सर्वोच्चको गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक फैसला
रासंसा/काठमाण्डौ, बैशाख ०५,
मुलुकमा सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलास थापा समूहलाई आधिकारिकता दिने निर्णय सदर गरेको हो । योसँगै सर्वोच्चले देउवा पक्षले दायर गरेको रिट खारेज गरिदिएको छ । निर्वाचन आयोगले गत फागुन २१ गते थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । निर्वाचन आयोग, नेपाली कांग्रेस पार्टी कार्यालय र सभापति गगन थापाले लिखित जवाफ पेस गरेपछि चैत २१ का लागि पेसी तोकिएको थियो । उक्त पेसी सरेर बिहीबारका लागि तय भएको थियो । बिहीबार सुनुवाइ नसकिएपछि यो रिटमा शुक्रबारका अन्तिम फैसला गर्ने तयारी भएको हो । २०८२ माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा भएको सुनुवाइले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोगसहितका विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।