एक्लो उडानमा कुलमान
रासंसा/काठमाण्डौ, माघ २३,
मुलुकमा निर्वाचनमा होमिएसँगै नेपाली राजनीतिमा वैकल्पिक शक्ति निर्माणको लहर तीव्र छ । पुराना दलहरूप्रतिको वितृष्णा र नयाँ अनुहारप्रतिको आशाबिच धेरै नयाँ शक्ति उदाउने र अस्ताउने क्रम चलिरहेको छ । कुलमान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको १२ दिनको एकता भंग गरेर आगामी फागुन २१ गतेको हुन लागेको चुनावी मैदानमा एक्लो उडानमा निस्किएका छन् । रास्वपासँगको छोटो र नाटकीय एकता प्रयासलाई दुर्घटनाको संज्ञा दिँदै उनी अहिले आफ्नो दल उज्यालो नेपाल पार्टीलाई पुनर्जीवित गराएर चुनावी मैदानमा होमिइएका छन् । नेपाली राजनीतिमा लामो समयदेखि एउटा स्थापित भाष्य छ । साना दलहरू ठुलामा मिसिनु वा विलय हुनु नियति हो । तर, लोडसेडिङको अँध्यारो चिरेर नागरिकको मन जितेका कुलमान घिसिङ यो भाष्यलाई चुनौती दिएका छन् । फागुन २१ को निर्वाचन प्रक्रिया सुरु भएर समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन गत पुस १४ गते रास्वपा र उज्यालोबिच एकताका लागि सहमतिपत्र हस्ताक्षर भएको थियो, तर एकता भएको १२ दिनमा पुस २६ गते एकता भंग भएको थियो । एकता भंग भएसँगै कुलमान उज्यालो नेपाल पार्टीको संरक्षकबाट अध्यक्ष बने । गत पुस १४ गते काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) लाई साक्षी राखेर जब रवि लामिछाने र कुलमान घिसिङबिच एकताको सहमति भयो । उक्त सहमतिलाई नेपाली राजनीतिका लागि वैकल्पिक शक्तिको महामिलन मानिएको थियो । तर त्यो उत्साह १२ दिनमै एकाएक सेलायो । नेपालमा लोकप्रिय देखिएका तीन अनुहार एकै ठाउँमा उभिनु पुराना राजनीतिक दलका लागि ठुलो सन्देश थियो । तर नेपालमा राजनीतिक एकता लामो समय टिक्दैन भन्ने उदाहरण थप पुष्टि गरेको छ । पार्टीको अध्यक्ष बनेसँगै कुलमानले काठमाडौँका मेयर बालेन्द्र साहलाई साक्षी राखेर रास्वपासँगको भएको एकता नभई दुर्घटना भएको अर्थ लगाएका थिए । उनले भनेका थिए, ‘एकता नभई, त्यो त दुर्घटना थियो,’
कुलमानको पार्टी रास्वपासँगको एकताले १२ दिने यता न उता भयो । अझ कुलमानकै भाषामा भन्दा उज्यालो नेपाल पार्टी १२ दिन कोमा पुग्यो । तर एकता भंगपछि कुलमानले पार्टीलाई १२ दिनको कोमाबाट ब्युँझाएर आफ्नो अस्तित्व र ‘चिम’ चुनाव चिह्न जोगाउन अहिले वैकल्पिक राजनीतिको कठिन तर स्वाभिमानी बाटोमा एक्लै अगाडि बढेका छन् । २०७५ फागुन ३ मा नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टीबिच एकता घोषणा गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाइएको थियो, तर नेकपा घोषणा भएको ३३ महिनापछि सर्वोच्चको फैसलाबाट एमाले र माओवादी पूर्ववत् अवस्थामै फर्कन बाध्य भएका थिए । नेकपा हुँदाको चाम भन्दा कम थिएन; कुलमान, रवि र बालेन मिल्दा । तर उक्त चाम १२ दिन पनि टिक्न सकेको थिएन । कुलमानले रास्वपा र उज्यालो पार्टीबिचको एकता कायम हुन नसकेपछि घिसिङले त्यो एकता प्रयास उज्यालोलाई रास्वपामा विलय गराउने एउटा धराप मात्र रहेको बताएका थिए । एकता भंगपछि निरन्तर कुलमानले सार्वजनिक कार्यक्रममा भन्ने गरेका छन्, ‘हाम्रो पार्टी गठन भएको केही समयमै हामी १२ दिनका लागि कोमामा गयौँ । एकताको नाममा हाम्रो अस्तित्व नै मेटाउने खेल भयो । हामीले आफ्नो पहिचान र एजेन्डालाई अरूको पोल्टोमा बुझाएर आत्मसमर्पण गर्न चाहेनौं, त्यसैले त्यो दुर्घटनाबाट पाठ सिक्दै हामी बाहिर निस्कियौं ।’ रास्वपाले उज्यालो नेपालका मागहरू पूरा गर्न नसकिने बताए पनि घिसिङको बुझाइ फरक छ । उनलाई लाग्यो रास्वपामा सम्मानजनक सहभागिताविनाको एकता केवल विघटन हो । पार्टीको नाम, झण्डा र चिम चुनाव चिह्नलाई नै धरापमा राखेर गरिने राजनीतिले देशमा परिवर्तन ल्याउन नसक्ने निष्कर्षमा उनी पुगे । कतिपयले यो निर्णयलाई राजनीतिक जोखिम मानेका छन्, तर घिसिङले यसलाई अस्तित्व रक्षाको लडाइँ भनेका छन् । यस घटनालाई कुलमान घिसिङले निकै गम्भीरतापूर्वक लिएका छन् । उनले चुनावी अभियान कार्यक्रमहरूमा १२ दिनलाई पार्टी कोमामा गएको समयको रूपमा व्याख्या गर्ने गरेका छन् । तर, उनले स्पष्ट शब्दमा भनेका छन्, ‘अब उज्यालो नेपाल पार्टी कसैसँग विलय हुँदैन । बरु अरू शक्तिहरू हामीसँग मिसिन आउन सक्छन् । यो पार्टीको नाम र चुनाव चिह्न चिम अब कहिल्यै कतै हराउन दिने छैनौँ ।’ ‘हाम्रो पार्टी गठन भएको तीन महिना पनि पुगेको छैन, तर बिचमा हामी १२ दिन कोमामा गयौँ । त्यो कोमाका कारण हामीलाई धेरै घाटा भयो, ‘घिसिङ गुनासो सुनिन्छन्, ‘हामीले एकता गरेर भूल गर्यौँ कि भन्ने आभास पनि भयो, तर अब हामी त्यो दुर्घटनाबाट तन्दुरुस्त भएर बाहिर आएका छौं ।’ रास्वपासँगको एकता भंग हुनु उज्यालो नेपालका लागि ठुलो धक्का थियो । कतिपयले यो धक्कापछि पार्टी उठ्न नसक्ने अनुमान पनि गरेका थिए, तर कुलमान घिसिङ हच्किएनन् । उनले आफ्ना नेता र कार्यकर्ताहरूलाई ग्राउन्डबाटै उठ्न निर्देशन दिए । पार्टीमा आएको यो संकटलाई उनले तन्दुरुस्तीको परीक्षाका रूपमा लिएर चुनावी मैदानमा छन् । पार्टी एकता भंग भएपछि करिब १५ केन्द्रीय सदस्य रास्वपामा नै समाहित भए । समानुपातिक सूचीमा परेकी रिमा विश्वकर्मालगायत नेताहरू रास्वपामा नै बसे । तर कुलमानले उज्यालो पार्टीलाई निर्वाचनमा १२१ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेर ठुला दललाई चुनौती दिइरहेका छन् । एकता भंग भएपछि पार्टी छिन्नभिन्न हुने अनुमानबिच कुलमानले थप आक्रामक रणनीति अपनाएका छन् । उज्यालो नेपाल पार्टीले अहिले प्रतिनिधि सभाका लागि देशभर १२१ स्थानमा उम्मेदवारी दिएको छ । घिसिङ आफैं काठमाडौँ–३ बाट चुनावी मैदानमा छन् भने केन्द्रीय सदस्य जितराम लामा भक्तपुर–२ बाट प्रतिस्पर्धा गर्दैछन् । उज्यालोले काठमाडौँ उपत्यकाका सबै क्षेत्रमा उम्मेदवारीी दिएको छ । उज्यालोले रास्वपासँग एकता गर्दा समानुपातिक सूची सँगै बुझाएको थियो । छुटै समानुपातिक सूची भने बुझाएको थिएन । तर पछि एकता हुन नसक्दा समानुपातिकमा उज्यालो छुट्यो । यसरी समानुपातिकतर्फ प्राविधिक जटिलता आएपछि कुलमानले राष्ट्रिय परिवर्तन पार्टीसँग सहकार्य गरेका छन् । सहकार्य गरेर उज्यालोको समानुपातिकतर्फ राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिह्न बासुरी लिएको छ, यसले पार्टी जतिसुकै दबाबमा भए पनि चुनावी प्रक्रियाबाट बाहिर नजाने र वैकल्पिक शक्तिको रूपमा आफूलाई स्थापित गराएरै छाड्ने दाउमा छ । नेता लामाले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार आउँदो फागुनको पहिलो साता काठमाडौँमा बृहत् चुनावी सभा आयोजना गर्ने तयारी भइरहेको बताए । उनले उक्त सभालाई केन्द्रित गरेर पार्टीले आफ्ना गतिविधिहरू अगाडि बढाएको छ । उज्यालोका नेता तथा भक्तपुर–२ का उम्मेदवार जितराम लामाले पार्टी अब आफ्नै ढंगले चुनावी अभियानमा अघि बढिरहेको बताएका छन् । अब एकताको विषयमा अल्झिएर बस्नुभन्दा पार्टीलाई सशक्त बनाएर बढेको उनले दाबी गरे । विगतमा रास्वपासँग एकता गरेर जानु नै गल्ती भएको स्वीकार गर्दै भने, ‘त्यहाँ जानु हुँदैनथ्यो, गइयो । जे भए पनि हामी बेलेमा मान्छे चिनेर फर्कियौँ, गल्ती त्यही थियो । अब त्यो विषयमा अल्झिने होइन, फटाफट अघि बढ्ने हो ।’ उनले विगतमा व्यक्ति र दललाई मत दिए पनि अब देशको समृद्धिका लागि सोच्ने बेला आएको बताएका छन् । उज्यालो नेपाललाई जेनजी आन्दोलनपछिको एउटा सच्चा नयाँ पार्टीको रूपमा चित्रण गर्दै उनले नयाँलाई विश्वास गर्न आग्रह गरिरहेका छन् । ‘हिजो अँध्यारो हटाएर उज्यालो ल्यायौँ, अब राजनीतिको अँध्यारो हटाउने पालो हो, ‘उनले भनेका छन् । आफ्नो पुरानो छविलाई राजनीतिसँग जोड्दै मतदाता रिझाउने प्रयासमा उनी छन् । काठमाडौँबाट सुरु भएको उज्यालो नेपालको लहर अहिले मधेस प्रदेशसम्म पुगेको छ । चुनावी अभियानको सिलसिलामा जनकपुरधाम पुगेका कुलमानले त्यहाँ आफ्ना स्पष्ट एजेन्डाहरू राखेका छन् । मधेसका मतदातासँग साक्षात्कार गर्दै उनले भनेका छन्, ‘हामी कसैलाई प्रधानमन्त्री बनाउन राजनीतिमा आएका होइनौँ । हामी आफैं देशको नेतृत्व गर्न र परिवर्तनको संवाहक बन्न आएका हौं ।’ चुनावी अभियानमा घिसिङले मधेसमा आफ्नो एजेन्डा स्थापित गर्ने प्रयास गरे । ‘हामी कसैलाई प्रधानमन्त्री बनाउन होइन, देशको नेतृत्व गर्न आएका हौं,’ उनले भने । उनले नयाँ भनिएका दलहरूले निर्वाचनमा गरिरहेको खर्चिलो तडकभडकप्रति पनि टिप्पणी गरेका छन् । निर्वाचन कम खर्चमा लड्नुपर्ने र मितव्ययी हुनुपर्नेमा उनको जोड छ । नयाँ पार्टीहरू पनि पुरानाकै सिको गर्दै अनावश्यक खर्च र प्रचारमा लाग्नु दुःखद भएको उनको ठहर छ । कुलमानका लागि यो निर्वाचन केवल हार–जितको विषय नभई वैकल्पिक शक्तिले आफ्नो स्वाभिमान कसरी जोगाउन सक्छ भन्ने दृष्टान्त देखिन्छ । कुलमान सांसद बन्ने दौडमा मात्र छैनन्, उनको लक्ष्य देशको कार्यकारी नेतृत्व नै हो । ‘हामी धेरै सिटमा प्रतिस्पर्धामा छौं र आगामी निर्वाचनपछि उज्यालो नेपालले देशको नेतृत्व गर्नेछ,’ उनले भनेका छन् । बालेन शाहको रोहबरमा भएको त्यो १२ दिने सहमति कुलमानका लागि एउटा राजनीतिक महँगो पाठ बन्यो । विलयको भयलाई त्यागेर उनले जुन बाटो रोजेका छन्, त्यो कठिन अवश्य छ । तर यसले उनी पद र सत्ताका लागि आफ्नो विचार र अस्तित्व सम्झौता गर्न तयार छैनन् भन्ने सन्देश दिएको छ । तर उनको यो दाबी महत्त्वाकांक्षी सुनिन्छ । देश दौडाहामा रहेका कुलमान र उनको पार्टीका लागि आगामी निर्वाचन केवल एउटा प्रतिस्पर्धा नभई आफ्नो अस्तित्व र सान्दर्भिकता पुष्टि गर्ने अग्निपरीक्षा पनि हो ।