७ प्रतिवादीसहित रिहा भएका रविलाई परिवारको जिम्मा लगाइयो
मिनबहादुर कुँवर/कास्की, पौष २५,
मुलुकमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार लामिछानेसहित ७ जना प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएसँगै उनी रिहा भएका हुन् । योसँगै करिब ८४ दिन कास्की प्रहरी हिरासतमा रहेका लामिछाने थुनामुक्त भए । हाल अदालत उपस्थित गराइएका ७ प्रतिवादीमध्ये लीला पछाईको हकमा माग गरिएको ३७ लाख धरौटी बुझाउन बाँकी छ । लामिछाने, जोशी र खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका हुन् । धरौटी बुझाएकाहरू बिहीबार नै हिरासतमुक्त भएका छन् । काठमाडौंको स्वर्णलक्ष्मीलगायत सहकारीमा समेत प्रतिवादी बनाइएका लामिछाने कास्कीबाट थुनामुक्त भए पनि काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ । त्यहाँ लामिछानेसमेतका प्रतिवादीविरुद्ध १ अर्ब १९ करोड ४८ लाख बिगो मागदाबी गर्दै गत साता मुद्दा दायर भएको थियो । न्यायाधीश नीतिज राईको इजलासले प्रतिवादीहरूमध्ये लामिछानेसँग ६५ लाख, पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख, लीला पछाईसँग ३७ लाख, रामबहादुर खनालसँग १५ लाख, आरती गुरुङसँग ५ लाख, मीना गुरुङसँग ५ लाख र कृष्णबहादुर गुरुङसँग १ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश गरेको हो । स्रेस्तेदार राजन खनालले फरक–फरक कसुरमा प्रतिवादीहरूलाई पनि फरकफरक धरौटी माग गरिएको जानकारी दिए । उनले भने, ‘यो थुनछेक आदेश मात्र हो । मुद्दा टुंगिएको होइन । अदालतले अब मुद्दा अघि बढाउँदा प्रमाण बुझ्ने तथा साक्षीहरूको बकपत्रलगायत काम गर्नेछ । आदेशमा चित्त नबुझे सरकारी पक्षलाई पुनः पुनरावेदन गर्न पाउने हकदैया हुने कानुनी व्यवस्था छ ।’ पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाएर कास्की अदालतमा अभियोगपत्र दायर भएको थियो । गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएकामा उनीहरूविरुद्ध यस वर्ष गत ५ पुसमा जिल्ला सरकारी वकिल कार्यालयले थप अभियोगपत्र लगेको हो । त्यस्तै, ७ पुसमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी जोशीसमेत थप ४४ जनालाई प्रतिवादी बनाएर पूरक अभियोगपत्र जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा दायर गरेको थियो । अभियोगपत्रमा ती प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो मागदाबी गरिएको छ । कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा लामिछानेसमेतलाई सहकारी ठगी प्रकरणमा विभिन्न जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै बयानका लागि रूपन्देही, चितवन, काठमाडौं र पर्सा जिल्ला लगिएको थियो । लामिछानेलाई सहकारीको रकम अपचलन तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौं वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याइएको थियो । त्यसअघि ८ असोजमा छविलाल जोशी पक्राउ परेका हुन् । अनुसन्धान गर्दै जाँदा लामिछानेसमेत जोशी, सहकारीका संस्थापक जीबी राई, रामबहादुर खनाल र लीला पछाईविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दासमेत लगाइएको थियो । गत ४ कात्तिकमा पहिलोपल्ट कास्की जिल्ला अदालतले पक्राउको दिनदेखि लागू हुने गरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएकामा पटकपटक गरी आठौंपल्टसम्म लामिछानेलाई म्याद थप गरेको थियो । अन्तिमपल्ट गत २ पुसमा आठौंपल्ट म्याद थप गर्दा थप ४ दिन हिरासतमा राख्ने अनुमति अदालतले दिएको थियो । ५ पुस र ७ पुसमा क्रमशः थप र पूरक अभियोगपत्र दायर भएको हो । ८ पुसदेखि प्रतिवादीहरूको बयान, सरकारी वकिलको बहस, प्रतिवादीहरूको तर्फबाट वकिलको बहस, सरकारी वकिलको जवाफी बहससँगै अन्ततः बिहीबार थुनछेक आदेश भएको हो । रवि लामिछानेका सम्बन्धमा आदेशमा भनिएको छ, ‘…सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको तथा अन्य प्रतिवादीहरूसँग देखिएको अन्तरसम्बन्ध र बैंक खाताको ट्रान्जेक्सनसमेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरूबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिए पनि तत्काल प्राप्त माथि उल्लिखित प्रमाणहरूबाट प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको धरौटी ६५ लाख नगदै वा सोबराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्नू र नदिए वा दिन नसकेमा दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय कास्कीमा पठाइदिनू ।’ अदालतबाट रविसमेतको पक्षमा आदेश भएपछि रास्वपाका कार्यकर्ता तथा रवि समर्थितहरूले जयजयकार गर्दै अदालतको आदेशको सम्मान गरेका थिए । उनीहरूले ‘रवि दाइ हाईहाई’, ‘न्यायाधीश नीतिज राई हाईहाई’, ‘सत्यको जित भयो’ लगायत नाराबाजी गरेका थिए । रास्वपाका पदाधिकारी तथा केन्द्रीय नेता एवं सांसदहरू पनि पोखरामा छन् । लामिछाने गोर्खा मिडियामा प्रबन्ध निर्देशक भए पनि सो संस्थामा कहाँबाट कसरी रकम आएको थियो भन्ने विषयमा जीबी राईलाई नै थाहा भएको, सो कम्पनीसँग गरेको सम्झौताअनुसार वित्तीय कारोबारका ’bout जानकारी लिने दायित्व नरहेको, चेकमा हस्ताक्षर गर्ने मात्र गरेको, सूर्यदर्शन सहकारीबाट कुनै कर्जा नलिएको भनी बयान गरेको उल्लेख छ । निज लामिछानेको एकल हस्ताक्षरबाट गोर्खा मिडिया कम्पनीको ८ सय १४ वटा चेकको कारोबार भएको देखिएको, निज गोर्खा मिडिया कम्पनीको आधिकारिक व्यक्ति हुनुभन्दा अघि र सो कम्पनीबाट अलग भएपश्चात् पनि केही चेकहरूमा हस्ताक्षर गरेको देखिएको र प्रबन्ध निर्देशकजस्तो जिम्मेवार पदमा रही चेकमा हस्ताक्षर गर्ने हैसियतसमेत राखेको व्यक्ति रहेको देखिएको, सूर्यदर्शन सहकारीको नाममा सञ्चालन गरेको साविक मेगा बैंकको खाताबाट भएको कारोबार विवरणअनुसार सन् २०२१।१।१८ मा गितेन्द्रबाबु राईको स्ट्याडर्ड चार्टर्ड बैंकको खातामा २ करोड जम्मा भएकामा सोही रकममध्ये सन् २०२१।१।२१ मा चेकबाट रवि लामिछानेको नाममा रहेको ग्लोबल आईएमईको खातामा ७५ लाखको चेकमार्फत जम्मा भई लामिछानेले उक्त रकम गोर्खा मिडिया नेटवर्कको नाममा सञ्चालन गरेको ग्लोबल आईएमई बैंकको खातामा सन् २०२१।१।२२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम उनको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्य भएको देखिएकाले तत्काललाई उनी कसुरदार रहेनछन् भन्न नमिल्ने अदालतको ठहर छ । लामिछानेलाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको तथा रूपन्देही, चितवन र पर्सामा उनीविरुद्ध दर्ता भएको उजुरीमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसकारण लामिछाने एउटा अदालतबाट रिहा भए पनि अर्को जिल्लाको अदालतको आदेशमा पक्राउ पर्नेछन् । गत ७ पुसमा ४४ जना प्रतिवादी बनाई दायर मुद्दामा सूर्यदर्शन सहकारीको रकम अपचलनका मुख्य अभियुक्त जीबी राई, लामिछानेसहित ५० जना व्यक्ति र ८ कम्पनी तथा थप ५ जनाबाट सम्पत्ति जफत गर्नुपर्ने रायसहित मुद्दा दायर गरिएको थियो । उनीहरूविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा बिगो माग गरिएकामा हिनामिना एवं अपचलन भएको बिगोमध्ये मूल अभियोगपत्रमा खुलाइएको १ हजार ३५ जना बचतकर्ताहरूको जम्मा बिगो १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ १७ पैसा छ । यस्तै, थप अभियोग दाबीमा जम्मा १२१ बचतकर्ताहरूको थप बिगो ३ करोड ३३ लाख ९५ हजार ३ सय ४९ रुपैयाँ १७ पैसा छ । जसअनुसार कुल बिगो सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) (घ) बमोजिम पीडित जाहेरवालालाई दिलाईभराई बाँकी बिगो सूर्यदर्शन बचत तथा ऋण सहरकारी संस्था लिमिटेडमा भराइदिन अभियोगपत्रमा माग गरिएको छ । सहकारी ठगीमा ३१ जना, संगठित अपराधमा १९ जना र सम्पत्ति शुद्धीकरणमा ५ जनालाई प्रतिवादी बनाइएको थियो । प्रतिवादीमध्ये मुख्य अभियुक्त जीबीसहित अझै ३४ फरार छन् । अर्का प्रतिवादी छविलाल जोशीको सम्बन्धमा आदेशमा भनिएको छ, ‘…सहकारीको रकम निज प्रतिवादीको कार्यमार्फत हस्तान्तरण भएको देखिनुका साथै निजको अन्य प्रतिवादीहरूसँग देखिएको अन्तरसम्बन्ध र बैंक खाताको ट्रान्ज्याक्सनसमेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरूबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिब आधार नदेखिएको र तत्काल प्राप्त माथि उल्लिखित प्रमाणहरूबाट प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादी छविलाल जोशीबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको धरौटी ८८ लाख नगदै वा सोबराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्नू र नदिए वा दिन नसकेमा दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय कास्कीमा पठाइदिनू ।’ अरू प्रतिवादीहरूको हकमा पनि कसुरको मात्राअनुसार त्यस्तै धरौटी माग गरिएको छ । सहकारी ठगी आरोपमा जीबी राई, रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, दीपेशकुमार पुन, नेत्रपाणि बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लीला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाटलाई प्रतिवादी बनाइएको छ । यस्तै, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मीना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लीलाबहादुर गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रीतु ताम्राकार र लक्ष्मीप्रसाद पौडेल प्रतिवादी हुन् । ८ संस्थाहरूमा गोर्खा मिडिया नेटवर्क, नेचर हब्र्स इन्टरनेसनल प्रालि, नेचर नेस्ट प्रालि, जीबी ग्रुप अफ कम्पनीज प्रालि, गोर्खा ग्रुप मल्टी इन्भेस्टमेन्ट प्रालि, मन्दरा स्पा एन्ड वेलनेस सेन्टर प्रालि, स्प्रिङउड रियल स्टेट एन्ड हाउजिङ प्रालि र नेपाल श्री मल्टी मिडिया प्रालि छन् । कुमार रम्तेल, कैलाशकुमार दर्लामी, अनुज नकर्मी, शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल, प्रमोद भट्टराई, धीरजकुमार दास, हेमन्त अधिकारी, सहकारीका अध्यक्ष थानबहादुर बुढामगर, भूपेन्द्र राई, आइश्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका, सृष्टि मानन्धर, बुद्धि गुरुङ, सुरज श्रेष्ठ पनि प्रतिवादी हुन् । लामिछानेपत्नी नीकिता पौडेल, लीला पछाई र उनकी आमा राधा पछाई तथा जोशीकी पत्नी पद्मा जोशी र छोरा रोचकको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी छ ।