पर्यटकीय नगरी बन्दीपुरमा राष्ट्रिय स्तरको तीज गीत प्रतियोगिता हुँदै

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
बन्दिपुर तनहुँ ।
बन्दीपुरमा १०८ फिट अग्लो आदियोगी शिवको प्रतिमा निर्माणस्थलमा तीन दिने ‘तिज विशेष सांस्कृतिक महोत्सव-२०८३’ हुने भएको छ। नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आदियोगी प्रज्ञा धामको आयोजनामा यो महोत्सव सञ्चालन हुन लागेको हो।
आगामी २०८३ साल भदौ २७, २८ र २९ गतेसम्म बन्दीपुर केबलकारको बटम स्टेसनमा सञ्चालन हुने यस महोत्सवको अनुमानित लागत करिब रु. ३५ लाख रहेको छ। महोत्सवको मुख्य आकर्षणमा राष्ट्रिय स्तरको तिज प्रतियोगिता, ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति, लाखे नाच, विविध नृत्य, एकल प्रस्तुति तथा तिज दोहोरी रहेका छन्। राष्ट्रिय स्तरको तिज सांस्कृतिक प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ, जसअन्तर्गत प्रथम हुने समूहले रु. ३,०२,०००, द्वितीय हुनेले रु. २,०३,०००, तृतीय हुनेले रु. १,०४,००० र सान्त्वना हुने ३ टिमले जनही रु. १०,००० प्राप्त गर्नेछन्। साथै, प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई रु. १०,००० सहभागिता पुरस्कार पनि प्रदान गरिने आदियोगी प्रज्ञा धामकि सदस्य एबं तीजगीत प्रतियोगिताकि संयोजक कमला तिवारीले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिईन्।
मानव जगतमा आध्यात्मिक, सांस्कृतिक र मानवोत्थानको अभियान रूपमा स्थापित आदियोगी प्रज्ञा धाम कुनै एक धार्मिक सम्प्रदायमा सीमित नरही सम्पूर्ण मानवताको साझा चेतना केन्द्रका रूपमा अघि बढिरहेको छ। यसै धामको दीर्घकालीन परिकल्पना अन्तर्गत बन्दीपुरमा १०८ फिट अग्लो आदियोगी शिवको दिव्य प्रतिमा निर्माण भइरहेको छ। यस प्रतिमाले नेपाललाई विश्वको महत्त्वपूर्ण आध्यात्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्य बनाउन योगदान पुर्याउने विश्वास लिइएको छ।
आयोजकले यस महोत्सवलाई केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई नेपाली मौलिक संस्कृति, कला र आध्यात्मिक चेतनालाई जोड्ने राष्ट्रिय अभियानको रूपमा लिएको छ। महोत्सवलाई सफल बनाउन देशविदेशका कलाकार, सांस्कृतिक समूह, सञ्चारकर्मी, पर्यटन व्यवसायी तथा सम्पूर्ण महानुभावहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक अपील गरिएको छ।
