडिएको सम्झिइन् । उनको परिवारमा २२–२३ जना छन् । तीमध्ये दुई जना अझै सम्पर्कविहीन छन् । बाँकी सबै सकुशल छन् । बाढीपछि उनीहरू एक रात स्कुलमा बसे । त्यसपछि धुन्चे पुगे । धुन्चेमा एक दिन बसेपछि त्रिशूली हुँदै काठमाडौँ आइपुगे । ‘ममी कुद्न सक्नुभएन । मैले भाउजूलाई बोलाएँ । अनि भदालाई च्यापेर कुदेँ । ममीलाई पनि समातेर कुदेँ,’ उनले भनिन् । ‘यहाँ सबै राम्रो छ । खाना, बस्न र लगाउन पनि पाइरहेका छौँ,’ उनले भनिन् । तर आफ्ना दुई जना आफन्त अझै सम्पर्कविहीन रहेको पीडा उनको मनबाट हटेको छैन । ‘मेरा धेरै आफन्त बेपत्ता छन्’ छिरिङ राईको परिवारको पीडा अझ फराकिलो छ । उनका बुवा सङ्खुवासभातिरका हुन् भने आमा रसुवा टिमुरेकी हुन् । बाढीमा उनका परिवार र आफन्तका धेरै सदस्य प्रभावित भएका छन् । ज्यान जोगियो, तर अब कहाँ फर्किने ? रसुवामा आएको बाढीले स्थानीयका घर मात्र बगाएको छैन, उनीहरूको वर्षौँको जीवन, सम्पत्ति र भविष्य समेत बगाएको छ ।‘मेरो हजुरबा, हजुरआमा, सानीआमा, मामा, ममीको भाइ, सानीआमाको छोरी, छोरा–मेरो धेरै आफन्तहरू बेपत्ता भएका छन्,’ उनले भने । उनका लागि बाढी एउटा प्राकृतिक विपत्ति मात्र होइन, परिवारका धेरै सदस्यलाई एकैपटक गुमाउने पीडादायी घटना बनेको छ । अहिले उद्धार गरिएका पीडितहरूले काठमाडौँमा खाना, कपडा र बस्ने व्यवस्था पाइरहेका छन् । तर राहत शिविरमा केही दिन सुरक्षित बस्नु र जीवनभरका लागि पुनर्स्थापित हुनु फरक कुरा हो । उनीहरूको मुख्य चिन्ता अब यही छ–गाउँ फर्किने अवस्था छैन, घर छैन, जमिन छैन । बालबालिकाको पढाइ रोकिएको छ । रोजगारी र व्यवसाय गुमेको छ । कतिपय परिवारले आफ्ना सदस्य नै गुमाएका छन् । कतिपय अझै आफन्तको खोजीमा छन् । त्यसैले उनीहरू सरकारसँग तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र बालबालिकाको शिक्षाको व्यवस्था गर्न आग्रह गरिरहेका छन् । ‘हामीलाई धेरै केही चाहिएको छैन,’ बाढीबाट जोगिएका नरध्वज तामाङ भन्छन्, ‘बस्ने एउटा छाना चाहियो ।’ त्यही एउटा छानाभित्र उनीहरू बाँकी जीवन फेरि सुरु गर्न चाहन्छन् ।

Like