ब्राउनसुगरसहित होस्टेल सञ्चालिका प्रहरी नियन्त्रणमा
रासंसा/काठमाण्डौ, फाल्गुण ५,
मुलुकमा लागुऔषधसहित एक होस्टेल सञ्चालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होस्टेलको आडमा लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ती महिलालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–३१, कात्यानी चोकस्थित न्यू कस्यप ब्याइज होस्टलकी सञ्चालिका ४५ वर्षीया मायाकुमारी देवी मिश्र पक्राउ परेकी हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले उनीउपर लागुऔषध कसुरमा अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरी वृत्त, बानेश्वरबाट खटिएको टोलीले मंगलबार साँझ होस्टेलमा छापा मार्ने क्रममा काउन्टरमा लागूऔषध फेला परेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ की मिश्रलाई नियन्त्रणमा लिइएको बताइन्छ । स्रोतका अनुसार होस्टेलमा ब्राउन सुगर भेटिएपछि प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको छ । हाल उनी बानेश्वर प्रहरीको हिरासतमा छिन् ।