दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित
रासंसा/दैलेख, मार्ग १७,
मुलुकमा दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको यो पालिकाको अध्यक्षमा उपनिर्वाचन हुँदा एमाले जित हात पारेको हो । एमालेबाट निर्वाचित भएका शाही यसअघि एकीकृत समाजवादीको केन्द्रीय सदस्य एवं दैलेख जिल्ला अध्यक्ष थिए । उनी उपनिर्वाचनअघि मात्रै एमालेमा फर्किएर टिकट पाएका हुन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट सोही पालिकामा अध्यक्ष जितेका उनी पाटी विभाजनपछि एकीकृत समाजवादीतिरमा लागेका थिए २०७९ को स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाटै अध्यक्ष पदमा निर्वाचन लडेका उनी २२६८ मत ल्याएर तेस्रो भएका थिए । एमालेका शाही ३१२७ मत ल्याएर विजयी भएका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का प्रकाशकुमार बुढाले ११२ मत मात्रै पाए । नेपाल मजदुर किसान पाटीका दुर्ग बहादुर मगरले ५३, राष्ट्रिय प्रजातन्त्र पाटीका सुर्जे रावतले ४७ मत पाए । यहाँ नेकपा एकीकृत समाजवादीका जगत बहादुर हमालले आफ्नो उम्मेदवारी निस्कृय पारेर नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेका थिए । उनलाई पनि चार मत परेको छ । त्यसबेला नेपाली काँग्रेसका लछुमन गुरुङ २९७९ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनको निधनपछि यो पालिकामा अध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो । अघिल्लो निर्वाचनमा यहाँ एमालेका हरिप्रसाद उपाध्यायले २५१९ प्राप्त गरेका थिए ।