छ वर्षयताकै उच्च अलैंचीको मूल्य, प्रतिमन १ लाख ७ हजार रूपैयाँमा कारोबार
रासंसा/पाँचथर, मार्ग ०३,
मुलुकमा कोशी प्रदेशका पहाडी जिल्लाका किसानको मुख्य नगदे बाली अलैंची सोमबार छ वर्ष यता उच्च मूल्यमा किनबेच भइरहेको छ । विगत वर्षहरूमा किसानले बेचिसकेपछि मात्रै मूल्य बढ्ने गरेकोमा यो वर्ष सिजनको सुरू देखि नै आशाजनक रूपमा भाउ बढ्न थालेको थियो । सोमबार झापाको बिर्तामोडमा अलैंची १ लाख ७ हजार तथा पाँचथरको फिदिममा १ लाख ६ हजार रूपैयाँ प्रतिमन विक्री भइरहेको अलैंची व्यसायी संघले जनाएको छ । यो वर्ष सिजनको सुरूआतमा ८० हजार रूपैयाँ मूल्य पाएको अलैंची क्रमशः बढ्दो क्रममा रहेको फिदिमका अलैंची व्यवसायी खेम अधिकारीले बताए । अधिकारीका अनुसार एकदिनअघि आइतबार १ लाख ३ हजार रूपैयाँमा किनबेच भएको अलैंची सोमबार एकैदिन प्रतिमन चार हजारले बढेर १ लाख ७ हजार पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा माग सँगै मूल्य पनि दैनिकजसो वृद्धि भइरहेको उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय बजारमा माग राम्रो हुनु, उत्पादन कम हुनु आदि अलैंचीको मूल्य बढ्ने सूचक हुन्, विगतका वर्षहरूमा फागुन चैतदेखि मात्रै अलैंचीको मूल्य बढ्ने गरेकोमा यो वर्ष सुरु सिजनमै बढ्न थालेकाले किसानले नै प्रतिफल पाएका छन्,’अधिकारीले भने । त्यसअघि २०६७ सालमा अलैंचीले इतिहासमै धेरै मूल्य पाएको थियो । त्यसबेला प्रतिमन १ लाख २० हजार रूपैयाँमा किनबेच भएको अलैंची व्यवसायी संघले जनाएको छ । यसअघि २०७५ सालमा १ लाख ५ हजार रूपैयाँ प्रतिमन विक्री भएको अलैंचीले त्यसपछिका छ वर्षको उच्च मूल्य पाएको व्यवसायीहरू बताउँछन् । यो विगत वर्षको तुलनामा निकै कम हो । साउनबाट उत्पादन सुरू हुने अलैंची मंसिरको पहिलो साता टिपेर प्रशोधन पश्चात विक्री गर्ने चलन छ । नेपालका ४२ वटा पहाडी जिल्लाहरूमा अलैंची उत्पादन हुन्छ । कोशी प्रदेशका १४ जिल्लामध्ये पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, खोटाङ, भोजपुर र तेह्रथुमका किसानको प्रमुख नगदे बाली अलैंची नै हो । पहाडका किसानहरूको मुख्य आम्दानीको स्रोत अलैंचीलाई रैथाने भाषामा खोल्साको सुन भन्ने गरिएको छ । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार कोशी प्रदेशमा आर्थिक वर्ष ०७९/०८० मा सात हजार सात सय ६३.८७ मेट्रिक टन अलैंची उत्पादन भएको थियो । आर्थिक वर्ष ०८०/०८१ मा घटेर सात हजार पाँच सय ८२.०२ मेट्रिक टन उत्पादन भयो । यो वर्षको तथ्यांक आउन बाँकी छ । यद्यपी करिब २० प्रतिशतले अलैंची उत्पादनमा ह्रास आएको किसानहरू बताउँछन् । पहाडी जिल्लामा उत्पादित अलैंची झापाको काँकडभिट्टा नाका भएर भारत हुँदै तेस्रो मुलुकसम्म पुग्छ । मेची भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष२०८१/०८२ को पहिलो त्रैमासिकमा सात सय ८३.७५ मेट्रिक टन अलैंची निर्यात भएको छ ।