मंगलचौथी व्रत : श्रीगणेशको आराधना, विघ्न विनाश र मंगलमय जीवनको साधना
रासंसा/काठमाण्डौ, भाद्र १६,
ॐ श्री गणेशाय नमः।
“वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ।
निर्विघ्नं कुरु मे देव शुभकार्येषु सर्वदा॥”

डा. के. बि. सम्राट
‘मंगल’ अर्थात् शुभता र ‘चौथी’ अर्थात् चतुर्थी तिथि। मंगलचौथी व्रत केवल उपवास बस्ने धार्मिक कर्म मात्र होइन; यो आफ्ना विचार, व्यवहार र कर्मलाई शुभ दिशातर्फ उन्मुख गराउने साधना पनि हो। आज हामी सनातन हिन्दू परम्परामा भगवान् श्रीगणेशसँग सम्बन्धित मंगलचौथी व्रतको आध्यात्मिक, धार्मिक तथा सांस्कृतिक महत्त्वका विषयमा मनन गरौँ। भगवान् श्रीगणेशलाई विघ्नहर्ता, सिद्धिदाता, बुद्धिका देवता तथा शुभकार्यका प्रथम पूज्य देवताका रूपमा आराधना गरिन्छ। कुनै पनि शुभकार्य प्रारम्भ गर्नुअघि गणेशजीको स्मरण गर्ने हाम्रो परम्पराले जीवनमा बुद्धि, विवेक, धैर्य र शुभ संकल्पको महत्त्वलाई उजागर गर्दछ। व्रतको वास्तविक उद्देश्य शरीरलाई कष्ट दिनु होइन, बरु मनलाई संयमित बनाउनु हो।
इन्द्रिय संयम, सात्त्विक भोजन, सत्य वचन, सदाचार, दया, सेवा र ईश्वरप्रतिको श्रद्धा—यी नै व्रतका वास्तविक आधार हुन्। हामी जीवनमा अनेकौँ प्रकारका विघ्न, कठिनाइ र चुनौतीको सामना गर्छौँ। भगवान् गणेशको आराधनाले बाहिरी समस्या मात्र हटाउँछ भन्नेभन्दा पनि समस्या सामना गर्ने बुद्धि र विवेक प्राप्त हुन्छ भन्ने आध्यात्मिक दृष्टिकोण महत्त्वपूर्ण छ।
गणेशजीको ठूलो शिरले विस्तृत सोच,
ठूला कानले धैर्यपूर्वक सुन्ने क्षमता,
सानो मुखले कम बोल्ने शिक्षा,
सानो आँखा वा सूक्ष्म दृष्टिले एकाग्रता,
र उहाँको वाहन मुसाले इच्छा र चञ्चल मनमाथि नियन्त्रणको प्रतीकात्मक सन्देश दिन्छ।
यसैले गणेश आराधना वास्तवमा व्यक्तित्व निर्माणको आध्यात्मिक पाठशाला पनि हो।
मंगलचौथी व्रतका दिन भक्तजनहरूले आफ्नो परम्परा र कुलाचारअनुसार स्नान गरी शुद्ध भई भगवान् गणेशको पूजा–आराधना गर्ने, गणेश मन्त्र जप गर्ने, कथा श्रवण गर्ने तथा सात्त्विक आहार ग्रहण गर्ने वा उपवास बस्ने गर्दछन्। पूजामा दूर्वा, फूल, अक्षता, फलफूल, नैवेद्य तथा भगवान् गणेशलाई प्रिय मानिने सामग्री श्रद्धापूर्वक अर्पण गरिन्छ। तर यहाँ एउटा कुरा विशेष स्मरणीय छ—भगवान्लाई अर्पण गरिने वस्तुभन्दा ठूलो कुरा भक्तको भावना र आचरणको पवित्रता हो।
मंगलचौथी व्रतले पारिवारिक सुख, शान्ति र मंगलकामनासँगै पारस्परिक प्रेम, सम्मान र सद्भावको सन्देश दिन्छ। आज परिवारमा भौतिक सुविधा बढे पनि मनबीचको दूरी बढ्दै गएको देखिन्छ। यस्तो अवस्थामा गणेशजीको आराधनाले हामीलाई सम्झाउँछ—
परिवारको वास्तविक समृद्धि धनमा मात्र होइन, एक–अर्काप्रतिको प्रेम, विश्वास र सम्मानमा हुन्छ।
त्यसैले यस दिन भगवान् गणेशको पूजा गर्दै हामीले एउटा संकल्प गरौँ—
घरमा वृद्धवृद्धाको सम्मान गर्नेछौँ, बालबालिकालाई संस्कार दिनेछौँ, परिवारका सदस्यबीच प्रेम र सद्भाव कायम गर्नेछौँ र समाजमा आवश्यक परेकालाई सहयोग गर्नेछौँ।
धार्मिक ग्रन्थ र परम्परामा व्रत–उपासनालाई पुण्यदायी मानिएको छ। तर व्रतको सबैभन्दा ठूलो फल आन्तरिक रूपान्तरण हो। यदि व्रत बसेपछि पनि हाम्रो व्यवहारमा क्रोध, अहंकार, लोभ, द्वेष र असत्य कायम रह्यो भने व्रतको आध्यात्मिक उद्देश्य अधुरो रहन्छ। त्यसैले मंगलचौथीको दिन हामीले केवल भगवान् गणेशलाई प्रसन्न पार्ने होइन, आफ्नो मनलाई पनि गणेशमय—अर्थात् बुद्धि, विवेक, विनय र सदाचारयुक्त बनाउने प्रयास गर्नुपर्छ।
विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । हे गणनाथ, हजुरलाई कोटी कोटी नमस्कार छ ।
हिन्दु संस्कारमा मानिसहरूले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर कामको थालनी गर्नुभन्दा पहिले भगवान् श्री गणेशको आराधना र स्मरण गर्छन् । भगवान् श्री गणेशलाई मङ्गल कारक देवताका रूपमा पूजा गर्ने चलन पनि छ ।
भगवान् गणेश शुभ फल प्रदान गर्ने देवताको रूपमा चिनिनुहुन्छ । आजको दिन श्रद्धापूर्वक गणेशको व्रत लिनाले गणेश भगवान् प्रसन्न भएर व्रतालुहरूलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता छ । यदि तपाईंहरुलाई पनि कुनै नयाँ कार्यको सुरुवात वा श्रीगणेश गर्नु छ भने आजको दिन अति शुभ मानिन्छ । विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक विशेष आजको दिन सबैको मङ्गलमय होस् । आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रूपमा मान्ने चलन पनि छ । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ । मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरूले आजकै शुभ दिनबाट व्रत प्रारम्भ गर्छन् ।
उक्ति अनुसार कलियुगमा चण्डी दुर्गा र विनायक गणेशजी प्रधान एवं प्रथम पूज्य छन् । अतः माता दुर्गा भवानी र विघ्न हर्ता गणेशजी भगवानको महिमा हाम्रो शस्त्राहरुमा वर्णितै छ । विघ्न हर्ता गणेशजी भगवानलाई खुसी पार्न सके धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको प्राप्ति हुने कुरा गणेश पुराणमा वर्णन गरिएको छ ।
जसले यस दिन ऋद्धि सिद्धिसहित गणेशजीको पूजा, पाठ, व्रत, कथा एवं आराधना गर्छ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभ फल र मानसिक शान्ति पाउने र सबै प्रकारका दुःख कष्ट र बिघ्न बाधा आदि सबै हराउने विश्वास छ । त्यसैले आजको दिन बिहान नित्यकर्म गरेर शुद्ध चित्त भएर पूजन सामग्री तयार गर्नु पर्छ । पूजन सामग्री तयार पार्दा धान, चामल, जौ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अबिर, केशरी, सिन्दूर, रातो अक्षता, सौभाग्य, शृङ्गार, नरिवल, फलफूल, पकवान, धूप, बत्ती, कपुर, रातो फूल, माला, लड्डु दुबो आदि सरजम तयार गरेर पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसेर दीप प्रज्वलन गरी दियोको आवाहन गरेर त्यसपछि दाहिने हातमा जौ, तिल, पानी, फूल, कुश या दुबो र द्रव्यसहित लिएर सङ्कल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नाम सहित परिवार तथा बन्धुबान्धवहरुको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले सङ्कल्प लिनु पर्दछ ।
सङ्कल्प पश्चात् अर्घ स्थापना गरेर विघ्न हर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गणपतये नमः भन्दै पूजा गरिसके पछि धूप, दीप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने र इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरेर कलशभित्र पञ्चरत्न, पञ्च पल्लव, सर्वोषधिआदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथि नरिवल, सुपारी वा सिङ्गो फल राखेर सबै उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ । पुनः बिचमा गणेशजीको प्रतिमा वा मूर्ति राख्ने र गणेशजीको विशेष पूजन कालागि हातमा रातो फूल रातो अक्षता लिएर ध्यान गर्ने । सकिन्छ भने यो मन्त्र पढ्दै ध्यान गर्ने:
वक्रतुण्ड महाकाय कोटिसूर्यसमप्रभस् । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।
यो मन्त्रसहित गणेशजीलाई रातो फूल अक्षता सहितले आवाहन गर्ने र कुशको आसन राखिदिने, ॐ गं गणपतये नमः ः भन्दै पाद्य, अर्घ, आचमन, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । तत्पश्चात् शुद्ध जलले स्नान गराएर गणेशजीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले जनै, चन्दन, टिका, रोली, सिन्दूर, अक्षता, वस्त्र आदि चढाउनु पर्दछ । तत्पश्चात् जौ, तिल, फूल, माला, दुबो, बेलपत्रसहित सम्पूर्ण उपलब्ध उपचारले पूजा गर्दै गणेशजीलाई ॐ गं गणपतये नमः भन्दै अङ्ग पूजन गरी धूप, दीप, नैवेद्य, लड्डु, फलफूल, पान, सुपारी, नरिवल, द्रव्य दक्षिणा अर्पण गरी रातो फूल हातमा लिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । तत्पश्चात् सम्पूर्ण भक्तहरुले गणेशजीको नीराजन आरती, घण्टसहित श्रद्धा एवं भक्तिले गर्नु पर्दछ । पुनः पुष्पाञ्जली गरेर आरतीलाई सितल गरी सबैजनाले आरती लिनु पर्छ र आफ्नो मनोकामना पूर्ण होस् भनेर विघ्न हर्ता गणेशजीलाई साष्टाङ्ग प्रणाम गरी आर्सीवाद लिई प्रसाद ग्रहण गर्नु पर्दछ । यसरी श्रद्धा र भक्तिले गरिएको पूजाबाट गणेशजी प्रसन्न भई भक्तहरूको मनोकामना अवश्य नै पूरा गर्नुहुनेछ ।
आज मंगलचौथीको पवित्र अवसरमा हामी सबैले यस्तो संकल्प गरौँ—
“हे विघ्नहर्ता श्रीगणेश!
हाम्रो अज्ञान हटाइदिनुहोस्,
हामीलाई सद्बुद्धि प्रदान गर्नुहोस्,
असत्यबाट सत्यतर्फ,
अन्धकारबाट प्रकाशतर्फ,
अशान्तिबाट शान्तितर्फ
र स्वार्थबाट सेवातर्फ अघि बढ्ने शक्ति प्रदान गर्नुहोस्।” हाम्रो घरमा सुख–शान्ति रहोस्, समाजमा सद्भाव कायम होस्, राष्ट्रमा समृद्धि र सुशासन स्थापित होस् तथा सम्पूर्ण मानवजातिमा प्रेम, करुणा र सहिष्णुता जागृत होस्।
अन्त्यमा भगवान् श्रीगणेशको पावन चरणमा प्रार्थना गरौँ—
“वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ।
निर्विघ्नं कुरु मे देव शुभकार्येषु सर्वदा॥”
अर्थात्—हे विशाल शरीर भएका, करोडौँ सूर्यजस्तै तेजस्वी वक्रतुण्ड गणेश! हाम्रा सबै शुभकार्य सधैँ निर्विघ्न रूपमा सम्पन्न गराइदिनुहोस्।
(लेखक डा. के. बि. सम्राट विश्व शान्ति ध्यान केन्द्रका महासचिव एवं कोषाध्यक्ष तथा राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक हुनुहुन्छ)
