अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान अघि बढ्यो

Share to:

मिनबहादुर/कास्की, पौष २०,

मुलुकमा आफ्नै गाउँमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटिइभिटीए) स्थापना हुने भएपछि गाउँलेहरु निकै खुसी थिए । जग्गा उपलब्ध गराउन गाउँको आधारभूत स्कुल नै अन्त्यै सारियो । वर्ष बित्दै गयो तर अहँ काम थालनी भएन । गाउँलेहरु निराश बन्दै गएका थिए । अन्ततः झण्डै ५ वर्षको पर्खाइपछि गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको भौतिक संरचना निर्माणको थालनी भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी भन्छन्, ‘हामीलाई त गाउँपालिकावासीले सोधेको सोध्यै गर्नुहुन्थ्यो कहिले बन्छ प्राविधिक शिक्षालय ? पहल भइराखेकोले हामीहरुले पनि ठ्याक्कै भन्न सकेका थिएनौं । तर प्रतीक्षाको घडी समाप्त भएको छ । अब जग हालियो । काम अघि बढ्छ ।’ शुक्रबार गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित समारोहमा गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासमा गण्डकी प्रदेश सरकार र कोरिया इन्टरनेशनल को–अपरेसन एजेन्सी (कोइका) बीच सहयोग सम्झौता भयो । शुक्रबार नै फेदीखोला गाउँपालिका वडा १, गुर्धुममा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवन शिलान्याससमेत भयो । प्रतिष्ठानको पूर्वाधार निर्माण र विभिन्न विधामा शैक्षिक कार्यक्रमका लागि ९० लाख अमेरिका डलर अर्थात् १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी खर्च गर्नेगरी गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइकाका नेपालस्थित कन्ट्री डाइरेक्टर मुहेन कङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । समारोहमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमेतको उपस्थिति थियो । सम्झौताबमोजिम कोरियाली सरकारमार्फत कोइकाले यो परियोजना सन् २०२५ बाट सुरु भई पाँच वर्षसम्म सञ्चालन हुने छ । यो परियोजना कोइका र जिटिइभिटीएले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन् । शुक्रबार नै फेदीखोला गाउँपालिका वडा १, गुर्धुममा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवन शिलान्याससमेत भयो । मुख्यमन्त्री पाण्डेले फेदीखोला–१ मा निर्माण गरिने प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, गण्डकी प्रदेशसभाका सदस्य सुधीरकुमार पौडेल, पञ्चराम गुरुङ, सीताकुमारी सुन्दास, कोइकाका नेपालस्थित कन्ट्री डाइरेक्टर मुहेन कङ, फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीलगायत उपस्थित थिए । यो परियोजनाको मुख्य उद्देश्य २१औं शताब्दीको घरेलु तथा अन्तर्राष्ट्रिय आवश्यकतालाई पूरा गर्न सक्षम जनशक्ति उत्पादन गर्नु रहेको छ । परियोजनाले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम नीति र १५औं राष्ट्रिय योजनासँग समन्वय गर्दै निर्माण क्षेत्रको आवश्यकता पूरा गर्न र रोजगारको अवसर बढाउन सहयोग पु¥याउने जनाइएको छ । प्रदेशका निम्ति आवश्यक आफ्नै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित शुक्रबार शिलानयास भएको प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवन आगामी सन् २०२६ को अगस्तसम्म सम्पन्न हुने लक्ष्य छ । जसको लागत ३ करोड ५५ लाख १९ हजार १ सय ९१ रुपैयाँ (भ्याटसहित) छ । निर्माणको जिम्मा आरुषी कन्स्ट्रक्सन, पोखराले पाएको छ । कोइकाले ४ हजार ५ सय ३० वर्गमिटरको प्राविधिक शिक्षालय भवन निर्माण गर्ने योजना बनाएको छ । जसमा कक्षाकोठा, कार्यशाला, छात्रावास (महिला छात्राका लागि) लगायतका आवश्यक उपकरण, फर्निचर, र शैक्षिक सामग्री हुनेछन् । साथै, कोइकाले प्राविधिक शिक्षालयको मास्टर प्लान, स्थानीय आवश्यकता अनुरूप छोटो समय तालिम, सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको सहकार्य विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग प्रदान गर्नेछ । कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर कङले उक्त परियोजनाले युवा, महिला र सिमान्तकृत व्यक्तिहरूलाई गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्न अवसर प्रदान गर्ने बताए । तिनीहरूलाई आजको तीव्र रूपमा विकास भइरहेको रोजगारी बजारमा अघि बढ्न आवश्यक सीपले सुसज्जित गर्ने उनको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गरे । उनले यो परियोजनाले नेपाललाई आर्थिक समृद्धि हासिल गर्न आवश्यक दक्ष र सक्षम जनशक्ति उत्पादन गर्नेमा विश्वास व्यक्त गरे । उनले परियोजनाको सफलताको कामना गरे । सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले यो परियोजनाले देशभित्र दक्ष र सक्षम जनशक्ति उत्पादन गर्न सहयोग गर्ने बताए । उनले नेपाल सरकारलाई लगातार सहयोग गरेकोमा कोइकाप्रति धन्यवाद व्यक्त गरे । २२ रोपनीमा फैलिएको गाउँको शिवालय आधारभूत विद्यालयलाई २०७७ सालमा वडा १, कै सर्केटारीमा सारिएको थियो । त्यसबेला २० जनामात्र विद्यार्थी थिए । हाल उक्त विद्यालय माविस्तरमा सञ्चालित छ । प्रतिष्ठानलाई जग्गा उपलब्ध गराउन गाउँपालिकाका कार्यकापालिका बैठकले निर्णय गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले स्मरण गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले अटोमोबाइल, इलेक्ट्रिोनिक्स, टुरिजज्म एण्ड हस्पिटालिटी क्षेत्रमा अध्ययन अध्यापन हुने बताए । त्यसका लागि पाठ्यक्रम निर्माण तयारी भइरहेको बताए । यसबाट गण्डकी प्रदेशका लागि आवश्यक प्राविधिक दक्ष जनशक्ति यहीबाट उत्पादन हुने उनको विश्वास छ । प्रतिष्ठानका लागि यहाँ कुल १ सय ६० रोपनी जग्गा प्रदेश सरकारको नाममा ल्याइएको छ । गाउँमा प्रतिष्ठान बन्ने खुसीयालीमा पोखराबाट गएका मुख्यमन्त्रीसहित अतिथिहरुलाई फूलमालाले स्वागत गरेका थिए ।

Like