खो खो विश्वकपमा नेपालका दुवै टोली फाइनलमा

Share to:

रासंसा/काठमाण्डौ,माघ ५,

भारतको नयाँदिल्लीमा आयोजना भएको खो खो विश्वकपमा नेपालको पुरूष तथा महिला टोली फाइनल प्रवेश गरेको छ। उद्घाटन खेलमै भारतसँग पराजित भएपनि त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह ‘ए’को उपविजेताका रुपमा बन्दै क्वार्टरफाइनलमा पुगेको थियो। पहिलो खेलमा भारतसँग ४२-३७ ले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४, तेस्रो खेलमा ब्राजिललाई १३४-८ र चौथो खेलमा भुटानलाई ९८-८ ले पराजित गरेको थियो। क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई ६७-१८ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो। शनिबार भएको सेमिफाइनलमा जित निकाल्दै दुवै टोलीले फाइनलमा स्थान बनाएका हुन्। नेपालको पुरुष टोलीले सेमिफाइनलमा इरानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको खेलमा नेपालले इरानलाई ७२-२० अंकले पराजित गरेको हो। नेपालले उपाधिका लागि घरेलु टोली भारत र दक्षिण अफ्रिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यसैगरी शनिबार नै भएको महिलातर्फको सेमिफाइनलमा युगान्डालाई ८९-१८ अंकले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। महिलातर्फ पनि नेपालले उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। नेपालले समूह चरणमा भुटानलाई ८३-३४, जर्मनीलाई ७३-३४, श्रीलंकालाई ११०-१० र बंगलादेशलाई ८३-२४ ले पाखा लगाउँदै अन्तिम आठमा स्थान बनाएको थियो। यस्तै क्वार्टरफाइनलमा इरानलाई १०३-८ अंकले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। नेपाल कुनै पनि खेलको विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो। त्यसमा पनि एकै विश्वकपमा महिला र पुरुष टोली फाइनलमा पुग्दै नेपालले इतिहास रचेको छ। महिला टोलीले विश्वकपमा अपराजित रहँदै फाइनलमा स्थान बनाएर इतिहास बनाएको छ। विश्वकपमा पुरुषमा २० र महिलामा १९ टोली सहभागी छन्।

Like