प्रधानमन्त्री ओलीका काव्यिक भावना, चन्द्रागिरिमा फेरि पोखिए

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १६,

मुलुकमा तिहार बिदाको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्यान्ह परिवारसहित चन्द्रागिरि डाँडोमा पुग्दा वातावरण थोरै घमाइलो थियो। वरिपरीका जङ्गललाई हुस्सुुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन। स्वदेशी र विदेशी यात्रीहरु आफ्नै लयमा चन्द्रागिरि पहाड, चन्द्रागिरि रिसोर्ट र भालेश्वर महादेवको परिसरमा घुमिरहेका थिए।

यही बीचमा त्यहाँ पुग्नुेका प्रधानमन्त्री ओलीले भालेश्वर महादेवको दर्शन र केही यात्रुुको आग्रहमा तस्बिर खिचाएपछि काठमाडौँ उपत्यका देखिने छेउतिर राखिएको कुर्सी र टेबलमा बसेर डायरी र कलम समाए। नजिकै रहेका सुरक्षाकर्मी र सहभागीले आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्न लागेको भन्ने ठाने पनि प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्के। राजनीतिका साथै कला, साहित्य र सङ्गीतलाई सक्दो समय दिने र अध्ययनमा त्यत्तिकै रुचि राख्ने नेताका रुपमा परिचित प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले धेरै पटक सार्वजनिकरुपमा भन्ने गरेका छन्, “म कवि÷साहित्यकार होइन।” तर उनलाई गहिराइका साथ बुझ्नेहरु भन्छन्– “उहाँमा सृजनात्मक चेत उच्च छ। समय मिल्ने हो भने उहाँको लेखनी जम्न सक्छ। उहाँका अभिव्यक्तिमा दार्शनिकता, साहित्यिक भाव र असिमित हास्यरस पाइन्छ।” साथमै रहेकी प्रथम महिला राधिका शाक्य र सचिवालयको टोलीलाई प्रधानमन्त्री ओलीले यही रचनालाई वाचन गरेर सुनाइन्। चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले तत्कालै प्रतिक्रिया दिए, “सम्माननीयज्यू प्रायः चन्द्रागिरि आउँदा केही न केही लेख्नुहुन्छ। हामी धन्य छौँ।” सायद त्यही भएर होला, समय मिल्ने बित्तिकै प्रधानमन्त्री ओलीलाई रचना गर्भको हुटहुटीले तानिहाल्छ। यसअघि तत्कालीन समयमा पनि प्रधानमन्त्री रहेका ओलीले २०७५ असार ३० गते चन्द्रागिरिमा मदन भण्डारी फाउण्डेसनअन्तर्गतको कला साहित्य प्रतिष्ठानले आयोजना गरेको तीनदिने हिमवतखण्ड कला साहित्य सम्मेलनको समापनका अवसरमा सोही स्थलमा बसेर बिना शीषर्कको कविता लेखेका थिए।
“परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र ? बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ । मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली , हाम्रा लह–लह खेत बारी, झपक्क कान्ला र आली, सपनामा भए पनि देख्न पाउँ, चन्द्रागिरिको डाँडामा आएर सपनामा, भावी सन्तती मुस्कुराएको देख्न पाउँ, तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ, मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ ।”
त्यतिमात्र होइन त्यसपछि २०७८ भदौ ४ गते ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सवमा चन्द्रागिरि पुगेर एमाले अध्यक्ष ओलीले लेखेका अर्को कविताका अंशहरु यस्ता थिए–
“कतै इतिहास, कतै परम्परा, गौरव कतै, कतै पौरख, यहीँ चन्द्रागिरिका डाँडाहरूतिर, सतिदेवी बोकेर काँधमा शोकमग्न शिवजी, यहीँ बाटो भौँतारिएका थिए, जहाँ सतिदेवीको बाल अर्थात् निधार खस्यो, यहीँ चन्द्रागिरि हुँदै ३२ सय वर्ष अगाडि, चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए, त्यहाँ आवाद गर्न, थानकोट मातातीर्थ, यहीँ पृथ्वीनारायणले जुँगामा ताउ लगाएका थिए, लोभिँदै नजर फ्याँकेर उपत्यकातिर, नजिकै फाखेलको गाउँमा देवकोटाले मानवताको बिगुल फुकेका थिए…”
प्रधानमन्त्री ओलीले फर्कने समयमा चन्द्रागिरि हिल्स रिसोर्टको आगन्तुक पुस्तकमा पनि आफ्ना भावनाहरु अभिव्यक्त गरेका थिए। उनले लेखेका छन्, “काम गर्नेलाई नेपालमा अवसर छ। काम नगरेर कुरा मात्र गर्नेहरुलाई झन् अवसरै अवसर छ। गर्नेलाई अवसर छ भन्ने कुराको दृष्टान्तमध्ये एउटा गतिलो उदाहरण चन्द्रागिरि हिल्स र चन्द्रप्रसाद ढकाल। चन्द्रागिरि हिल्स आइयो। हेर्नसम्म हेरियो। फूर्सदले मनोरञ्जन लिइयो ।”

Like