कृषिमा प्रयोग हुने विषादीले क्यान्सर निम्त्याउदै
रासंसा/काठमाण्डौ, कार्तिक २७,
मुलुकमा अचेल बालीनालीमा विषादीको प्रयोग बढ्दै गएको छ । विषादी प्रयोग गर्नाले बालीनालीका कीरा तथा रोग निर्मुल हुने र बालीनाली सप्रिने कारण यसको प्रयोग बढ्दो छ । तर यसको प्रयोगले मानव जीवनलाई भने हानी पुर्याइरहेको हुन्छ । बालीनालीमा हालिने विषादी खानेकुरा, श्वासप्रश्वास, छाला लगायत विभिन्न माध्यमबाट मानिसको शरीरमा पुगिरहेको हुन्छ । यसको तत्कालै ठुलो असर नदेखिए पनि कालान्तरमा गम्भीर समस्या निम्त्याउने चिकित्सकहरू बताउँछन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत डा. कृष्णसागर शर्माले तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी क्यान्सरको कारण हुन सक्ने बताएका छन् । उनले क्यान्सर गराउने विभिन्न कारणमध्ये विषादी पनि एक कारण हुन सक्ने रातोपाटीसँग कुराकानीका क्रममा बताएका हुन् । ‘हामीले सन्तुलित खाना भन्छौँ । त्यसमा यो विषय पर्छ,’ उनले भने, ‘विषादी प्रयोग भएका खानालाई सन्तुलित खानामा लिइँदैन । यसमा अर्ग्यानिक खानामात्रै पर्छ ।’ क्यान्सर रोगका कारण प्रत्येक दिन ४० जना नेपालीको मृत्यु हुने गरेको छ । यसमध्ये दैनिक १२ देखि १४ जना खानपानकै कारण क्यान्सर भएर मृत्यु हुने गरेको विज्ञहरू बताउँछन् । यसमा कृषि उत्पादनमा विषादीको प्रयोगको कारणले हुने क्यान्सर उत्तिकै रहेको चिकित्सकले बताएका छन् । जनस्वास्थ्यविद् डा. शरद वन्तले नेपालमा विभिन्न रोग बढ्दै जानु विषादीकै असर हो कि भनेर अनुमान लगाउने बताएका छन् । किड्नी फेलियर, मिर्गौलासम्बन्धी रोगहरूमा पनि विषादीको असर हुन सक्ने उनले रातोपाटीलाई बताए । ‘नेपालमा अहिले किड्नी फेलियरको संख्या बढेको पाइएको छ,’ उनले भने, ‘त्यसकारण यी रोगमा विषादीको असर छ कि भनेर अध्ययन हुनुपर्छ ।’ डा. वन्तले विषादीयुक्त खाद्यपदार्थ सेवनले दीर्घकालीन असर पार्ने, तर ‘फुड पोइजनिङ’ हुँदा तत्काल असर देखिने बताए । ‘कुनै विषादीको असर लामो समयपछि देखिन्छ, लामो समयसम्म विषादीयुक्त खाद्यपदार्थ सेवन गरियो भने असर बिस्तारै देखिन सक्छ,’ उनले भने, ‘यस कारण हामीले विषादीबारे सतर्कता अपनाउँदैनौँ, तुरुन्तै असर देखिने भए हामीले सतर्कता अपनाउने थियौँ होला ।’ विषादीका कारणले क्यान्सर, रगतसम्बन्धी रोग हुनसक्ने डा. वन्तले बताए । यसका साथै नसा, छाला र श्वासप्रश्वाससँग सम्बन्धित रोग समेत हुन सक्ने उल्लेख गरे । ‘विषादीका बहुआयामिक असर छन्,’ उनी भन्छन्, ‘विषादीको असर लामो समय पर्दा वंशाणुगत रोग बन्ने खतरा रहन्छ अर्थात् अर्को पुस्तालाई समेत प्रभाव पार्ने हुन्छ ।’ विषादीका कारणले क्यान्सर, रगतसम्बन्धी रोग हुनसक्ने जनस्वास्थ्यविद् डा. शरद वन्तले बताए । यसका साथै नसा, छाला र श्वासप्रश्वाससँग सम्बन्धित रोग समेत हुन सक्ने उल्लेख गरे । ‘विषादीका बहुआयामिक असर छन्,’ उनी भन्छन्, ‘विषादीको असर लामो समय पर्दा वंशाणुगत रोग बन्ने खतरा रहन्छ अर्थात् अर्को पुस्तालाई समेत प्रभाव पार्ने हुन्छ ।’ नेपालले विषादीको असरबारे आफैँले अध्ययन गर्न नसके पनि बाहिरी मुलुकमा भइरहेको अध्ययनका आधारमा सतर्कता अपनाउनु पर्ने उनले सुझाए । आफूले उपभोग गर्ने उत्पादनभन्दा व्यावसायिक कृषि उपजमा बढी विषादी प्रयोग हुने गरेको पाइन्छ । कृषक तथा कृषि अभियन्ता उद्धव अधिकारीले विषादीको विकल्प रोगको निदान भन्दा रोग लाग्न नदिने उपाय अपनाउनु पर्ने सुझाउँछन् । यसको लागि माटो स्वस्थ राख्नुपर्ने अधिकारीको भनाइ छ । ‘माटोको पीएच हेर्नु पर्यो, भाइरसजन्य रोग लागेको टिप्ने, प्राङगारिक विधिबाट त्यसलाई व्यवस्थापन गर्ने,’ उनी भन्छन्, ‘राति आउने खालका कीरा छन् भने लाइट ट्यापहरू राख्न, दिउँसो देखिने खुम्रेलगायत किरालाई टिप्ने मार्ने गर्नुपर्छ । यस्ता विकल्प धेरै छन् । ’ आर्थिक वर्ष २०७५/७६ मा ८ लाख ९ हजार ९३ केजी विषादीको आयातबाट ९५ करोड ६१ लाख ४९ हजार रुपैयाँ बाहिरिएको छ । २०७६/ ७७ मा ६ लाख ८१ हजार ६ सय २७ केजीको विषादी आयात गर्दा ७९ करोड ३८ लाख ३ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ७ लाख ८३ हजार ३४३ केजी विषादी आयात गर्दा १ अर्ब ६ करोड १८ लाख २३ हजार रुपैयाँ बाहिरिएको सरकारी तथ्याङ्क छ । महालेखा परीक्षक कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ ले नेपालमा पाँच वर्षमा विषादी आयात र पञ्जीकरण बढेको देखाएको छ । पछिल्लो पाँच वर्षमा विषादी पञ्जीकरणको संख्या ८६.८३ र आयातको परिमाण ४६.३ प्रतिशतले बढेको छ । यसरी विषादी आयात र पञ्जीकरणमा वृद्धि हुनु भनेको विषादीको प्रयोग बढ्नु हो । महालेखा परीक्षक कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा नेपालमा विषादीको आयात ४६.३ प्रतिशतले बढेको छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ११ लाख ३५ हजार ५ सय ४ केजीको विषादी आयात भएकोमा १ अर्ब ६२ करोड ३८ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा ११ लाख ८३ हजार ७ सय ४१ केजी विषादी आयात गर्दा १ अर्ब ६९ करोड ६३ लाख ६१ हजार रुपैयाँ देशबाट बाहिरिएको छ । यी तथ्याङ्क हेर्दा हरेक वर्ष विषादीका लागि करोडौं रुपैयाँ बाहिरिएको देखिन्छ ।