चुनदेवीमा चमत्कारको सन्देशसहित चहलपहल
रासंसा/काठमाण्डौ, श्रावण २८,
मुलुकमा जेनजी आन्दोलनपछि निवासमा आगजनी भएपछि आफन्तको घरमा शरण लिएका नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन् । लामो विदेश बसाइ र उपचारपछि बुधबार नेपाल फर्किएका देउवाको आगमनसँगै कांग्रेसको आन्तरिक राजनीतिमा पुनः चहलपहल बढेको छ । निर्वाचनपछि गठन भएको प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले देउवाविरुद्ध रेडकर्नर नोटिससमेत जारी गरेको अवस्थामा उनी स्वदेश फर्किएका हुन् । परराष्ट्रमन्त्रीसमेत रहेकी पत्नी आरजु राणासहित जेनजी आन्दोलनका क्रममा घाइते भएपछि देउवा उपचारका लागि विदेश गएका थिए । आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले घोषणा गरेको २१ फागुनको निर्वाचन हुने भएपछि उनी उपचारका क्रममा बैंकक र हङकङमा बसेका थिए । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले आफूविरुद्ध लगाइएका भ्रष्टाचारका आरोप छानबिन गरेर प्रमाणित गर्न चुनौती दिए । उनको स्वदेश फिर्तीलाई देउवा पक्षले कांग्रेस राजनीतिमा ‘चमत्कार’को सम्भावना पुनः जागेको सन्देशका रूपमा लिएको छ । देउवा स्वदेश फर्किएलगत्तै चुनदेवीस्थित कांग्रेसको समानान्तर समूहको कार्यालयमा उनको नामको सभापति पदको बोर्ड राखिएको छ । कार्यकर्ताले विमानस्थलबाट स्कर्टिङ गर्दै उनलाई चुनदेवीस्थित कार्यालय पु¥याएका थिए । देउवाले आफ्नो पाँच दशक लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गर्दै आफूविरुद्धका आरोप छानबिन गरेर प्रमाणित गर्न चुनौती दिएका छन् । त्यहाँ समानान्तर कांग्रेस निर्माणका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा. डा. शशांक कोइरालाको नामको बोर्डसमेत राखिएको छ । आफूविरुद्ध पटकपटक उजुरी र छानबिन भए पनि कुनै तथ्य फेला नपरेको दाबी गर्दै उनले अदालत जान आफू नडराउने बताए । ‘अदालतसम्म गाको छ, १० पटकसम्म आउनु भन्छ । १० पटक आयो, केही छैन भन्छ । ११ पटक आयो, २० पटक आयो, केही छैन । अहिलेसम्म ५० वर्ष काम ग¥या छ, एक रुपैयाँ कतैबाट तलमाथि भन्या कुरा छैन,’ देउवाले विमानस्थलमा भने । गणतन्त्रका लागि आफूहरूले लामो संघर्ष गरेको स्मरण गर्दै उनले तत्कालीन राजासमेतले आफूलाई रोक्न नसकेको भन्दै अहिले पनि कसैले आफूलाई अप्ठेरो पार्न नसक्ने सन्देश दिएका छन् । देउवाको स्वदेश फिर्तिसँगै कांग्रेसभित्र उनको भूमिकालाई लिएर नयाँ बहस सुरु भएको छ । आफू कांग्रेसको साझा अभिभावकका रूपमा रहने र एकीकृत कांग्रेस निर्माणमा भूमिका खेल्ने सन्देश देउवाले दिएका छन् । पार्टी नेतृत्वबाट हटाइएपछि कांग्रेसको राजनीतिक अवस्था र पार्टीभित्रको एकताको अवस्थालाई मूल्यांकन गरेर मात्रै आगामी कदम चाल्नुपर्ने उनको संकेत छ । प्रक्रियासम्मत महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने भूमिकामा आफू रहन चाहेको सन्देश पनि देउवाको आगमनसँगै गएको देउवा पक्षको बुझाइ छ । देउवाले संविधानसभामार्फत गणतन्त्र स्थापना गरिएको स्मरण गराउँदै यसको भविष्यको फैसला जनताले गर्ने बताएका छन् । गणतन्त्रबाट नागरिकले अधिकार र जीवनस्तरमा परिवर्तनको अनुभूति गरेको भन्दै उनले गणतन्त्रवादी शक्तिहरूबीच एकता र सहकार्यको आवश्यकता औंल्याएका छन् । नयाँ राजनीतिक नेतृत्वभित्र पनि नातावाद र पुँजीपतिप्रति झुकाव तथा गरिब र सुकुम्वासीप्रति अपमानजनक व्यवहार देखिन थालेको संकेत गर्दै उनले गणतन्त्र पक्षधरहरूबीच एकीकृत सहकार्यको सन्देश दिएका छन् । केही दिनअघि सर्वोच्च अदालतले आफ्नै पुरानो फैसला पुनरावलोकन गर्न अनुमति दिएपछि कांग्रेसको वैधानिकता विवादमा देउवा पक्षको आशा थप बलियो भएको छ । सर्वोच्चको पछिल्लो आदेश र देउवाको स्वदेश फिर्तिले कांग्रेसको आधिकारिकता विवादलाई पुनः राजनीतिक केन्द्रमा ल्याएको छ । देउवाले जेनजी आन्दोलनका नाममा आफूलाई झुक्याइएजस्तै कांग्रेसको आधिकारिकताको नाममा पनि आफूहरूलाई झुक्याइएको दाबी गरेका छन् । कांग्रेसको वैधानिकता र आधिकारिकतासम्बन्धी विवादको अन्तिम निरूपण न्यायालयबाट हुने विश्वास उनले व्यक्त गरेका छन् । देउवाको पुनरागमनसँगै चुनदेवीबाट समानान्तर गतिविधि तीव्र हुनु र न्यायालयबाट आएको पछिल्लो आदेशले कांग्रेसको वैधानिकता विवादको अन्तिम व्याख्या कुन पक्षमा जाने हो भन्ने चासोको विषयसमेत बनेको छ ।
