अन्य थपदेशप्रदेश-३ [बागमती]राजनीतिसमाचारस्पेसल

प्रविधि र सेवाको नमूना स्मार्ट सिटी बन्दै ललितपुर महानगरपालिका

Share to:

रासंसा/ललितपुर, आषाढ २५,

मुलुकमा ललितपुर महानगरमा पूरै हरियालीयुक्त वातावरण छ । सडक किनारमा गमलामा रोपिएका बिरुवा राखिएका छन् । चिटिक्क सिङ्गारिएको सडकका दुवै किनारामा बोटबिरुवाले सहरको शोभा बढाएका छन् । सहरमा एक फन्को लगाउँदा यात्रु र सर्वसाधारणले आनन्द महसुस गर्छन् । कुनै समय कार्यालय समयमा मात्र सीमित रहने स्थानीय प्रहरीको अवधारणालाई चिर्दै ललितपुर महानगर प्रहरीले आफूलाई चौबिस घण्टे जनसेवाको पर्याय बनाएको छ । पछिल्लो समय महानगर प्रहरी बलले अपनाएका नवीनतम अभ्यास र सुधारका कार्यहरूले नगरबासीको मन जित्न सफल भएको छ । इतिहास, कला र संस्कृतिले भरिपूर्ण ललितपुर महानगरपालिका पछिल्लो समय मुलुककै नमूना र स्मार्ट सहरका रूपमा विकसित हुँदैछ । यसको पछाडि नागरिकको सचेतना र जनप्रतिनिधिहरूको दूरदर्शी सोच त छँदैछ, महानगरको शान्ति सुरक्षा, यातायात व्यवस्थापन र आपत्कालीन सेवामा अहोरात्र खटिने ललितपुर महानगर प्रहरी बलको भूमिका पनि उत्तिकै प्रशंसनीय छ । कतै आगलागी हुँदा स्विच थिचे पुग्छ, दमकल आइपुगिहाल्छ । कसैको मृत्यु भयो, निःशुल्क शववाहन तुरून्त आइपुग्छ । खोलामा बाढी आयो, डुङ्गा लिएर उद्धारकर्ता पुगिहाल्छन् । विपद् व्यवस्थापनको खबर पुग्ने बित्तिकै क्रेन तयार अवस्थामा हुन्छ । कतै ढल फुट्यो, समस्या समाधान हुन धेरै समय लाग्दैन । बेवारिसे जनावर मरेका भेटिँदा व्यवस्थापन गर्ने टोली पुगिहाल्छ । ललितपुर महानगर प्रहरीले प्रविधिलाई आत्मसात् गर्दै सञ्चालनमा ल्याएको अत्याधुनिक कन्ट्रोल रुम कार्यप्रणालीको सबैभन्दा बलियो पक्ष हो । आगलागी वा अन्य कुनै पनि आपतकालीन घटना हुँदा ७ सेकेन्डभित्रै सूचना प्राप्त गर्न सकिने गरी महानगरका १५ स्थानमा ‘इमर्जेन्सी अलर्ट सिस्टम’ जडान गरिएको छ । कन्ट्रोल रुमबाटै सहरका विभिन्न स्थानमा राखिएका सीसी क्यामेरा, सडकबत्ती, ढल निकास र पार्किङको अवस्था निगरानी गरिन्छ । महानगरका गाडीहरूमा जडान गरिएको जीपीएस प्रणालीले कुन गाडी कुन स्थानमा खटिएको छ भन्ने रियल–टाइम जानकारी दिन्छ, जसले गर्दा कुनै पनि समस्या आएमा तुरुन्तै जनशक्ति परिचालन गर्न सहज भएको छ । खोला किनाराका बस्ती र डुबानको समस्यालाई मध्यनजर गर्दै महानगर प्रहरीले ‘कर्डलेस वार्निङ सिस्टम’ जडान गरेको छ । भारी वर्षा हुँदा खोलाको जलसतह कति बढेको छ भन्ने जानकारी कन्ट्रोल रुममा स्वतः प्राप्त हुन्छ । यसले गर्दा जोखिमयुक्त क्षेत्रमा समयमै सतर्कता अपनाउन र मानवीय क्षति हुनबाट बचाउन ठुलो सहयोग पुगेको छ । अघिल्ला वर्षमा जस्तो विपदका बेला पछि परेको महसुस नगरबासीले गर्नु परेको छैन । महानगरपालिकाले चौबिसै घण्टा तयारी अवस्थामा रहने गरी दमकल सेवा सञ्चालन गरेको छ । १७ जना दक्ष नगर प्रहरीको टोली २४ सै घण्टा खटिन्छन् । स्मार्ट बोर्डमार्फत आगलागी भएको ठाउँको सही लोकेसन र म्याप कन्ट्रोल रुममा आउने भएकाले दमकल छिटोभन्दा छिटो घटनास्थलमा पुग्न सफल हुन्छ । ललितपुरका विभिन्न क्षेत्रमा हुने ट्राफिक जाम र अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न महानगर प्रहरीले नयाँ नियमहरू लागु गरेको छ । कुमारीपाटी लगायतका व्यापारिक क्षेत्रमा समानान्तर पार्किङको अवधारणा लागु गरिएपछि सडकमा सवारीसाधनको चाप घटेको छ । सडकलाई अतिक्रमणमुक्त बनाउन र फुटपाथ व्यवस्थित गर्न महानगर प्रहरी निरन्तर खटिरहेको छ । सहरलाई सफा, सुन्दर र हराभरा बनाउन महानगरले इभी (विद्युतीय) ब्रुमर र पानी ट्याङ्करहरुको प्रयोग गरिएको छ । पानीले सडक धुने, बोटबिरुवामा पानी हाल्ने र धुलो नियन्त्रण गर्ने काम नियमित रूपमा भइरहेको छ । सडकका बिच भागमा राखिएका गमलाले सहरको सौन्दर्य मात्र बढाएका छैनन्, यसले ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुगेको छ । ललितपुर महानगर प्रहरीलाई सक्षम बनाउन ट्राफिक प्रहरी पूर्वनिरीक्षक सीताराम हाछेथुको ठुलो भूमिका छ । उनी प्रहरी जवान जत्तिकै खटिन्छन् । प्रायः बिहान ७ बजेदेखि रातको ९–१० बजेसम्म फिल्डमै खटिने गरेका हाछेथुले पहिलो नम्बरमा काम र दोस्रोमा परिवारलाई राखेका छन् । आफ्नो काममा ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर मञ्जली शाक्य बज्राचार्यको पूर्ण सहयोग गरेको उनले बताए । ‘सबैको सहयोग र उत्साहले मैले दत्तचित्त भएर काम गर्न पाएको छु,’ हाछेथुले भने । सेवाग्राहीका गुनासाहरुलाई ५ मिनेटभित्र सम्बोधन गर्ने प्रतिबद्धता र नगरबासीको घर–घरमा सुरक्षाकर्मीको सम्पर्क नम्बर उपलब्ध गराइएको छ । यसले प्रहरी र जनताबिचको दूरी घटाएको छ । नगर प्रहरी जनताको साथी भन्ने आभास दिलाएको छ । ललितपुर महानगर प्रहरी बलले देखाएको कार्यकुशलता र प्रविधिको प्रयोग अन्य स्थानीय तहहरूका लागि पनि उदाहरणीय बन्न सक्छ । जनप्रतिनिधिको राजनैतिक इच्छाशक्ति, प्रशासनिक सहयोग र नगर प्रहरीको इमानदार मेहनतले कसरी एउटा सहर सुरक्षित र व्यवस्थित बन्न सक्छ भन्ने गतिलो उदाहरण हो ललितपुर महानगर । यही गति, निष्ठा, समपर्ण रहेमा ललितपुर मुलुककै सर्वोत्कृष्ट र सुरक्षित सहरको लिस्टमा पर्न सक्छ ।

Like