कांग्रेसको भनाई सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य जारी गर्नेलाई कारबाही गर्नू
रासंसा/काठमाण्डौ, पौष २९,
मुलुकमा नेपाली कांग्रेसले गठबन्धनको सरकारका बारेमा सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले गम्भीर ध्यानाकर्षण जारी गर्दै नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य बनाएको प्रति आपत्ति जनाएका हुन्। कांग्रेसले नक्कली विज्ञप्ति बनाउने र गैरकानूनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ। कांग्रेसले भनेको छ, ‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सीत मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’ ‘हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानूनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ । साथै, यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा नेपाली कांग्रेस अनुरोध गर्दछ।’
आइतबार नेपाली कांग्रेसले २०७८ साल बैशाखमा जारी गरेको प्रेस वक्तव्यलाई आजको मिति राखेर फेक प्रचार भइरहेको छ।