दुर्गा प्रसाईंका समर्थकको आन्दोलन आजै, सत्तारुढ दल एमालेको पनि काठमाण्डौमा आज शक्ति प्रदर्शन
रासंसा/काठमाण्डौ, मार्ग ०७,
मुलुकमा सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शनसहितको जागरण सभा गर्दैछ। सरकार नेतृत्वकर्ता दल एमालेले अराजकताका विरुद्ध सडकमा सभा गर्न लागेको हो। सभामा एमालेले १ लाख कार्यकर्ता उतार्ने दाबी गरेको छ। जनप्रदर्शनमा उपत्यकाका तीनवटै जिल्लाबाट कार्यकर्तालाई सभास्थलमा ल्याउन हरेक जनवर्गीय संगठनलाई उर्दी जारि गरिएको छ। तीन जिल्लाबाट आएका कार्यकर्ता साढे ११ बजे भद्रकालीमा भेला भएर सभास्थल दरबारमार्ग पुग्ने एमालेले जनाएको छ। ट्राफिक व्यवस्थापनलाई असहज नहुने गरि दरबारमार्गमा सभा गर्न लागिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। उनका अनुसार यसअघि भृकुटीमण्डमा तय गरिएको कार्यक्रम सबैको सुझाव अनुसार सर्वसाधारणको आवागमनलाई सहज बनाउनकै लागि दरबारमार्गमा सारिएको हो। जागरण सभा नाम दिइएपनि एमालेले प्रतिपक्षीदललाई दबाबमा राख्न सडकमा उत्रने तयारी गरेको देखिन्छ। पछिल्लो समय एमाले र उसको नेतृत्वविरुद्ध आलोचना बढ्न थालेपछि काठमाडौंमा उसले जनप्रदर्शन गर्न लागेको हो। सभालाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोख्रेलले सम्वोधन गर्नेछन्। काम गर्न नसकेको भन्दै सरकारको आलोचना बढ्न थालेपछि सरकारको नेतृत्वकर्ता दल स्वयम् सडकमा ओर्लिएको छ। सरकार अफ्ठ्यारोमा परेको महशुस गरेको एमाले आफ्नो बचाउमा सडकबाट शक्ति देखाउन खोजेको कतिपयको बुझाई छ। यता,माइतीघरमा सहकारी ठगीका पीडितहरुको आन्दोलन पनि जारी रहने बताइएको छ। ठगीमा संलग्नमाथि कारवाही गरेर रकम फिर्ता पाउनुपर्ने मागसहित उनीहरु निरन्तर प्रदर्शनमा छन्। तीन अलग अलग स्थानमा आज हुने प्रदर्शनले काठमाडौंको यातायात आवागमन भने अस्तव्यस्त हुने देखिन्छ। प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भने शान्ति र सुरक्षा कायम राख्न सुरक्षा प्रबन्ध मिलाइएको बताउँछन्। यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले पनि आज कोटेश्वरमा प्रदर्शन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर लगानी गरेको आरोप लगाएपछि प्रसाईं भने प्रहरी नियन्त्रणमा छन्। उनी प्रहरी हिरासतमा पुगेपनि उनका समर्थकले कार्यक्रम गर्ने बताएका छन्। प्रसाईंका समर्थकहरु राष्ट्र, धर्म र नागरिक बचाउ भन्ने नाराका साथ सडकमा आउने तयारीमा छन्।