आज विश्व क्षयरोग दिवस मनाइदै

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १०,

मुलुकमा हरेक वर्षको मार्च २४ अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप चाहिँ ट्यूब्रक्लोसीस अर्थात् Tuberculosis हो । क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र विभिन्न रोग र सङ्क्रमणका रूपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन जसको उपस्थिति प्राचीन समय बाटै आजसम्म भएको पाइन्छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ । प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गर्दछ । नेपालको क्षयरोगको तथ्याकं झन् भयावह छ, राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्याँ क्षयरोगले ग्रसित पाइएको छ । हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरू नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्सेनि मर्ने तथ्याकं पनि देखिन्छ । क्षयरोगीहरूको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्दछ । नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरू रहेका छन् । आज मेडिकल विज्ञान लगायत उपचार पद्धतिको यो उँचाइसम्म पुग्दा पनि विश्व जनसख्याँको एकतिहाई जनसख्याँ क्षयरोगको कीटाणुको सङ्क्रमण जोखिममा रहेको देखिन्छ । विकासोन्मुख देशहरूमा यो जोखिम दर त झन् बढेर ९० प्रतिशत सम्म रहेको पनि देखिन्छ । स्मरण रहोस् नेपालमा हुने क्षयरोग मध्य ७५ प्रतिशत बढी त फोक्सो कै क्षयरोग हुने र अन्य ग्रन्थि, पाठेघर, पेट, कलेजो, मिर्गौला, मस्तिष्क र हड्डी आदिका हुने गर्दछन् । ३ हप्ता या बढी देखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकस्मात् धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ्य चौकी गएर जँचाउन पर्दछ । क्षयरोग सर्न पनि सक्दछ भने शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा यो सङ्क्रमणले सहजै डेरा जमाउन सक्दछ । नेपाल सरकारले क्षयरोगको उपचार निःशुल्क गर्दछ भनेँ सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । गाउँघरमा क्षयरोग विरुद्ध जनचेतनाको अभाव अनि उपचार गर्न नआउने समस्या रहेको छ । आजको दिनले क्षयरोग विरुद्ध देशव्यापी जागरण ल्याउने र चेतना फैलाउने उद्देश्य पनि राख्दछ । ५ वर्ष मुनीको बच्चामा, भर्खरै क्षयरोग देखिएको मान्छेमा, कमजोर रोग प्रतिरोध क्षमता भएका मान्छेहरूमा, चुरोट रक्सी या लागु औषध सेवन गर्नेहरूमा र क्षयरोगको औषधीको डोज पूर्ण सेवन नगरेकाहरूमा यस सङ्क्रमण फेरि देखिन सकिन्छ । औषधीको नियमित सेवनले क्षयरोग निको हुन्छ तथापि क्षयरोग बाट जोगिनु जरुरी छ । रोग लाग्नु भन्दा लाग्न नदिनु नै विवेकी कार्य हो हैन र ? यस रोग विरुद्ध सबैजना सचेत बनौँ अनि स्वस्थ रहौँ । अन्तर्राष्ट्रिय क्षयरोग दिवसको शुभकामना ।

Like