अध्यक्षका लागि ५ जनाको दाबेदारी, तर उमेरहदको डर
रासंसा/काठमाण्डौ, बैशाख ३०,
मुलुकमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु आफ्नो २४ औँ राष्ट्रिय महाधिवेशनमा जुटेको छ । यो पटकको महाधिवेशनमा नेतृत्वका लागि उमेरहद लागु गर्नुपर्ने विषय जोडदार रूपमा उठिरहेको छ । नेविसंघ, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनहरूमा उमेरहद छ । तर अनेरास्ववियुमा अहिलेसम्म छैन । पटक–पटक उमेरहद लागु हुनुपर्ने नेता तथा विद्यार्थी पंक्तिबाटै कुरा उठिरहेको छ । आगामी जेठ २५ गतेदेखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि विधान संशोधन मस्यौदा उपसमिति, प्रचार प्रसार उपसमिति, प्रतिनिधि छनोटलगायत कामका लागि गठन गरिएका उपसमितिहरूले गृहकार्य गरिरहेका छन् । उपाध्यक्ष नारायण घर्तीले महाधिवेशनका लागि ५/६ वटा उपसमिति बनाएर काम गरिरहेकाले भव्य बनाउन सम्पूर्ण पंक्ति खटिरहेको बताए । यस पटक संगठनको नयाँ नेतृत्वका लागि आकांक्षी धेरै देखिएका छन् । जसमा हालका चारै जना उपाध्यक्षहरू नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरी तथा महासचिव नरेश रोकाया छन् । रोचक कुरा के छ भने, उमेरहद लागु भए यीमध्ये कोही पनि उम्मेदवार बन्न पाउने छैनन् । अनेरास्ववियुमा ३० कि ३२ वर्षे उमेरहद लगाउने भन्ने विषयमा चर्चा चलिरहेको छ । संगठन र माउ पार्टी नेकपा एमालेभित्र यसप्रति मत बाँडिएको छ । एकथरीले अन्तिम पटकका लागि उमेरहद लागु हुन नहुने बताउँदै आएका छन् भने अर्काथरीले अन्य संगठनमा लागु भइसक्दा सुरु गरिहाल्नुपर्ने जिकिर गरिरहेका छन् । ३२ वर्षे उमेरहद लागु नभए चार उपाध्यक्ष र महासचिवसहित ५ जनाको दाबेदारी रहनेछ ।