काठमाडौंको वायु गुणस्तर खस्कियो
रासंसा/काठमाण्डौ, चैत्र २६,
मुलुकमा काठमाडौं उपत्यका सोमबार विश्वकै ‘प्रदूषित’ सहर बनेको छ । वायु प्रदूषण हुने सहरमध्ये पहिलो नम्बरमा काठमाडौं उपत्यका देखिएको छ । वायुको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार विश्वका १ सय २४ सहरमध्ये काठमाडौं सोमबार साँझसम्म पनि खराब वायुको सूचीको पहिलो नम्बरमा छ । प्रदूषण बढेसँगै हामीले सास फेर्ने हावामा प्रदूषणका मसिना कण बढ्दै जान थालेका छन् । जसले गर्दा बालबालिकादेखि वृद्ध नागरिकमा दम, श्वासप्रश्वासमा समस्या देखिन थालेको छ । डढेलो, सवारीसाधन, इँटाभट्टा तथा औद्योगिक क्षेत्रबाट उत्पन्न हुने प्रदूषणका मसिना कणले देशका मुख्य सहरलाई छोप्न थालेको छ । काठमाडौंमा एक सातादेखि वायुको गुणस्तर खस्कँदै जान थालेको छ । वायु प्रदूषण बढ्दै जान थालेपछि अस्पतालमा श्वासप्रश्वासका बिरामी बढिरहेका छन् । प्रदूषण बढ्नुको मुख्य कारण यातायातका साधनबाट निस्कने धुवाँ, सडकमा उड्ने धुवाँ तथा धूलो र डढेलोलगायत हुन् । सडक बाटो समयमै मर्मत नहुँदा पनि प्रदूषणको मात्रा बढाउँछ । उपत्यका आसपासमा सञ्चालित इँटा उद्योगका कारण पनि प्रदूषण बढ्दै गएको छ । काठमाडौंको वायुको गुणस्तर मापदण्ड साँझ ५ः३० बजेसम्ममा (एक्यूआई) २ सय ६२ छ । त्यस्तै, दोस्रोमा भियतनाम छ, जसको एक्यूआई १ सय ९३ छ भने तेस्रो सूचीमा चीनको हुवान सहर बनेको छ, जसको एक्यूआई १ सय ३५ रहेको छ । साथै, चौथो नम्बरमा भारतको दिल्ली देखिएको छ, जसको १ सय २४ एक्यूआई रहेको छ । धुवाँधूलोका कारण कतिपय दीर्घरोगी त भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेको चिकित्सकहरू बताउँछन् । पाटन अस्पतालका चिकित्सकका अनुसार पछिल्ला दिनमा श्वासप्रश्वाससँग सम्बन्धित बिरामी अत्यधिक बढेका छन् । बहिरंग सेवामा दैनिक सेवा लिन आउने बिरामीमध्ये आधाभन्दा बढी वायु प्रदूषणबाट निम्तिएको समस्याले अस्पताल पुग्ने गरेका छन् । प्रदूषण बढेकाले उपत्यकामा जोरबिजोर प्रणाली लागू गरी सवारीसाधन चलाउन सरकारलाई सुझाव दिइएको उनको भनाइ छ । ‘जसले केही मात्रामा भने पनि वायु प्रदूषण कम गर्न सहयोग पुग्छ,’ शर्माले भने । ४ वर्षअघि पनि काठमाडौंको वायु प्रदूषण खतरनाक तहमा पुगेको थियो । २०७७ चैतमा वायु प्रदूषण खतरनाक तहमा पुगेपछि सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । त्यतिबेला काठमाडौंको वायुको गुणस्तर ४ सय ७० एक्यूआई पुगेको थियो । अहिले पनि ४ वर्षअघिकै हाराहारीमा वायुको गुणस्तर खस्कँदो अवस्थामा छ । तर, सरकारले काठमाडौंबाट उत्पन्न हुने वायु प्रदूषण नियन्त्रणमा तदारुकता नदेखाएको विज्ञहरूको भनाइ छ । कचौरा आकारमा बसेको राजधानीबाट राम्रोसँग बाहिर हावा प्रवाह हुन नपाउँदा प्रदूषित हावा यहीँ जम्न पुग्छ, जसले जनस्वास्थ्यमा गम्भीर असर पार्ने गरेको छ । पाकिस्तान र दक्षिण भारतबाट बगेर आउने प्रदूषित हावा काठमाडौं उपत्यकामा जम्मा हुने र सवारीसाधनबाट निस्कने प्रदूषणले वायु प्रदूषण बढाउन मद्दत पुगिरहेको वातावरणविद् सुमन शर्मा बताउँछन् । सवारीसाधन, इँटाभट्टाबाट निस्कने धुवाँ र धूलोका कणले समेत प्रदूषण भइरहेको उनले बताए । ‘काठमाडौं मात्रै होइन, देशभर नै वायु प्रदूषण बढेको छ, तीव्र वेगमा हावा नचली र पानी नपरी आकाशमा जम्मा भएको धूलो र धुवाँ बाहिर निस्किन पाउँदैन,’ शर्माले भने, ‘केही दिनसम्म यस्तै धुम्म रहिरहन्छ ।’ यसअघि पनि काठमाडौंको वायु प्रदूषणको विषयलाई लिएर चिन्ता नभएको होइन । तर, सरकारले जुन संवेदनशीलता देखाउनुपर्ने हो, त्यो देखाउन नसकेको विज्ञहरू बताउँछन् । २ वर्षअघि मात्रै काठमाडौंको हावा कतिको प्रदूषित छ भनेर जाँच गर्नका लागि गत वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं रामशाहपथमा सबैले देख्ने गरेर एउटा कृत्रिम फोक्सो राखेको थियो । रामशाहपथ भएर हिँड्ने जो सुकैले देखून् भन्ने उद्देश्यले कृत्रिम फोक्सो राखियो । त्यस फोक्सो ‘हाई–इफिसेन्सी पार्टिक्यलट एअर’ (एचईपीए) फिल्टरबाट बनेको थियो । एचईपीए फिल्टर भनेको विभिन्न तह भएको हावा छान्ने यान्त्रिक फिल्टर हो । वातावरण विभागका अनुसार सोमबार काठमाडौंका शंखपार्क र रत्नपार्क, ललितपुरका खुमलटार र भैंसेपाटी तथा भक्तपुर उच्च प्रदूषित छन् । उपत्यकाबाहिर दाङको देउखुरी र मुगुको रारा, कैलालीको धनगढी र इलाम पनि उच्च प्रदूषित छन् । एक्यूआईको मान शून्य हुँदा वायु स्वच्छ रहेको बुझ्नुपर्छ भने ५ सय हुँदा त्यसले जनस्वास्थ्यमा तत्काल खतरा हुने संकेत गर्छ । वायुको गुणस्तर (एक्यूआई) ५० भन्दा कम भएमा स्वस्थकर मानिन्छ । त्यस्तै, ५१ देखि १०० एक्यूआईलाई मध्यम मानिन्छ । साथै, १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ । १५१ देखि २०० सम्म एक्यूआई अस्वस्थकर मानिन्छ । २०१ देखि ३०० निकै अस्वस्थर मानिन्छ भने ३०० एक्यूआईभन्दा माथिलाई खतरनाक रूपमा लिने गरिएको छ । हाल नेपालको एक्यूआई २ सय ५२ रहेकाले निकै अस्वस्थकर वायुका रूपमा लिइएको छ ।सो कृत्रिम फोक्सोले जसरी मानिसको फोक्सोले धूलो, परागकण, ढुसी, वायुमा प्रसारित हुने शूनय दशमलव ३ माइक्रोन आकारको कण छान्न सक्छ त्यसरी नै छान्न सक्नेगरी बनाइएको थियो । त्यसरी कृत्रिम बनाएर राखिएको सो फोक्सो १५ दिन पुग्दा नपुग्दै कालोमा परिणत भयो । सो कृत्रिम फोक्सो हेरेर विज्ञहरूले त्यतिबेला निकै चिन्ता व्यक्त गरेका थिए । काठमाडौंको मुटुमा रहेको रामशाहपथमा १५ दिनको अवधिमा जसरी फोक्सोले हावा छान्न नसक्ने अवस्थामा पुग्नुले उपत्यकामा हिँड्ने मानिसको फोक्सोले कुन अवस्थाको सामना गरिरहेको रहेछ भन्ने देखाउन विज्ञहरूको भनाइ छ । वायु प्रदूषण नियन्त्रणका नाममा उठेको पैसा कहाँ भइरहेछ खर्च ? सरकारले आर्थिक वर्ष २०६५–०६६ देखि पेट्रोल तथा डिजेलबाट प्रदूषण नियन्त्रणका लागि भन्दै बर्सेनि प्रदूषण कर उठाउँदै आइरहेको छ । १८ वर्षदेखि पेट्रोल र डिजेल बिक्री गरेबापत प्रतिलिटरमा ५० पैसाका दरले प्रदूषण शुल्क उठाइरहेको छ । सरकारले हालसम्म उपभोक्ताबाट २५ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ असुल गरिसकेको छ । यो बजेट कहाँ जान्छ र कसरी खर्च हुन्छ ? स्वयं सरकार नै बेखबरजस्तो देखिन्छ । सुरुका दिनमा पेट्रोल र डिजेलको ५० पैसाका दरले कर उठाउन थालियो । पछि आव २०७४–७५ मा यस्तो शुल्क प्रतिलिटर १–१ रुपैयाँका दरले उठाउन थालियो । चार वर्षयता प्रतिलिटर १ रुपैयाँ ५० पैसाका दरले उठाइँदै आएको छ । सोबापत हालसम्म २५ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ संकलन भएको छ । प्रदूषण नियन्त्रणका लागि वातावरण संरक्षण ऐन, २०७६ ले व्यवस्था गरेअनुसार वातावरण संरक्षण, प्रदूषणको रोकथाम तथा नियन्त्रण, जलवायु परिवर्तन व्यवस्थापनका लागि बेग्लै वातावरण संरक्षण कोष रहेको तर त्यसलाई खर्च गर्ने प्रभावकारी संयन्त्र बनेको छैन । सर्वोच्च अदालतले २०६१ सालमा यसका लागि छुट्टै कोषको स्थापना गर्न निर्देशन दिएको थियो । सोही अनुरूप पैसा जम्मा गरिए पनि सो रकम खर्च भने भएको छैन ।
कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, अमोनिया, सल्फर डाइअक्साइड, सिसा आदि वायु प्रदूषणका मुख्य कारणहरू हुन् ।
वायु प्रदूषणका कारण स्वास्थ्यमा हुने असरहरू
– मुटु तथा रक्तनलीसम्बन्धी रोग हुने जोखिमलाई बढाउँछ ।
– श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग दमको रोग
– दीर्घ श्वासप्रश्वास अवरोध रोग
– फोक्सोको क्यान्सरको जोखिमलाई बढाउँछ
– मस्तिष्कघात हुने जोखिमलाई बढाउँछ
– आँखा, नाक र घाँटीको संक्रमणको जोखिम बढाउँछ
– कम तौल भएको बच्चा जन्मने
– अवधि नपुग्दै बच्चा जन्मने आदि
वायु प्रदूषणका कारणहरू के–के हुन् ?
– धूलो
– कलकारखानाबाट निस्कने धुवाँ
– धुवाँ निकाल्ने साधनहरू
– वनजंगलमा लाग्ने डढेलो
– काठ, इन्धन वा फोहोर तथा प्लास्टिक बालेर निस्कने धुवाँ
– धूमपानको धुवाँ आदिबाट निस्कने ग्यासहरू