आज नेपाल नर्सिङ दिवस मनाइदै
रासंसा/काठमाण्डौ, माघ १५,
मुलुकमा सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरू बोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारिका नर्स । नर्स भन्नासाथ अस्पतालको याद आउँछ अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आउँछ । वि सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो र यसै उपलक्ष्यमा ततपश्चात हरेक वर्ष माघ १५ गते यस दिवस मनाइन्छ ।बाहिर विश्वयुद्धको अग्नि दनदनी बलिरहेको थियो, मान्छेहरू दिनहुँ हताहत र घाइते भइरहेका थिए, सानो टुकी बालेर फ्लोरेन्स नाईटएगंल घाइतेहरूको सेवामा हरपल तत्पर थिइन् । गएको शताब्दीमा संसारभरिका मान्छेहरूले अत्यन्त महत्त्व दिएर आदरणीय रूपमा हेरेको नर्सहरूको बारेमा कुरा गरौँ । नर्सिङको इतिहास नेपालमा खासै पुरानो भने छैन तर अहिलेको परिपक्ष्यमा नर्सहरूको महत्त्व अनि विकास धेरै भइरहेको छ । नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा वीर अस्पतालको स्थापना पछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्न सक्ने ब्यत्तिहरु मात्रै थिए, वीर अस्पतालको इतिहास पल्टाउँदा उति वेला ड्रेसिङ लगायत अन्य उपचारहरू कम्पाउन्डर या डाक्टर स्वले गर्ने गर्दथे । नर्सिङ को नेपाली इतिहास विसं २०१३ वाट सुरु भएको देखिन्छ जब केही गृहणीहरु लगायतका नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङ को तालिम लिएका थिए, राणा शासनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्योपचार अनि नर्सिङ को महत्त्व चाल पाएर नेपालमा नर्सिङ को सुरुवात भएको विश्वास गरिन्छ, राणा शासन को क्रममा चारजना नेपाली चेलीहरू विधावती कंसकार, राधा देवी मालाकार, धर्मदेवी कंसकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली महिलाहरू भारतमा ४ वर्ष ९ महिने लामो नर्सिङ कोर्स गरेर आउने चलन बढेको पाईन्छ । आज गल्ली पिच्छेका अस्पताल अनि क्लिनिकहरूमा नर्सहरूको उपस्थिति बाक्लै देख्न सकिन्छ, सहर सहरमा नर्सिङ कलेजहरू खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नर्सिङ प्रतिको आकर्षण बढ्दै गइरहेको छ । सुरुसुरुमा नर्सिङलाई दुख् लाग्दो व्यवसाय, रात्रिकालीन ड्युटी पर्ने, बिरामी अनि घाउ रगतसँग काम गर्न पर्ने भन्ने रूपमा उति राम्रो रूपमा नहेरे पनि आजको नेपाली समाजमा नर्सहरूको उपस्थिति अनि चित्रण बडो गज्जबरुपमा गरिएको छ । नर्सिङ को अचम्मको कुरा के छ भनेँ यो व्यवसायमा पुरुषहरू नगण्य मात्रामा छन्, केही समय अघि केही नर्सिङ कलेजहरूले पुरुषहरूलाई पनि नर्सिङ तालिम दिएकोमा पछि गएर पुरुषहरू यस व्यवसायमा उत्ति आकर्षित नभएको पाइन्छ । शायद माया, स्नेह अनि ममतामयी यो व्यवसायमा महिलाको मधुर उपस्थिती नै अत्युत्तम लागेको हुनसक्छ । बिरामी हामी मध्य जोकोही पनि पर्न सक्छौ, मनोवैज्ञानिक रूपमा पनि उपचारका क्रममा ममता अनि सकारात्मक सोचका साथ आसलाग्दो व्यक्तित्वहरूको उपस्थिति र सहयोगले छिटै निको हुने देखाउँदछ, हामी सबैलाई नर्सहरूबाट अझै धेरै सद्भाव र आशाको अपेक्षा छ ।