आज फागु पुर्णिमा (तराइ होली), खण्डग्रास चन्द्र ग्रहण, विश्व वन्यजन्तु दिवस मनाइदै
रासंसा/काठमाण्डौ, फाल्गुण १९,
जोगिरा सररररर……..
कुन तालमे ढोलक नाचे कुन ताल मजीरा
कुन तालमे नटुवा नाचे कुन ताल नजारा
के बोलो सारारारारारारारारारारा
के बोलो सारारारारारारारारारारारा
फागु पुर्णिमा (तराइ होली)
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराईमा सुन्दर भू–भागहरू छन् । ठुला–ठुला घरदेखि स–साना झुपडीसम्म, स्फूर्ति फलेका खेतदेखि धानका बालासम्म अनि विभिन्न भाषा अनि संस्कृतिबिच तराई नेपालमा शोभायमान छ । खोलानाला अनि उब्जाऊ माटोले सिञ्चित यो भूभाग नेपालको अन्न भण्डार अनि पौरखीहरूको थलो हो, जहाँ मानो खाएर मुरी उब्जाइन्छ । काठमाडौँ लगायत देशका विभिन्न भू–भागमा रङ्गबाट रङ्ग मंगिएकाहरु आराम गरिरहेका होलान् । अझ भनौँ, नेपालको पहाडी, भित्री मधेस अनि मध्य पहाडी भेगमा रङ्गमा रमाउनेहरूले हिजो रङ्ग अनि उमङ्ग साटासाट गरिसके । अब पालो तराईको, अझ भनौँ मधेशको ।
जोगिरा सररररर……..
कुन तालमे ढोलक नाचे कुन ताल मजीरा
कुन तालमे नटुवा नाचे कुन ताल नजारा
के बोलो सारारारारारारारारारारा
के बोलो सारारारारारारारारारारारा
जोगीरा सारारारारााराररारारा, यो गीत अनि वाक्यांशले तराईको जीवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात् चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराई बासीले कुनै पनि शुभ कार्य या चाडबाड या समारोहको जनाउ गर्छन् । अनि यो होली या फागुमा जोगीराको चर्चा चल्छ । जोगी अर्थात् केही लिन दिनसँग वास्ता नभएको, सुख र दुःखको झेलमा नअल्झिएको अनि सम्पूर्ण रूपमा साधु जस्तो सांसारिक बन्धनबाट टाढिएको मानिस । जोगीरा, अर्थात् बिन्दास अनि निस्फिक्रीको मानिस । मजीरा अर्थात् आफूलाई जनाएको हो, फरक तालको नचाई तथापि एउटै समानता सरररररररररर भन्नाले मीठो नशाको रिँगटालाई व्यक्त गरिएको छ । ठ्याक्कै यकिन गरेर जोगीराको अर्थ निकाल्न गाह्रो छ, तथापि जोगीरा त्यो हो जो रङ्ग र भाँगको तालमा हूल बनाएर एक टोलबाट अर्को टोल, एक आफन्तकोबाट अर्कोमा अनि एउटा साथीकोबाट अर्को साथीको घरमा पुगी मालपुवा, नरिवल तथा अन्य सुख्खा बदाम, छोकडा खाएर एक आपसमा रङ्ग दलेर खुसीयाली साटासाट गरिन्छ । जोगीरा हुन आज केही मात्रामा भाँगको घोटा पिइन्छ । भाँगको नशाले सबैलाई जोगीरा बनाउँछ कि बनाउँदैन त्यो त दैव जानुन् । तर भाँग लगायत अन्य नशालु पदार्थको प्रयोग र चाडबाडको सन्दर्भलाई फरक रूपमा देख्न जरुरी छ ।
वास्तवमा अचेलको जस्तो कृत्रिम रङ्गहरू नभई कन होलीको वास्तविक खेलिने रङ्गहरूमा, पहेँलोका लागि केशर, रातोका लागि अबिर या लालगुलाल पनि भनिन्छ । चामलको पिठो, चन्दन लगायत अन्य प्राकृतिक रङ्गहरूको चलन थियो । सुस्तरी यी कुराहरूलाई बजारमा सहज उपलब्ध रङ्गहरूले विस्थापन गर्दै गएको हो । ल है लगाएको रङ्ग त भोलीसम्ममा उत्रेला, तर होलीको यो भाइचारा र उत्साहका साथै सकारात्मक सोच कहिल्यै नघटोस् । तराई, पहाड र हिमाललाई यसले जोडिरहोस् ।
झन्डै कुरा अन्तै मोडिएको । आउनुहोस् तराईकै ढोलकको तालमा गफिऔँ, पूर्वी तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विविध जातजातिहरू लगायत पश्चिमी भेगका नेपाली तराईबासीहरुसम्म आज यो रङ्गिन चाड मनाउँदै छन् । अझ होलीमा भक्त प्रह्लादलाई आगोमा जलाउन खोज्ने राक्षसनी होलीकालाई दहन गर्ने चलन छ । तराईमा गाई–गोरुको गोबरलाई सुकाएर आगोको दाउराका रूपमा प्रयोग गर्न गुइँठा बनाउने चलन छ । यस्ता गुइँठाहरूलाई खुल्ला ठाउँमा जम्मा गरेर अनि त्यसमा होलीकाको पुत्ला राखेर आगो बाली होलीका दहन गर्दै अन्यायमाथि न्यायको विजयको रूपमा विजय उत्सव मनाउने चलन पनि छ । अब हामी यस विशेष दिन तराईमा पारम्परिक नृत्यको जग सम्हाल्दै आएका नटुवा समुदायको प्रसङ्ग उल्लेख गर्न चाहन्छौँ । डोरीको खाटमा बसेका धोती कुर्ता लगाउनुभएको हजुरबुबाले सुनाउनुहुन्थ्यो । त्यो म आज याद गर्दै लेख्दै छु । उहिले तराईमा अचेलजस्तो मनोरञ्जनका साधन थिएनन् । रमाइलो गर्न सीमापारिबाट आर्केष्ट्रा ल्याइन्थ्यो अनि विभिन्न गीतहरूमा नाच्दै अर्केष्ट्राका सदस्यले मनोरञ्जन गराउँथे ।
फागु पूर्णेको दिन यसरी परिक्रमा सकिएर तिर्थालुहरु जनकपुरमा आइपुग्छन् । त्यसै दिन होली खेल्न नभ्याउने भएकाले अनि परिक्रमाका कारणले तिर्थालुहरु थाक्ने र सहर वासीहरू तिर्थालुहरुको सत्कारमा लाग्नुपर्ने भएकाले तराई होली फागु पूर्णेको भोलिपल्ट परेको हो । सुस्तरी यस्ता चलन घट्दो क्रममा भने रहेकै छन् । मिथिला भूमिमा भने धनुषा धामको कचुरीबाट डोला उठाएर जटही लगायत महोत्तरीको मठियानी, जलेश्वर, डाम्ही, धनौरा हुँदै कन्चनवन आएर होली मनाउने धेरै पुरानो चलन छ । यस्तो डोलीको तिर्थालु पदयात्रालाई परिक्रमा भनिन्छ । कन्चनवनमा सकिएको परिक्रमा यात्रीहरू जनकपुरमा आएर अन्तगृह घुमेपछि होलीको समापन गरिन्छ । यस्ता पदयात्रामा राम अनि सीताका कथा अनि भजन गाइन्छ । कन्चन वन राम खेले होली भन्दै गीत गाइन्छ, यो अर्थमा भगवान् राम पनि कन्चन वनमा होली खेल्न आएको जनविश्वास र किंवदन्ती छ । होलीको छनक यस दिनमा अभूतपूर्व रहन्छ ।
पश्चिम नेपाली तराईहरूमा भने माटोले होली खेल्ने चलन पनि छ । बहुतै सद्भावका साथ सूखा या भिजेको माटोको सुस्त लेप एक अर्कामा लगाएर होली प्रारम्भ गरिन्छ ।
आज तराई होली विशेषलाई बिट मारौँ । अर्को वर्ष फेरि तराईका परिवेश लिएर आउनेछौ ।
खण्डग्रास चन्द्र ग्रहण
चन्द्र ग्रहण एउटा चन्द्रमाको सामान्य बृत चक्र हो जहाँ सूर्य र चन्द्रको बिचमा पृथ्वी पर्न जान्छ । यस समयमा पृथ्वी, चन्द्र र सूर्यबिचको दूरी सबैभन्दा थोरै हुन्छ । यस क्रममा पृथ्वीको छाया चन्द्रमा देखिन्छ, चन्द्र नै प्रकाशको अभावमा र पृथ्वीको छायाले कालो देखिन्छ र यो नै चन्द्र ग्रहण हो । चन्द्र ग्रहणको सुतक काल सामान्यतया ग्रहण लाग्नु ९ घण्टा अगावै सुरु हुन्छ । यस पछि कुनै पनि शुभ कार्य नगर्न सल्लाह दिइएको पाइन्छ ।
वि.सं २०८२ साल फागुन १९ गते पूर्णिमाको दिन पर्न गएको चन्द्र ग्रहण र यस ग्रहणको विषयमा केही कुरा गरौँ । साँझ ०६ बजेर ०३ मिनेटबाट सुरु हुने यस ग्रहण ०७ बजेर ०२ मिनेट सम्म रहनेछ भने यस ग्रहणको मोक्ष २ बजेर ३८ मिनेटमा हुन्छ । एक घण्टा ०५ मिनेट यस ग्रहणको अवधि रहनेछ । ग्रहणको आंशिक छाया भएमा खण्डग्रास र पूर्ण छाया भएमा खग्रास चन्द्र ग्रहण भएको भनिन्छ ।
यस चन्द्र ग्रहणले अशान्ति र असहिष्णु तत्त्वहरूको नाश गरोस्, नेपालमा अमन चैन फैलियोस् । पूर्व मेची देखि पश्चिम महाकाली अनि विदेशमा रहनुभएका सबै नेपाली हृदयहरूमा शान्तिको शीतलता चन्द्रले प्रदान गरुन् ।
ग्रहण पश्चात् दानपूण्यका काम गर्ने, ग्रहण अवधिभर खानपिन नगर्ने, कीर्तन भजन गर्ने चलन सदियौँदेखि चलिआएको छ । ग्रहण पछि खोला या तीर्थस्थलमा स्नान गर्ने चलन पनि छ । सामान्यतया ग्रहणलाई नराम्रो रूपमा व्याख्या गरिएको पाइएता पनि यो प्रकृतिको एउटा सामान्य प्रक्रिया हो तथापि केही हदसम्म मानवको संवेग, व्यवहार र सामाजिक अन्तरक्रिया पद्धतिहरूमा असर पर्न सक्ने सनातन ठहर छ । राष्ट्रिय सङ्कट, सामाजिक पृष्ठभूमि आदि इत्यादिसँग ग्रहणलाई जोडेर हेर्ने चलन भएता पनि चन्द्र ग्रहणको असर केवल व्यक्तिगत पक्षमा मात्र रहेको बताइन्छ ।
विश्व वन्यजन्तु दिवस
विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि यस पृथ्वी साझा थलो हो, सबै प्राणी र बिरुवाहरूको सुरक्षा, संवर्द्धन अनि उपस्थिति मानवको दायित्व हो । चोरी सिकारी, पैठारी अनि तस्करहरूको सक्रियताले नेपालमा पनि धेरै जनावरहरू र बिरुवाहरूको विनाश भएको, हत्या भएको, नासिएको इतिहास छ । विश्व पर्यावरणको इकोसिस्टममा हरेक प्राणीहरूको आआफ्नै महत्त्व र योगदान छ तसर्थ सबै प्राणीहरूको सुरक्षा आजको आवश्यकता हो । मानव जीवनको दीर्घकालीन उपस्थितिका लागि पनि वन्यजन्तु र बिरुवाहरू सबैको रक्षा गर्न जरुरी छ । विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुखबिरुवाहरुका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षण संवर्द्धनका लागि हरेक वर्ष विश्व समुदायले मार्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउँदछ ।
संयुक्त राष्ट्रको सदस्य राष्ट्र थाइल्यान्डको पहलमा सन् २०१३ को एक सम्मेलनमा जङ्गली जनावर तथा बिरुवाको अन्तर्राष्ट्रिय व्यापार बारे बहस भएको थियो। यो बहसमा जङ्गली जनावर तथा बिरुवाहरूको अन्तर्राष्ट्रिय व्यापार विषयमा अनि संसारमा भएका ३५००० भन्दा बढी जनावर र बिरुवाको प्रजाति संरक्षणको लागि एउटा कदम मात्र भएको भनेर निर्णय लिइएको थियो।
अहिले CITES को अनुसार अन्तर्राष्ट्रिय व्यापारकै कारण लगभग ५००० प्रजातिका जनावरहरू र २९२०० प्रजातिका बोट बिरुवाहरू लोप हुने अवस्थामा छन् । यी जनावर र बिरुवाहरूलाई खतराको सीमामा पर्न नदिन र अन्तर्राष्ट्रिय व्यापारले धेरै हद सम्म नियन्त्रण गरेको पनि पाइन्छ । आजको दिन ती लोप हुन सक्ने प्रजातिहरूको नियन्त्रणमा CITES को उत्साहपूर्ण योगदानलाई सम्झना गर्नुपर्ने दिन हो।