राष्ट्रपति पौडेलको भनाई युवा पुस्ताको सुशासन र विकासको चाहना पूरा गर्न ध्यान दिऔं

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २३,

मुलुकमा राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चार माध्यमहरुको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ । “नेपाली जनताको ठूलो बलिदानीले लोकतन्त्रको स्थापना भएको हो । यसको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माण गर्न सञ्चारमाध्यमको योगदान महत्वपूर्ण रहन्छ”, उहाँले भन्नुभयो । सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एन टिभी वर्ल्डकाे औपचारिक शुभारम्भ समारोहलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले सुशासन र लोकतन्त्रलाई अझ उन्नत बनाउन फागुन २१ को निर्वाचन सफल बनाउनुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सन्चारमाध्यम तथा सन्चारकर्मीहरूलाई आग्रह गर्दै भन्नुभयो, ‘‘सार्वजनिक सेवा प्रसारण सरकारी वा व्यावसायिक स्वार्थको सञ्चार संस्था होइन, यो नागरिकको संस्था हो, जसले सरकारको हस्तक्षेप र व्यावसायिक दबाबभन्दा माथि उठेर नागरिकको पक्षमा, राष्ट्रहितमा काम गर्नुपर्छ ।” उहाँले भन्नुभयो, “युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यमहरुले अझ प्रभावकारी ढङ्गले काम गर्नुपर्ने आजको आवश्यकता हो ।” स्वतन्त्र स्वायत्त संस्थाका रुपमा सार्वजनिक प्रसारण माध्यमको विकास भएको उहाँको भनाइ थियो । “त्यसैले, लोकतान्त्रिक मूल्य मान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरुप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्ने गरी सार्वजनिक सेवा प्रसारणका सम्बन्धमा विश्वले स्वीकारेका आधारभूत मान्यतालाई तपाईंहरूले आत्मसात् गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पैडेलले भन्नुभयो । “यस्तो परिप्रेक्ष्यमा, राष्ट्रको विश्वासिलो सञ्चार माध्यमका रूपमा सार्वजनिक सेवा प्रसारण अन्तर्गतका हाल सञ्चालनमा रहेका सबै माध्यमले जनता र राष्ट्रलाई केन्द्रमा राखेर विश्वसनीय, जिम्मेवारी र निष्पक्षताका साथ पत्रकारिताको मर्यादा र धर्म निर्वाह गर्ने नै छ”, उहाँले भन्नुभयो । सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो र सत्य–तथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य, जिम्मेवारी र दायित्व हो बताउँदै उहाँले पछिल्लो समय गलत सूचना, भ्रामक समाचार र अफवाह फैलिने क्रम बढ्दै गएको छ भन्ने चिन्ता व्यक्त हुँदै आएको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले इन्टरनेट र सूचना प्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तन उल्लेखनीय रहेको, सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम प्रविधिको विकाससँगै भित्रिएको र नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको अहिलेको अवस्थामा सहजै उपलब्ध प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व हो भन्नुभयो । “दुवै संस्थाको विरासतलाई जोगाउँदै नयाँ परिप्रेक्ष्यमा सार्वजनिक सेवा प्रसारणको उद्देश्य अनुरुप एउटै लयमा दुवै संस्थालाई अघि बढाउन पक्कै पनि चुनौती छ, हरेक चुनौतीले नयाँ अवसर बोकेको हुन्छ, तपाईंहरू सबै खाले चुनौतीलाई सहजरुपमा पार गर्न र नयाँ अवसर हासिल गर्न सफल हुनुहुनेछ र त्यसमा सरकारले पूर्ण सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।राज्यले स्थापना र सञ्चालन गरेका दुई अग्रणी प्रसारण संस्थाहरु रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्न भएको मेहनत र पहलको उहाँले प्रशंसा गर्नुभयो । सोही समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्ने बताउनुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो,“पिएसबीको नारा ‘जष्टिफाइ’ हुन जरुरी छ । यसले दिने ‘कन्टेन्ट’ बलियो हुनुपर्‍यो, कन्टेन्टमा नवीनता र सिर्जनशीलता झल्किनुपर्छ र प्रस्तुतिमा निखारपन आउनुपर्छ । पिएसबीको पहुँच जनतामा सहज र सरल रुपमा पुर्‍याइनुपर्छ ।” मन्त्री खरेलले पिएसबीमार्फत दिइने विषयवस्तु बलियो, प्रभावकारी र दिगो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले चुनौतीका बीच पिएसबीको सुखद सुरुवात भएको भन्दै यसको दिगोपना र कन्टेन्ट विविधतामा जोड दिनुभयो । सञ्चारमन्त्री खरेलले विदेशमा बसोवास गर्ने नेपाली तथा विदेशीहरुको नजरमा नेपालको पहिचान र गौरव झल्किने सामग्री समेट्न जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय आमसञ्चार माध्यमलाई टिक्न कठिन भएको, प्रविधि र जनशक्ति व्यवस्थापन गरेर व्यावसायिक बन्न विविध चुनौती थपिँदै आमसञ्चारको दिगोपना र व्यवसायीकरणका निम्ति सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा मात्रै नभई विश्वभर आमसञ्चार चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै पिएसबीलाई मोबाइल, ‘डिजिटल प्लेटफर्म’ मार्फत रेडियो र टिभीको दर्शक र श्रोता बढाउने गरी प्रसारण हुनुपर्नेमा जोड दिनुभयो । “हिजोको जस्तो भित्तामा टेलिभिजन राखेर चल्दैन । बदलिँदो समय र प्रविधि तथा उपकरण अनुरुप अब, सुधार गर्नेपर्छ । एनटिभीको पाँचवटै च्यानलमार्फत कसरी जनताको विश्वास जित्ने, लाइक भिवरसिप बढाउनुपर्छ । निजी क्षेत्रसँग प्रतिस्पर्धी पनि हुनुपर्छ ।”, सञ्चारमन्त्री खरेलले भन्नुभयो ।

Like