राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीजी महाराज

Share to:

पुष्पराज खतिवडा/तनहुँ, पौष २२,

वैदिक सिद्धान्तमा आधारित आद्यजगद्गुरू श्री शंकराचार्यद्वारा प्रतिपादित जीवनदर्शनलाई अङ्गिकार गर्दै नारायणी निवास कनखल, हरिद्वारका पीठाधीश अनन्तश्री विभूषित स्वामी सत्यप्रकाशानन्द सरस्वती महाराजका सुयोग्य शिष्य श्री १००८ स्वामी परमानन्द सरस्वती महाराजले पश्चिम नेपालका विभिन्न लेकहरूमा कठोर तपश्चर्याद्वारा सिद्धि प्राप्त गरी आफ्ना गुरूको प्रेरणा र सहयोगमा नेपालका गुल्मी, बागलुङ, म्याग्दी, पर्वत लगायत करिब २० वटा जिल्लाहरुमा संन्यास आश्रम, संस्कृत गुरूकुल, आधुनिक विद्यालय, महाविद्यालय, पाटीपौवा, मठमन्दिर, स्वस्थ्य संस्था, सडक आदिको स्थापना, संरक्षण र विकासार्थ सामाजिक धनधान्यचलको सुरूवात गर्दै वैदिक यज्ञयगादिबाट समाजलाई आध्यात्मिक सन्देश दिई राष्ट्रविकास र पौरस्त्य वाङ्मयको श्रीवृद्धिका निमित्त आफ्नो जीवन समर्पण गर्नुभएको थियो ।
वि.सं २०२८ सालमा दिब्रुङ, गुल्मी र वि.सं २०३३ सालमा बागलुङ बिहुँ रामकोटमा स्वामीज्यूबाट स्थापित श्री परमानन्द वेदवेदाङ्ग विद्यालयबाट उत्पादित विद्यार्थीहरूले अहिले राष्ट्र तथा अन्तरराष्ट्रमा शैक्षिक, प्राशासनिक क्षेत्रका उच्चपदमा रहेर राष्ट्रसेवा एवं पौरस्त्य वाङ्मयको प्रचारप्रसार र संरक्षण संवर्धनमा खटिइरहेको विषय सर्वविदित नै छ । वि.सं २०३८ सालदेखि शिवशूलप्रसुता त्रिशूली गङ्गा र शालिग्राम गर्भा श्रीकृष्णगण्डकीको संगम स्थल, हरिहरक्षेत्र, आदिप्रयाग देवघाटधामको अध्यात्मिक एवं आधुनिक विकासार्थ चिन्तन गर्दै देवघाट आउनुभएका स्वामीज्यूले गलेश्वर आश्रमको पीठाधीश स्वीकार गर्दै आश्रम एवं समाजको सर्वाङ्गीण विकास गरेर उक्त आश्रम महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिलाई सुम्पिनुभयो भने पौरस्त्य वाङ्मयका विशिष्ट विद्वान् विश्वनाथ संस्कृत महाविद्यालय, वेदान्त विभागमा अध्यापनरत डा.स्वामी रामानन्द गिरिलाई दिल्लीबाट नेपाल ल्याई आफ्नै साथमा राखेर देवघाटमा महेश सन्न्यास आश्रमको स्थापना गर्न प्ररेणा गर्नुभयो ।
अर्कातर्फ वि.सं.२०४५ सालमा आफ्ना गुरू स्वामी सत्यप्रकाशानन्द सरस्वती महाराजका करकमलबाट शिलन्यास गराई वि.सं.२०५१ सालमा समुद्घाटन भएको श्रीहरिहर मन्दिर सबैको आकर्षणको केन्द्रविन्दु बन्यो । नेपालकै प्रमुख मन्दिरहरूमध्ये नमुनाको रूपमा रहेको यस मन्दिरमा राखिएका दिव्यमूर्तिहरुको दर्शनका निमित्त नेपाल, भारत एवं विभिन्न देशबाट श्रद्धालुहरुको आगमन हुन्छ । आध्यत्मिक चिन्तनबाट सामाजिक जागरण साथै वैदिक धर्मसंस्कृति र गुरूकुलीय संस्कृत शिक्षा संरक्षण संबर्धनका लागि आफ्नो तपोमय जीवन समर्पण गर्नुहुने आवाल ब्रह्मचारी त्यागतपोमूर्ति स्वामीज्यू महाराज वि.सं २०५३ साल माघ १८ गते ब्रह्मलीन हुनुभएको थियो । उहाँको बह्मलीनपछि उहाँका प्रमुख उत्तराधिकारी श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीज्यू महाराज श्रीहरिहर सन्न्यास आश्रम देवघाटधाम तनहुँको पीठाधीश हुनुहुन्छ छ । जो वर्तमानमा नेपाल सन्त समाजका अध्यक्षसमेत हुनुहुन्छ ।
राष्ट्रसन्त स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजको योगदानको कदरस्वरुप नेपाल सरकारले उहाँको तश्विर अङ्कित हुलाक टिकट प्रकाशितसमेत गरेको छ । राष्ट्रसन्त स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजकोपावन व्यक्तित्व र योगदानको सम्मान स्वरूप उहाँको तश्विर अङ्कित रु.१० दरको हुलाक टिकट प्रकाशित गरिएको छ ।
वेद, उपनिषद्, गीता र सनातन दर्शनको प्रचारप्रसार स्वामीज्यूले आफ्नो जीवन व्यतित गर्नुभयो। साधना, ध्यान र नैतिक जीवनको महत्त्वमा स्वामीजी सधैँ जोड दिनुहुन्थ्यो । राष्ट्रलाई केवल भौगोलिक एकाइ नभई संस्कृति, धर्म र चेतनाको एकताका रूपमा व्याख्या व्याख्या गर्नुहुन्थ्यो । राष्ट्रनिर्माणमा नैतिकता, संस्कार र आत्मबल आवश्यक हुने सन्देश प्रवाहित गर्ने स्वामीजीले गुरुकुल परम्परा, वैदिक शिक्षा र सनातन संस्कृतिको संरक्षणमा निरन्तर आवाज उठाउनुभयो । पाश्चात्य अन्धानुकरणभन्दा आत्मपरक विकासमा जोड दिनुभयो । भोगवादी जीवनशैलीको आलोचना एवम् संयम, सेवा, त्याग र कर्तव्यलाई जीवनमूल्यका रूपमा प्रस्तुत गर्नुभयो । राष्ट्रको वास्तविक शक्ति सेना वा धन होइन, चरित्रवान् नागरिक हुन् भन्ने विचार उहाँ राख्नुहुन्थ्यो।
स्वामी परमानन्द सरस्वतीजी महाराज सन्न्यासी भएर पनि शिक्षाप्रति उहाँको गहिरो लगाव थियो। उहाँले गुरुकुल, आधुनिक विद्यालय एवं महाविद्यालयहरूको स्थापनामा विशेष योगदान पुर्‍याउनुभएको छ। स्वामीजीले शिक्षाका क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई हर कोहीले मुक्तकण्ठले प्रशंसा गर्ने गर्छन् । उहाँले गुरुकुलको स्थापना मात्र होइन एउटा व्यक्तिलाई नैतिकवान, चरित्रवान, आदर्शवान र राष्ट्रभक्त कसरी बनाउन सकिन्छ भनेर चिन्तन पनि सधैं गर्नुहुन्थ्यो । राष्ट्रप्रति जागरूक एवम् आध्यात्मिक भएर पनि समाजसँग गहिरो रूपमा जोडिएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका विचार आज पनि वैदिक शिक्षा, राष्ट्र, संस्कृति र अध्यात्मको समन्वय खोज्नेहरूका लागि प्रेरणाका स्रोत बनेका छ्न् ।

Like