‘मैले कसैलाई ठगी गरेको छैन’ काठमाडौंमा रवि लामिछानेको बयान
रासंसा/काठमाण्डौ, पौष २९,
मुलुकमा संगठित रूपमा ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आइतबार दिनभरि बयान लिएपछि अन्त्यमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको रोहमा उनलाई सोधिएको थियो– अरू केही भन्नु छ ? स्वर्णलक्ष्मी सहकारीको १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७ रुपैयाँ संगठित रूपमा अपचलन गरेको भन्दै लामिछानेलगायत ३९ विरुद्ध जिल्ला अदालत काठमाडौंमा गत पुस २१ गते मुद्दा दायर भएको थियो । बयानका क्रममा उक्त अभियोगपत्र उनलाई पढेर सुनाइएको थियो । र, त्यस लगत्तै सोधिएको थियो, ‘सो जाहेरी व्यहोरा के कसो हो ? खुलाइदिनुहोस् ?’ जवाफमा लामिछानेले संक्षिप्त उत्तर दिए– ‘मैले कसैलाई ठगी गरेको छैन, निर्दोष छु, सफाइ पाऊँ ।’ जवाफमा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधले मुद्दा दायर गरेको भन्दै आफूविरुद्ध झूटा अभियोग लगाएको बताएका थिए ।