३० हजार क्याप्सुलसहित दुई भारतीय र एक नेपाली तस्कर रंगेहात पक्राउ

Share to:

रासंसा/काठमाण्डौं, आषाढ २,

मुलुकमा राजधानीको मुटुमा लागूऔषध तस्कर र प्रहरीबिच फिल्मी शैलीको भिडन्त भएको छ। लागूऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले ठुलो अपरेसन चलाउँदै तस्करहरू सवार कारको टायरमै गोली प्रहार गरेर आधा करोड बढी मूल्यको ३० हजार क्याप्सुल ‘ट्रामाडोल’ सहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
बाराको सिम्रौनगढबाट काठमाडौँतर्फ ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध भित्रिँदै छ भन्ने गोप्य सूचनाका आधारमा ब्युरोको कमाण्डो टोली फिल्डमा खटिएको थियो। ललितपुर महानगरपालिका–२३ गैरीगाउँ क्षेत्रमा निगरानी गरिरहेको प्रहरी टोलीले शङ्कास्पद बागमती प्रदेश ०१–०३० च ९२०१ नम्बरको सुजुकी कार र त्यसको एस्कर्टिङ गरिरहेको बा.५२ प.५४५७ नम्बरको मोटरसाइकललाई रोक्न खोजेको थियो।
ब्युरोका प्रमुख एसएसपी सुबास चन्द्र बोहराले कमाण्ड सम्हालेको एक सातामै तस्कर सञ्जालको ढाड सेक्ने गरी यो ठुलो र सफल ‘हाइ-भोल्टेज’ अपरेसन भएको हो।
तर, प्रहरीलाई देख्नासाथ तस्करहरूले गाडीको गति बढाएर प्रहरीलाई नै किच्ने प्रयास गर्दै फरार हुन खोजे। त्यसपछि आत्मरक्षा र अपराधी उम्किन नदिन प्रहरीले गुडिरहेको कारको पछाडिको दाहिने टायरमा ‘वान राउण्ड’ सिधै गोली प्रहार गर्‍यो। गोली लागेर टायर पड्किएपछि कार नियन्त्रणमा आयो।
नियन्त्रणमा लिइएको कारको डिक्की खानतलासी गर्दा प्रहरीले लुकाइछिपाइ राखिएको अवस्थामा ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको छ। घटनास्थलबाट कार, यामाहा एफजेड मोटरसाइकल र ५ थान मोबाइल समेत जफत गरिएको छ।
जितेन्द्र पासवान (३५ वर्ष) – बारा, सिम्रौनगढ नगरपालिका–३
अहमद लडुन (३२ वर्ष) – बिहार, सितामढी जिल्ला, भारत
महमद सहाम (३३ वर्ष) – बिहार, सितामढी जिल्ला, भारत
ब्युरो प्रमुख एसएसपी सुबास चन्द्र बोहराका अनुसार सीमा क्षेत्रदेखि राजधानीसम्म फैलिएको यो अन्तरदेशीय तस्करी सञ्जालमाथि थप कडा अनुसन्धान भइरहेको छ।

Like